शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: १७:२६ | Washington DC: 07:41

चितवनमै कम उमेरमा बच्चा जन्माउने क्रम बढ्दो

चितवन, ६ असार । देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र बच्चाले कम उमेरमा बच्चा पाउने सामान्य जस्तो देखिन्छ ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा जिल्लाका पहाडी क्षेत्रका चेपाङ समुदायमा कम उमेरमा बच्चा जन्माउने क्रममा कमी नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो–“२० वर्षको उमेरमा त आमा दुई/तीनवटा बच्चा बोकेर परिवार नियोजनको स्थायी साधन भ्याक्सेटोमी र मिनील्याब गर्न आउँछन् ।” उहाँका अनुसार १२ वर्षदेखि विवाह गर्न थाल्ने र १३/१४ वर्षमा पहिलो बच्चा जन्माउने प्रशस्त हुने उहाँले बताउनुभयो ।

बहुसंख्यक चेपाङ समुदायको बस्ती रहेको कोराक हेल्थपोष्टका प्रमुख कुमार सापकोटाले प्रायः सबै किशोरीहरूले १५ वर्ष हुँदा विवाह गरिसक्ने बताउनुभयो । १६/१७ वर्ष उमेरका किशोरी परिवार नियोजनको अस्थायी साधन पाखुरामा राख्ने नरप्लान्ट र तीन महिने सुई डिपोप्रोभेरा लगाउन आउने उहाँले बताउनुभयो । ४/५ कक्षा पढ्दैमा विवाह गर्ने र बच्चा जन्माउने गरेको उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र पराजुली केही दिनअघि पहाडी गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा परिवार नियोजन गर्न आउनेमध्ये ठूलै संख्यामा २० वर्षमुनिका किशोरी रहेको जानकारी दिनुभयो । सो क्षेत्रमा कम उमेरमा विवाह नगर्न जनचेतना जगाउने काम भइरहेको भए पनि सार्थकता पाउन नसकेको संयोजक पराजुलीले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पहाडी क्षेत्रमा चेपाङसँगै अन्य जातिका किशोरीले पनि सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने गरेको बताउनुहुन्छ । उहाँले कम उमेरमा विवाह नगर्न र बच्चा नजन्माउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । वडा तहबाट यस्ता कार्यक्रम शुरु गरिए पनि रोकिन समय लाग्ने उहाँको भनाइ छ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ पहाडी क्षेत्रमा कम उमेरमा बच्चा पाउने गरेको स्वीकार्दै यसको न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम शुरु गरिएको बताउनुहुन्छ । बीस वर्ष उमेर नपुगी विवाह गर्न नपाइने कानूनी प्रावधान रहेपनि गाउँघरमा कम उमेरमै विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माएमा आमा र बच्चाको ज्यान जोखिममा पर्ने विज्ञ बताउँछन् ।

भरतपुर अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा हेम सुवेदी कम उमेरमा बच्चा जन्मिदा आमा र बच्चाको मृत्यु दर बढ्ने, आमाको पाठेघरको मुखको क्यान्सर हुनसक्ने, उच्च रक्तचाप हुनसक्ने, कम उमेरमा बुढो देखिने, हड्डी खिइने, आमाको पाठेघरमा अंगुरको झुत्तो जस्तो मासु देखिने र पछि त्यसबाट क्यान्सर हुनसक्ने, बच्चा जन्माउन गाह्रो हुने, दूध नपुगेर बच्चालाई कुपोषण हुने, सानै उमेरमा बच्चा हुँदा आमालाई मानसिक दबाब बढ्नेजस्ता समस्या आउने बताउनुहुन्छ ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख झा सदरमुकाम भरतपुरमा सरकारी ठूलो अस्पताल, दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, २४ भन्दा बढी निजी अस्पताल र १४५ भन्दा बढी डाइगनोस्टिक सेन्टर रहेपनि तिनले ती किशोरीलाई कम उमेरमा विवाह गर्न नहुनेतर्फ चेतना अभिवृद्धि गर्न सकेका छैनन् । यसका लागि सरकारी संयन्त्र मात्रै होइन, निजी क्षेत्रको पनि ध्यान जानुपर्ने झाको भनाइ छ ।

२०७५ असार ६ गते ११:०५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी