चितवनको कालिकामा ४९ करोडको बजेट प्रस्तुत, कृषि, पर्यटन र पूर्वाधार मुख्य प्राथमिकतामा

इनेप्लिज २०७५ असार १० गते १५:४२ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १० असार ।

चितवनको कालिका नगरपालिकाको दोस्रो नगर सभा आज भएको छ । “कालिका नगरपालिकाको चाहना, कृषि पर्यटन र पूर्वाधार विकासको सम्भावना” भन्ने नाराका साथ भएको सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि ४९ करोड १८ लाख ६२ हजार रुपैयाको आय व्यय अनुमान प्रस्तुत गरिएको थियो ।

सो बजेटको आम्दानीतर्फ आन्तरीक राजश्व २ करोड, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १४ करोड २६ लाख, समानीकरण अनुदान १३ करोड ५७ लाख, प्रदेश सभाबाट प्राप्त हुने सशर्त अनुदान ८२ लाख ३१ हजार, समानीकरण अनुदान २ करोड ५५ लाख ९३ हजार रहेको छ । यसैगरी नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ८ करोड ६७ लाख ३८ हजार, शान्ति सुरक्षा भत्ता अनुदान ७ करोड, सडक बोर्डबाट प्राप्त हुने अनुदान ३० लाख रहेको छ । त्यस्तै नगर सभामा व्ययतर्फ चालु खर्च २३ करोड ४७ लाख ९७ हजार, पूँजीगत खर्च १८ करोड ७० लाख ६५ हजार, सामाजिक सुरक्षा भत्ता ७ करोड रहेको छ । त्यसैगरी सडक बोर्ड कार्यक्रमको ३० लाख गरी कुल ४९ करोड १८ लाख ६२ हजारको आयव्यय विवरण प्रस्तुत भएको हो ।
नगर सभाका सभा अध्यक्ष एवम् नगर प्रमुख खुमनारायण श्रेष्ठले आर्थिक वर्ष २०७५÷७६ को नीति वक्तव्य प्रस्तुत गर्दै कृषि, पर्यटन र पूर्वाधारलाई नगरको मुख्य प्राथमिकतामा राखिएको बताए । नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कमला भट्टराईले आ.व. २०७५÷७६ को आयव्यय अनुमान प्रस्तुत गरेका थिए । साथै सो सभामा विभिन्न ५ वटा विधेयकहरु प्रस्तुत भएका छन् । सो विधेयक तथा वार्षिक बजेटको यही जेठ १४ गतेबाट दफावार छलफल गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया