शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: १०:३२ | Washington DC: 00:47

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार छौँ : योगेश भट्टराई

काठमाडौं, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे ।

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । ‘तपाई काठमाण्डौ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनसन बसिरहनु पर्दैन’, उनले भने ।

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाण्डौ र कहिले जुम्ला पुगेर अनसन बस्न नपर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समूहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

माथेमा प्रतिवेदनले दिएका सुझाबका आधारमा ल्याईएको अध्यादेशको साटो प्रतिवेदनको भावनाविपरित सरकारले प्रतिस्थापन विधेयक ल्याएकाले अहिलेको समस्या निम्तिएको पाण्डेले बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १५ औँ पटक अनसनमा बसेका गोविन्द केसीको माग जायज भएकाले कांग्रेसले समर्थन गरेका बताउँदै पाण्डेले केसीको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए ।

पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि श्वेत पत्र जारी गर्न सरकारलाई सुझाब दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य एवम् प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्य डा. रामकुमार अधिकारीले पत्रकाहरुले डा. गोविन्द केसीलाई देवत्वकरण गरेको आरोप लगाए ।

उनले भने, ‘नेपाल विश्वमै एउटा यस्तो देश हो जहाँ बिधिको कुनै मूूल्य छैन्, कानूनको पालना गरिँदैन, एकजना सरकारी कर्मचारी अनसनमा बसेर सरकारलाई दलाल भन्दै यसो गर, उसो गरे भनेर निर्देशन दिन्छ, अनि पत्रकारहरुले उसैको बारेमा समाचार लेख्न मरिमेट्छन्, गोविन्द केसीको बिरुद्धमा बोल्नेहरु माफिया हुन, यस आरोपका बारेमा कुनै आधार चाहिँदैन, यस्तो मुलुक हो हाम्रो देश ।’

उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको गुनासो पोखे ।
उनले भने, ‘माथेमा आयोग र डा.केसी हत्यारा हुन, बंगलादेशमा डा. पढेर आएका नेपाली विद्यार्थीहरु गत वर्ष फागुनमा विमान दुर्घटनामा परेर मरे, यसको दोषी उहाँहरु नै हो, नेपालमा डाक्टरी पढ्न पाउने वातावरण भएको भए उनीहरु मर्ने थिएनन् ।’

२०७५ असार २७ गते ११:०५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी