खोलामा बाढी, धान रोप्ने खेत सुख्खा

इनेप्लिज २०७५ असार २७ गते ११:५७ मा प्रकाशित

इनरुवा, २७ असार । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ ।

जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उनलाई धान रोपाइँ गर्ने समस्याले सताएको हो । जसलाल यादव सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । उनी जस्तै जिल्लाको दर्जनौँ किसानको समस्या एउटै छ ।

असार बित्न लागेको भए पनि जिल्लाका विभिन्न ठाउँमा रहेका नहरमा पानी नदिएको कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकको भनाइ छ । जिल्लाको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी, देवानगञ्ज गाउ, हरिनगरसहितका आधा दर्जन गाउँपालिकामा धान रोपाइँ गर्न समस्या भएको स्थानीय सीताराम यादवले बताए ।

जिल्लाका नदीखोलामा केही दिनयता बाढी आएको भए पनि धेरै किसानलाई धान रोपाइँ गर्न समस्या भएको गुनासो कृषकको छ । जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको दाबी गरे पनि नहर मर्मत नभएको, मर्मत भए पनि पानी नपुगेको र केही ठाउँमा नहर नै बगेकाले धान रोपाइँ गर्न समस्या भएको स्थानीय किसान वीरेन्द्र मेहताले बताए । जिल्लामा ५३ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

समयमा धान रोपाइँ गर्ने खेतमा पानी नभएका कारण अब विकल्पका रुपमा भूमिगत पम्पसेट (बोरिङ) लगाएर भए पनि धान रोपाइँ गर्ने सोचमा कृषक रहेका छन् । एकातर्फ जन मजदूरको अभाव, अर्कोतर्फ मलको अभावको सामना गर्दै आएका कृषकले रोपाइँको समयमा धान रोप्ने खेतमा पानी नहुँदा झन तनाव बढेको बताएका छन् ।

धान रोपाइँ गर्ने बेलामा नहर भएको ठाउँमा समयमै पानी छोड्नका लागि कृषकले माग गरेका छन् ।

प्रतिक्रिया