गलत छ गोविन्द के सी को आन्दोलन :बाबा राजेश्वरी थापा

इनेप्लिज २०७५ साउन ५ गते १०:५१ मा प्रकाशित

आजको समयमा डाक्टर के सी को विरुद्ध केही लेख्नु भनेको ठुलो अपराध हो। आज म यही अपराध गर्ने आट गर्दैछु। जबजब डाक्टर के सी ले अनसन शुरु गर्नुहुन्छ, मलाई मनमनै हासो लाग्छ। पर्दा अगाडी डा. के. सी एक्लै सत्यको पक्षमा लडिरहनु भएकोछ। तर वर्षेनी एमबिबिएस पास गरेर डाक्टरको प्रमाणपत्र बोक्ने ती युवाशक्ति रोजगारी नपाएर विदेशीएको बारेमा ध्यान दिनुभएकोछ उहाँले? वर्षेनी आमाबाबुको करकाप र सपना पुरा गर्न एमबिबीएस पढेर जबरजस्ती चिकित्सा पेशा अंगालेका डाक्टरको उपचारबाट ज्यान गुमाएका बिरामीहरुको बारेमा सोच्दा सोच्दा कहाली लाग्दैन उहाँलाई? चौध पटक सम्म धोका खाइसक्नुभएका डा. के सी पन्ध्रौपटक पनि उही पुरानै शैली अपनाउदै हुनुहुन्छ, के यो शिक्षित व्यक्तिकोलागी लज्जास्पद कुरा होइन र? अनि उहाका पक्षका राजनीतिज्ञहरु चाही सत्तामा नपुगुन्जेल उच्चालिन्छन, अनि सत्तामा पुगेपछि उही बिचरा भन्दै तमासा हेरेरै बस्छन।  काठमाण्डौ र काठमाण्डौ बाहिर दशहजारवटा मेडिकल विश्वविध्दालय र दस लाखवटा अस्पताल भवन बनेपनि चिकित्सापेशाप्रति समर्पित दक्ष जनशक्ति र उनीहरुको योग्यता अनुरुप आम्दानी र अवसर नभएसम्म नेपाली जनता उपचार नपाएर र गलत उपचार पाएर मर्नु पर्छ।

डाक्टर के सी पक्षले सबभन्दा पहिला बुझ्नु पर्छ नेपालको शैक्षिक प्रणालीको शुरुवात कस्तो छ। चिकित्साशास्त्रको शुरु गर्ने बेलामा त विद्धार्थीको उमेर अठार बीस वर्ष पुगिसकेको हुन्छ, त्यो उमेरमा ग्रामिण भेगका बिद्धार्थीहरु त धेरै हदसम्म स्वाबलम्बी र परिपक्क भैसकेकाहुन्छन। काठमाण्डौ गएर कुन म्यानपावरमा जाने, कसले छिटो खाडी पुराउछ, बैदेसिक रोजगारीको लागी कुन देश राम्रो छ, क़तार, अरब, कोरिया, मलेसिया कहा जाने निधो गरिसकेका हुन्छन।

डाक्टर के सी र उहालाई समर्थन गर्ने जमातले साच्चिकै सुधार ल्याउन चाहेको हो भने शिक्षा क्षेत्रमा भइरहेको कालो बजारीलाइ पहिले खतम गर्नु पर्छ। सबैलाई समान प्राथमिक शिक्षा लागु गर्नुपर्छ। शिक्षा क्षेत्रमा भईरहेको निजीकरण र व्यापारीकरणको विरोध गर्नसक्नुपर्छ। शैक्षिक असमानतालाई पुर्ती गर्ने बाटो खोज्नुपर्छ। नेपाल अधिराज्यभरिका बालबालिकाले एउटै स्तरको शिक्षा पाउनुपर्छ। उपचार पाउने बिरामीले त धेरै हदसम्म समान उपचार र औषधी पाएका छन तर नेपालमा निजी क्षेत्रको प्रवेशपछि समान शिक्षा पाएकाछैनन्। प्रशासनलाई शिथिल बनाईएकोछ, नागरिक समाज आखामा पट्टी र कानमा तेल हालेर बसेकोछ।

आजभन्दा बाउन्न वर्ष पहिले निजी स्तरमा सन् १९६६ मा आदर्श विध्या मन्दिरलाई पहिलो निजी विद्धालयको रुपमा परिचय गराएर शिक्षामा निजी क्षेत्रको लगानी हुली यो गल्तीको शुरुवात गरियो, त्यो बेलाका शासक र विद्धानहरुले न त भविष्यको बारेमा सोचे न त त्यस कदमले भविष्यमा पर्न सक्ने असरहरुको विश्लेषण नै गरे। न त कुनै नियम बन्यो न त कुनै मापदण्ड नै तोकियो न कुनै अनुगमन नै भयो। शिर्फ निजी क्षेत्रको लगानी र आकर्षण बढ्दै गयो। निजी विध्दालयहरु बीच प्रतिस्पधा र संख्या बढ्न थाले। सरकारी विध्दालय प्रति अभिभावक र बिद्धार्थीहरुको मोह घट्नथाल्यो। तर कुनैपनि सत्ताधारी सरकारले शिक्षा क्षेत्रमा आएको यो विकृतीलाई सुधार्न खासै योगदान दिएको आभास हुदैन। आज पनि शैक्षिक विकृती हटाउन र सरकारी विद्धालयको स्तर उस्काने र निजी क्षेत्रलाइ निरुस्साहित पार्ने, शिक्षकशिक्षिकाहरुको शै़क्षिक योग्यता मापदण्ड तोक्ने, दक्ष शिक्षिकशिक्षिका उत्पादन गर्ने, अधिराज्य भरिका बालबालिकालाई समान शैक्षिक अधिकार दिलाउने काम कही कतैबाट भएको छैन। कुनै पनि काम नपाएपछि शिक्षण पेसा अंगाल्ने परिपाटीलाई हटाउन पहल कसैले गरेकोछैन।

