बोस्टनमा विश्व-स्तरीय कविता प्रतियोगिता

इनेप्लिज २०७५ साउन ८ गते ०:५६ मा प्रकाशित


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको सन्दर्भ पारेर विश्वस्तरीय कविता ( छन्द कविता, गद्य कविता तथा गजल) प्रतियोगिताको आयोजना गर्यो ।वरिष्ठ कवि हरि अधिकारी, प्राध्यापक हरि पराजुली तथा प्राध्यापक हरिराज भट्टराईको निर्णायक मण्डलले निर्णय गरेअनुसार पद्य कवितामा हीरा भट्ट तथा वासुदेव पाण्डे क्रमश: प्रथम तथा द्वितीय भए भने सुवासचन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर सिंह र रश्मि भट्ट तृतीय भए ।गद्य कवितातर्फ सुदर्शन पौडेल र शिव भुसाल क्रमश: प्रथम तथा द्वितीय भए । दीपेश योगी , प्रज्ञा खड्का खत्री र नदिया लिवांग तृतीय घोषित भए । गजलतर्फ पुरु लंसाल,तथा बद्री पोख्रेल क्रमश: प्रथम र द्वितीय भए ।अविनाश सापकोटा, स्पन्दन विनोद र इन्दिरा चाम्लिंग तृतीय घोषित भए ।सुशील नेपाल तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कार,अलिमिया वांग्मय प्रतिष्ठान तथा व्यक्तिगत रूपमा अध्यक्ष लालगोपाल सुवेदीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन् । प्रथम हुनेलाई नगद दुई सय डलर ,प्रमाण-पत्र र पदक तथा द्वितीय एवम् तृतीय हुनेलाई पदक र सम्मान-पत्र प्रदान गरिने कुरा पहिले नै सूचनामा जनाइएको थियो । छन्द कविता , गद्य कविता तथा गजल सबै विधाको न्याय गर्नका लागि छुट्टाछुट्टै प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ ।

यसै अवसरमा बोस्टनमा वृहत् साहित्य सम्मेलनको आयोजना गरियो ।साहित्यकार तथा अमेरिकाका लागि वाणिज्यदूत कृसु क्षेत्रीले प्रमुख अतितीय मन्तव्यमा भानु सबैको सम्पर्क भाषा र साझा नेपाली से स्ंस्कृतिको नमेटिने प्रतीक बनिसकेकाले संसारमा नेपाली जाति रहुन्जेल बाँचिरहने विचार व्यक्त गरे ।अनेसासकी पूर्व अध्यक्ष एवम् विशेष अतिथि गीता खत्रीले नेपाली भाषा र साहित्यको साख वृद्धि गर्न पदमा वसेर वा लेखेर मात्र पर्याप्त नहुने हुँदा तन,मन, धन एवम् मन, वचन , कर्म सम्पूर्ण रूपमा लगाई शिशुका लागि आमाझैँ बेस्सरी खट्नुपर्ने बताइन् ।प्राध्यापक हरि पराजुली,नेपाल सरकारका पूर्व सचिव रामचन्द्र पौडेल रम्घाली, अनेसास महासचिव गोबर्धन पूजा,सल्लाहकार कमला प्रसाई ,पूर्व केन्द्रीय उपाध्यक्ष राम खत्री,साहित्यकार भोला शिवाकोटी पुरानाघरे, जिबिएनसी तथा पशुपति बुद्ध फ़ाउन्डेशनका अध्यक्ष विष्णुमणि आचार्य , कार्यक्रम संचालक हरिप्रसाद काफ्ले शैव , स्वागत मन्तव्यकार यम पौडेल लगायतका वक्ताले भानु व्यक्तित्व तथा कृतित्व र अनेसासको साहित्यिक क्रियाकलापका विविध पक्ष र पाटामाथि चर्चा गर्दै भानुलाई अझ राम्ररी बुझ्न रामायण कृतिको गहिराइमै पुग्नुपर्ने र प्रवासमा अनेसासको उचाइ वृद्धि हुने किसिमले काम गर्नुपर्ने कुराना जोड दिए । बाल कलाकार सिम्रन पौडेलले गाएको राष्टगान गायनमा सबै सहभागीहरूले साथ दिए ।साँढे ३ वर्षका बालक हार्दिक काफ्लेले गायत्री मन्त्र कण्ठस्त रूपमा सनाएर सबैलाई चकित पारे ।महेश्वर पन्तले हार्मोनियम बजाउँदै गजल गायनमा मिठास भरे । मनोज आचार्य, नदिया लिबांग,रश्मिभट्ट, बालकवि कविन प्रसाई,जनक नेपाल,कृसु क्षेत्री, गीता खत्री,गोबर्धन पूजा,दीपा राई , अनु शाह, यम पौडेल , अभि गजुरेल ,हरिप्रसाद काफ्ले ‘शैव’ लालगोपाल सुवेद लगायत दुई दर्जन कवि कवयित्रीहरूले तन्मयता र मन्मयतापूर्वक आफ्ना कविता ,गजल वाचन गरेर समारोहलाई मानसपटलको गम्भीरतातर्फ हिँडाए ।

अन्त्यमा त्यही कार्यक्रमको गतिमयताको तात्कालिक अवस्थितिलाई नै कवितामा डो र् याउँदै,अनेसासका गतिविधि गुणात्मक हुनुपर्ने विचार राख्दै,कार्यक्रम सफल बनाउने सम्पूर्ण जनलाई धन्यबादका पुष्पगुच्छ अर्पणसहित सहित सभापतिबाटसभा विसर्जन भयो ।न्युयोर्क, कनेटिकट,बोस्टन , न्युह्याम्सरका साहित्यकारहरूको सहभागिता हुनु, विश्वस्तरीय काव्य प्रतियोगिता हुनु भानुका कविता विशेषतामाथि गम्भीर बहस हुनु, बौद्धिक व्यक्तित्वको बाहुल्य हुनु, कार्यक्रमको पूर्वतयारीबमोजिम व्यवस्थापन हुनु आदि कारणले यो कार्यक्रम वोस्टनको साहित्यिक इतिहासमै सबैभन्दा उत्कृष्ट र अमेरिकाको सन्दर्भमा समेत महत्वपूण भएको टिप्पणी बोस्टनमा लामो समयदेखि बसोबास गर्दै आएका व्यक्तिहरूले गरे ।कविता वाचन गर्ने हरेक व्यक्तिले सम्मान पत्र पाएकाले सबै खुसी र आफू सम्मानित भएको पृथक् सुखद् मुद्रामा सबै आआफ्नो वासस्थानतर्फ लागे ।

प्रतिक्रिया