वि.पि.विचारलाई कार्यान्वयन गर्न अभियान चल्ने

इनेप्लिज २०७५ साउन ६ गते २०:१७ मा प्रकाशित

साउन ६, काठमाडौं । देशका विभिन्न स्थानहरुमा वि.पि.स्मृति दिवस मनाइएको समाचार प्राप्त भएका छन् । यसै उपलक्ष्यमा नेशनल मुभ्मेण्ट नामक संस्थाले एक विशेष विचार गोष्ठी कार्यक्रमको आयोजना गर्यो । आइतवार काठमाडौंको महाराजगञ्ज शङ्खपार्कमा सम्पन्न सो विचार गोष्ठीमा नेपाली काँग्रेसका पूर्वमन्त्री, सांसद, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रकाश कोइराला, विपिन कोइराला, ओमकार श्रेष्ठ जस्ता पूर्वमन्त्रीहरुको गोष्ठीमा उपस्थिति थियो । यसै गरी होमनाथ दाहाल, चिनकाजी श्रेष्ठ, ऋषिकेश तिवारीलगायतका नेताहरुको पनि गोष्ठीमा उपस्थिति देखिन्थ्यो । गोष्ठीमा उपस्थित अधिकांश वक्ताहरुले नेपाली काँग्रेसले विपिको विचारलाई छाड्दै गएकोमा चिन्ता व्यक्त गरे । विपिको मार्गदर्शनलाई वेवास्ता गर्नथालेपछि काँग्रेस पनि क्रमशः जनताबाट टाढिएको अनुमान वक्ताहरुको रहेको थियो ।

गोष्ठीमा बोल्ने वक्ताहरुले नेपाली काँग्रेसको नेतृत्त्व पँक्तिमा सैद्धान्तिक विचलन आएको, वि.पि.को मार्गदर्शनलाई बिर्सदै गएको कारणले पार्टीको दुर्गति भएकोमा दुःख व्यक्त गरेका थिए । पार्टीको नेतृत्त्वतहमा आएको सैद्धान्तिक विचलनले राष्ट्रियतामा समेत खतरा परेको तर्फपनि वक्ताहरुले संकेत गरे । उनीहरुले अब नेपाली काँग्रेस सचिनु पर्ने, वि.पि.को मार्गदर्शनलाई आत्मसात गर्दै विगतमा पार्टीमा विभिन्न तरिकाबाट योगदान पुर्याएका तर पार्टीको नेतृत्त्वले वास्ता नगरेर बाहिर रहेका व्यक्तिहरुलाई समेत समेटेर निष्ठाको राजनीतिको संस्कार बसाल्दै अगाडि बढ्नपर्नेमा जोड दिए ।

कार्यक्रममा वि.पि. कोइरालाको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद नै देशको स्वतन्त्रता, स्वाभिमान र समृद्धिको आधार भएको कुरामा सबैको एकमत देखिन्थ्यो । देशको विकास र प्रजातन्त्रको स्थायित्त्वको लागि सबैभन्दा पूरानो र संस्थागत प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेसमा सैद्धान्तिक सुधारको खाँचो रहेको कुरा गोष्ठीले औंल्याएको थियो । साथै गोष्ठीले प्रजातान्त्रिक सेनानी महामानव विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको आवश्यकता वर्तमान समयमा पनि रहेको निस्कर्ष निकालेको छ ।

 

गोष्ठीमा सिने जगतकी अभिनेत्री मनिषा कोइरालाको पनि उपस्थिति थियो । आगामि दिनमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र एवं जनताको मौलिक अधिकारको संरक्षण गर्न नेशनल मुभ्मेण्टमार्फत प्रकाश कोइराला, विपिन कोइराला जस्ता नेताको नेतृत्त्वमा देशव्यापिरुपमा जागरण अभियान सञ्चालन गर्ने संकेत सो गोष्ठिबाट मिलेको छ ।

प्रतिक्रिया