शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: १८:०९ | Washington DC: 08:24

कथाकार बेहोसीको “सेतो स्कार्फ” लोकार्पण

काठमाण्डौ, असार १४ गते । कथाकार सविता श्रेष्ठ “बेहोसी”को नवीनतम कृति “सेतो स्कार्फ”(कथासङ्ग्रह) आज लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि÷संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गर्नुभएको हो । कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर कृति लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दिवसले नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथाहरुका त्यो कुरा रहेको बताउनुभयोे ।
सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले आख्यानमा सविताले चालेका पाइलाहरुले साहित्य आकाशको उचाई मापन गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

लोकार्पण कार्यक्रमका अध्यक्ष नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उहाँका कृतिहरुलाई पाठकमाझ ल्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि वरिष्ठ कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तृति रहेको बताउनुभयो ।

वरिष्ठ स्रष्टा मोमिला जोशीले कृतिको समीक्षा गर्नुभएको थियो । कृतिमाथि समीक्षा गर्दै उहाँले भन्नुभयो ः कृतिले आम मानिसहरुको जीवन बोलेको छ र कृतिकारको पनि जीवनलाई धेरथोर समेटेको छ । यस्ता सिर्जनाले मानिसहरुको मनलाइ छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ ।

सर्जक सविता श्रेष्ठ “बेहोसी”ले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगतलाई समेट्ने प्रयास गरेको बताउनुभयो ।

सर्जकका जीवनसाथी सुमन श्रेष्ठले कृतिको लोकार्पणमा उपस्थित अतिथि र व्यक्तित्वहरुमा कृतज्ञता ज्ञापन गर्दै घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताउनुभयो ।

नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल हरितले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल स्रष्टा समाजका कोषाध्यक्ष पुष्पा खनालले गर्नुभएको हो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ उन्नति बोहोरा शिला, प्राध्यापक माधवप्रसाद पोखरेल, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरु मोहन मायस्थ, गोविन्द गिरी प्रेरणा, मोहन दुवाल, गोपाल पराजुली, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, भागीरथी श्रेष्ठ, इल्या भट्टराई, हिरण्यकुमारी पाठक, किशोर पहाडी, सुशीला देउजा, प्रद्युम्न जोशी, लक्ष्मी उप्रेतीलगायतको उपस्थिति रहेको थियो । नेपाल स्रष्टा समाजले लोकार्पण कार्यक्रमको आयोजना गरेको हो ।
कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग(कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् । यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेख्दै यसभित्र नेपाल र नेपालीको यथार्थ चित्रण रहेको उल्लेख गर्नुभएको छ । विमल भौकाजीले कृति सम्पादन गर्नुभएको हो । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

२०७५ असार १४ गते २३:५४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी