पूर्वमन्त्री एवं साँसद प्रभु साहले गरे सात महिनाको कार्यप्रगति सार्वजनिक सञ्जय मित्र÷रौतहट

इनेप्लिज २०७५ साउन २ गते २३:४१ मा प्रकाशित

रौतहटमा लगातार चौथोपटक साँसदको शपथ लिने एकमात्र साँसद प्रभु साह हुन् । माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरण भएपछि तत्कालीन अन्तरिम संसदमा माओवादीतर्फबाट मनोनीत भएका भएका प्रभु साहले पहिलोचोटि साँसद पदको शपथ लिएका थिए । त्यसपछि २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएपछि साँसद साहले संविधानसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

बारम्बार मन्त्रीसमेत बनेका चर्चित विकासवादी नेता साहले दोस्रो संविधानसभाको निर्वाचनमा पनि क्षेत्र नम्बर ३ बाटै निर्वाचित भए । कहिले मन्त्री त कहिले संसदीय समितिको सभापति रहेर आफ्नो क्षेत्रबाट देशमै परिवर्तन गराउने साह गत मंसिरमा सम्पन्न निर्वाचनमा पनि आफ्नो घर रहेको क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएर साँसद पदको शपथ लिएका छन् । सर्वसाधारण जनतासित विकासको मामिलामा बोलेको कुरो पूरा गरेरै छाड्ने नेताको पहिचान बनाएका साहलाई पनि उनको निर्वाचन क्षेत्रका मतदाताले निकै पत्याएका छन् । जनताकै भरमा नेता साहले लगातार चारपटक संसदमा पुग्ने मौका पाइसकेका छन् । नियमित योजना र कार्यक्रम बनाएर सधैँ व्यस्त तालिकामा रहने साँसद साहले आफू निर्वाचित भएपछिको सात महिनामा आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गरेर आफ्नो कामको बारेमा सर्वसाधारणलाई जानकारी गराएका छन् ।

निर्वाचित भएपछि साँसद साहले आफ्नो निर्वाचत क्षेत्रको प्रत्येक टोल र सकेसम्म प्रत्येक घरमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् र यसबीचमा आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक व्यक्तिको विवरणसमेत संकलन गरेका छन् । माघी महोत्सव, होली, ईदजस्ता पर्व एवं सार्वजनिक समारोहमा सहयोग गर्दै निर्वाचन क्षेत्रको प्रत्येक घरमा नयाँ वर्षको क्यालेन्डर उपलब्ध गराएका छन् । साँसद साहको क्षेत्रमा ३१ हजार घरपरिवार रहेका छन् ।

निर्वाचित भएपछि साँसद साहले वैदेशिक रोजगारीमा ठगिएकाहरुलाई सहयोग गर्न तथा अस्पतालका विरामीलाई मद तगर्न काठमान्डौमा एउटा सहयोग समिति गठन गरेका छन् । समिति काठमान्डौमा निरन्तर सक्रिय रहेको छ । यसैगरी सरकारी कामकाजमा सहयोग गर्न जिल्ला सदरमुकाम गौरमा सम्पर्क कार्यालयको स्थापना र कटहरियामा सम्पर्क कार्यालयको लागि नयाँ भवन निर्माणको थालनी गरेका छन् । चुनाव सम्पन्न भएपछि आफ्नो निर्वाचन क्षेत्रका सबै मेयर, उपमेयरसित पटकपटक छलफल गरेर साहले विकासको मामिलामा सबैलाई एक ठाउँमा उभ्याउने प्रयास गरेर उदाहरणीय कार्य गरेका छन् ।

साँसदमा निर्वाचित भएपछि कुनै बजेट नपाएका साँसद साहले बिनाबजेट २७ किलोमिटर सडक निर्माण गरेका छन् । मध्य तराई रोड नेटवर्क निर्माणको सोचका साथ बरहथवा–समनपुर–गरुडा–कटहरिया–कलैया–वीरगंज सुचारु गर्ने लक्ष्यसहित बाराको मलाहीदेखि रौतहटको रौतहटको सन्तपुरसम्म पाँच किमी नयाँ ट्रयाक निर्माण, बकैया पुलदेखि कटहरिया पुलसम्म सीधा ट्रयाक खोल्दै साँसद साहले आफ्नै पहलमा गरुडाबाट कटहरियालाई जोड्ने नयाँ ट्रयाकको निर्माण गरेका छन् । यसै गरी कटहरिया बजारलाई महेन्द्र राजमार्गसित सीधा जोड्न जंगलसैयादेखि धनसरसम्म जंगल कटानसहित सडक निर्माण तथा ग्रावेल गर्ने काम पनि सम्पन्न भएको छ । यस सडकको उदघाटन तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले गरेका थिए । बाराको तामागढी फास्ट ङयाकलाई रौतहटको बंकुल भन्सार एवं हुलाकी सडक जोड्ने उदेश्यका साथ हिमालीबासदेखि हनुमानगन्जसम्म नयाँ ट्रयाक निर्माण गराएका साँसद साहले आफ्नो क्षेत्रका विभिन्न गाउँलाई हाइवेसित जोडन मेवा, मर्यादपुर, चिरचिरिया, शीतलपुर र घुसुकपुर लगायतको गाउँमा पनि सडकको निर्माण गरिएको छ । यसै गरी रौतहटको बालचनपुरलाई कोल्वी हुँदै कलैया र सिमरा जोड्ने लक्ष्य लिएर जंगलसैया–दुधियवासम्म नयाँ सडकको ट्रयाक निर्माण पनि साँसद साहको पहलमा भएको छ ।
साँसद साहले अहिलेसम्म अन्धकारमा रहेका बस्तीहरु सिम्रटोल, अकनवा, गर्जा, भटीरागी, भैसही लगायतका गाउँमा बत्ती बाल्ने गरी बिजुली जडान गराउन सफल भएका छन् । अन्य गाउँमा पनि थप बिजुलीको सुविधाको विस्तार गरिएको छ । दलयपुर, पिपरिया, भीमडाबर, महम्मदपुर, पतौरा, टेंग्राहा लगायतको गाउँमा करिब दुई सय खानेपानीको हैन्पपाइप वितरण गराउँदै साँसद साहले निर्माणाधीन पानी ट्यांकीहरुमा थप रकमको व्यवस्था गराएका छन् ।

बकैया नदीको किनारका गाउँहरु भसेढवा, झौवा, हर्षाहा, कटहरिया तथा कर्कच भत्केको तटबन्धको मरम्मत गराएका साँसद साहले विभिन्न ठाउँमा भत्केको बाँधको पुनर्निर्माण पनि गरेका छन् । साथै गुजरा नगरपालिकामा बाढीबाट क्षतिग्रस्त सडकहरुको मरम्मत गराएका छन् । यसै गरी गुजरामा खानेपानीको पहुँच पु¥यान ह्युमपाइपको जडान पनि गराएका छन् । दर्जनौँ ठाउँमा कल्भर्ट निर्माण, नहर सफाइ, अरुवा नदी सफाइ तथा नियन्त्रणजस्ता निकै महत्वपूर्ण कामहरु साँसद साहले सम्पन्न गराएका छन् ।
आफ्नो क्षेत्रको भान्छालाई धुवाँमुक्त बनाउने अभियानको क्रममा साँसद साहले चुनावी प्रतिबद्धताअनुरुप गुजरा नपाको कटानी टोलमा ८५०, कटहरिया नपाको बगही टोलमा ४००, देवाही गोनाही नपाको धरहरी, टिकुलिया र गोनाहीमा गरी ८५०, गरुडा नपाको पोठियाहीमा ५५०, फतुवा विजयपुर नपाको दुधियवा र मेवामा गरी ७५० ता मौलापुर नगरपालिकामा समेत गरी करिब पाँच हजार परिवारलाई निःशुल्क ग्याँस सिलिन्डर, ग्याँस चुल्हो, रेगुलेटर र पाइप उपलब्ध गराएका छन् ।
निर्वाचित भएपछि साँसद साहले आफ्नो क्षेत्रका माध्यमिक तहका करिब दश हजार बालबालिकालाई विद्यालय डायरी तथा बीस हजार कापी वितरण गरेका छन् । गरुडा, महम्मदपुर, कटानी, भवानीपुर, मैढा लगायतका माध्यमिक विद्यालयमा अध्ययनरत करिब एक हजार छात्राहरुलाई साइकल उपलब्ध गराएका छन् ।

सात महिनाको छोटो अवधिमा साँसद साहले बिना कुनै बजेट विभिन्न निकायलाई गुहारेर तथा आफ्नो क्षेत्रमा पूर्व घोषित योजनाहरुलाई कार्यान्वयन गराएर आफूलाई विकासवादी नेतामात्र होइन शिक्षाप्रेमी तथा विपन्नका सहयोगीको रुपमा समेत प्रमाणित गरेका छन् । हजारौँ घरपरिवारलाई सात महिनामै बिजुली पु¥याउन सक्नु कुनै चानचुने उपलब्धि होइन । उनी भन्छन् – आफू निर्वाचित रौतहट क्षेत्र नम्बर ३ को कुनै पनि टोलमा बिजुली पुग्न अब बाँकी छैन ।

सर्वसाधारण नागरिकलाई विकास चाहिएको हुन्छ । जनताको दुख र सुखमा साथ दिनेलाई जनताले पनि साथ दिएको इतिहास छँदैछ । प्रभ साहले जनताको दुख र सुखमा साथ दिँदा सर्वसाधारण मतदाताले पनि राम्रै पत्याएको पाइएको छ ।
पहिलोचोटि मनोनीत साँसद बनेका साहले संविधानसभाको पहिलो निर्वाचनमा आफ्नो क्षेत्रका कूल मतदातामध्ये ३२ प्रतिशतको मत प्राप्त गरी विजयी बनेका थिए । साँसद साहले दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो निर्वाचनभन्दा बढी प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा साहले करिब ३६ प्रतिशत मत प्राप्त गरेका थिए । नयाँ संविधान जारी भएपछि देशमा प्रतिनिधिसभाको सिटमा केही कमी आयो । पहिले रौतहटमा रहेको ६ वटा सिटलाई घटाएर ४ वटामा सीमित बनाइयो जसमा साहको पहिलेका अधिकांश गाउँ अर्कै क्षेत्रमा पर्न गयो तर पनि साहले पहिलेभन्दा अझ उत्साहजनक मत पाएको देखिन्छ । निरन्तर प्राप्त मत प्रतिशत बढाउँदै लगेका साँसद साहले पछिल्लो आम निर्वाचनमा झण्डै ४५ प्रतिशत मत पा्रप्त गरेका छन् ।
साँसद साह भन्छन् – जनताप्रति मेरो विश्वास छ । हरेक किसिमले मैले जनताको सम्मान गरेकोले मतदाताले जात, धर्म, समुदाय र समुदायभन्दा माथि उठेर मलाई पत्याएका छन् ।

प्रतिक्रिया