डाक्टर के सी र उहाका समर्थकहरुको ध्यान किन ती बालबालिकाहरुमा आकर्शित छैन जो घण्टौ हिडेर वा तुइनमा झुण्डीएर पढ्न जान्छन। सत्य हो या अफवाह, सरकारी प्रवक्ताबाट पुष्टी भएकोछैन तर सामाजिक संजालमा चलेको हल्ला, आनी चोयिगं डोल्माले तुइन हटाउन एक करोड चन्दा दिइन रे। तुइन हटाउन एउटी भिक्षुणी चन्दा दिन तयार हुन्छिन तर करोडौको भ्रष्टाचार गरेका नेताहरु मुन्टो लर्काएर बस्नछन। परिवर्तनको नारा बोकेर नया शक्ति बन्ने युवा नेताज्युहरु व्यापारिक पृष्ठभुमिबाटै आएकाछन तर हिम्मत कसैमा छैन देश विकास गर्नेमा। सबको एउटै लक्ष्य छ सत्ता हत्याउने र सम्पत्ति थुपार्ने।

गगन थापाज्यु! संसद र सदनमा निकै ठुलो स्वरमा गर्जिनुहुन्छ।  उज्जवल थापाज्यु र रवीन्द्र मिश्रज्यु बिरामी उपचार र गरीबका छोराछोरीको चिकित्साशास्त्र अध्ययनको लागी लडीरहनुभएको छ एकपटक सोच्नुहोस त विध्दालय छोडेर ज्यानको बाजी लगाएर यार्सागुम्बा टिप्न जाने बालबालिका देख्दा तपाईहरुको देशभक्तिको रगत उम्लिदैन? तपाईहरुको आखामा आशु भरिदैन? एउटा पत्रिकाले लेखेको देखेको थिए,”राज्यसंग कहिले केही नमाग्ने कर्णालीका जनताहरुलाई ज्यादती भयो, आन्दोलनलाई कठोररुपमा दमन गरियो।” लाज लाग्दैन यसो भन्दा कर्णलीका जनताले सरकारबाट वा अरु कुनै राजनितीक दलबाट कुन सुविधा पाएकाछन र  उनीहरु तपाईहरुको कपटी राजनीतिमा चाख देखाउन? अनि अर्को कुरा तपाईहरुको यो आन्दोलनमा के कर्णालीका जनताको सहभागिता छ, माथेमा आयोगको प्रतिवेदन पढ्ने र बुझ्न सक्ने कतिजना छन, त्यो तपाईहरुलाई नै राम्रोसंग थाहा होला तैपनि यो कपटी राजनीतिमा किन मुछ्नुहुन्छ कर्णालीका निमुखा जनतालाई, नेताज्युहरू किन आफ्नो स्वार्थको लागी किन खेल्नुहु्न्छ उनीहरुको भावनासंग?

रातों बंगला, शुभतारा, चादबाग, पाठशाला किन तपाईहरु शहरका जनता मात्र आफ्नो ग्राहक बनाउनुहुन्छ। चुस्नुसन् जुम्लाहुम्ला कर्णालीका जनतालाई पनि। तपाईहरुको लगानी शहरमा मात्रै सिमीत छ। तपाईहरुको शैक्षिक व्यापारका कारण लाखौ युवा जीवनस्तर उकास्न आफ्नो श्रम बिदेशी मुलुकमा बेचिरहेकाछन। तपाईहरुले तयार गरेको युवाशक्तिलाइ बिदेशी मुलुकहरुले श्रमिककोरुपमा स्वीकारी रहेकोछ। तपाईले दिएको उच्चमाध्यमिक, स्नातक र स्नातकोत्तरको उपाधिलाई अन्न्तर्राष्ट्रय मान्यता नदिएर वैदेशिक अध्ययनमा गएका कयौ विद्यार्थीहरुले आफ्नो समय नष्ट गरिरहेकाछन, आत्महत्या गरिरहेकाछन र मानसिक रोगी भएकाछन। तैपनि  गर्व गर्नुहुन्छ तपाँईहरु आफुलाई शिक्षाविद भनेर। धन्य छन मेरो देशका संवेदनशील महिला तथा सज्जनवृन्दहरु!!

बाबा राजेश्वरी थापा अष्ट्रीया

प्रतिक्रिया