नवनियुक्त जापानी राजदूत साइगो सम्मानित

इनेप्लिज २०७५ साउन ५ गते १२:०३ मा प्रकाशित

काठमाडौँ, ५ साउन : नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगो तथा उहाँकी धर्मपत्नी एरिको साइगोको सम्मानमा जापान युनिभर्सिटी स्टुडेण्टस् एशोसियसन नेपाल (जुआन) ले आज यहाँ विशेष समारोह आयोजना ग-यो ।

जापानमा उच्च शिक्षा हासिल गरेर फर्केका नेपाली विद्यार्थीहरूले जुआनको स्थापना गरेका हुन् । कार्यक्रममा ‘जुआन’ का अध्यक्ष मनोज गिरीले राजदूत दम्पत्तिलाई स्वागत एवं सम्मान गर्दै जुआन नेपालको लागि जापानी राजदूतावासको सहयोगी शैक्षिक संस्था भएको बताउनुभयो ।

नवनियुक्त जापानी राजदूत साइगोले नेपाल र जापानबीचको घनिष्ट सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत साइगोले जुआनले आयोजना गरेको ‘इमानिशी खुल्ला निबन्ध प्रतियोगिता’ का विजयीलाई नगद, प्रशंसापत्र र उपहार वितरण गर्नुभएको थियो ।

सो निबन्ध प्रतियोगितामा सिनियरतर्फ प्रभा बराल तिवारी दोस्रो र डा.डमरुवल्लभ पौडेल तेस्रो भई क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । यसैगरी जुनियरतर्फ रिदम भेटवाल र अञ्जना ठाकुरले सान्त्वना पुकारस्वरुप रु १०÷१० हजार नगद प्राप्त गर्नुभएको थियो ।

सिनियरतर्फ १७ र जुनियरतर्फ १२ गरी २९ जनाले भाग लिएको सो प्रतियोगितामा कसैले पनि प्रथम स्थान प्राप्त गर्न नसकेको आयोजकले जनाएको छ ।

जापानको साकाई लायन्स क्लब तथा इमानिशी ट्रष्टको रु ४७ लाख तथा जुआनको तीन लाख गरी रु ५१ लाखको अक्षयकोषमा जुआनले २० वर्षअघि इमानिशी फेलोसिपका ट्रस्ट स्थापना गरेको थियो ।

अक्षय कोषबाट प्राप्त हुने वार्षिक रकमबाट हरेक वर्ष ‘इमानिशी फेलोसिप पुरस्कार’ प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा जापानी राजदूतावासकी प्रथम सचिव चिसाको निशितानी तथा जुआनका उपाध्यक्ष डा.प्रविण श्रेष्ठ तथा महासचिव डा पवन भट्टराईले पनि नेपाल जापानबीचको सम्बन्धलाई सुमधुर बनाउन जुआनले पु¥याएको योगदानमाथि चर्चा गर्नुभएको थियो ।

सोही अवसरमा ‘हेरिटेज टुरिजम इन नेपाल एण्ड जापान’ विषयमा डा.हिमलाल घिमिरेले प्रस्तुत गरेको कार्यपत्रमाथि डा.प्रताप छत्कुलीले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया