एउटै पार्टीबाट सभामुख–उपसभामुख बन्न पाउँदैन, छलफल गरेर टुङ्ग्याउनुपर्छ : भिम रावल

इनेप्लिज २०७५ साउन १४ गते १०:३३ मा प्रकाशित

भीम बहादुर रावल पूर्व गृहमन्त्री हुन । उनी तत्कालिन नेकपा एमालेका उपाध्यक्ष हुन् । तर एमाले र माओवादी एकता भएपछि रावलको भूमिका कमजोर देखिएको छ । खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल पछिल्लो समय के गर्दैछन् त ? उनीसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

-भिम रावल, नेता, नेकपा

‘राष्ट्रिय राजनीतिको महत्वपूर्ण विषयमा म संलग्न छैन’

केमा व्यस्त हुनुहुन्छ आजभोली ?
पार्टीको काम र अध्ययन अनुसन्धानमा व्यस्त छु ।

पार्टीको काम के भइरहेको छ ?
विधान र नियमावली आइसकेपछि प्रदेश नम्बर सातमा पार्टी एकीकरणको कामलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा छलफल गरिरहेको छु । अहिले प्रारम्भिक चरणमा छौँ । सबै कुरा मिलिसकेको छैन ।

एकीकरणका लागि के कस्ता समस्या देखिएका छन् ?
हामी प्रारम्भिक चरणमै भएकाले समस्या देखिएको छैन ।

साउन महिनाभरीमा सबै संगठनलाई एकता गराउने भनिएको छ । सम्भव छ ?
हेर्दै जाउँ । विधान र नियमावलीअनुसार काम गर्ने हो । कतिपय कुरा व्यवहारिक रुपमा कठिन छ । भर्खर पाइला चालेका छौँ । भोली काम गर्दै के कस्ता समस्या आउँछन्, त्यो हेर्न बाँकी नै छ । समस्या आयो भने समाधान गर्दै जानुपर्छ ।

विभिन्न संगठनको एकतालाई कसरी सफल बनाउनुहुन्छ ?
जनसंगठनको एकताको काम पनि प्रारम्भिक रुपमा अगाडि बढेको छ । केन्द्रमा नेता वा कोही मिलेर मात्रै पार्टी एकता हुने होइन । राष्ट्रिय हितलाई सर्वोपरी राखेर देशको भविष्यलाई राम्रो बाटोमा डोर्याएने उद्देश्यका साथ एकता गरिएको हुनाले यो उद्देश्य प्राप्तिका लागि सबै संगठनलाई एकतावद्ध बनाउनुपर्छ ।

नेपाली रजनीतिमा अहिले भिम रावलको भूमिका कहाँ छ ?
अहिले म पार्टीको सचिवालयमा छैन । स्थायी समितिमा छु । राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता, जनताको अधिकार, समृद्धि र विकासका बारेमा आफ्नो दृष्टीकोण स्थायी समितिमा राख्दै आएको छु । तर राष्ट्रिय राजनीतिको महत्वपूर्ण विषयमा भने म संलग्न छैन ।

फरक प्रसंग, सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भनेर प्रमुख प्रतिपक्षी कांग्रेसले आवाज उठाइरहेको छ । यस विषयमा तपाईको धारण के हो ?
यस विषयमा पार्टीका साथीहरुले कांग्रेससँग कुरा गर्नुभएको होला । तर कुन विन्दुमा छलफल भइरहेको छ भन्ने कुरा मलाई जानकारी छैन । कांग्रेसले कुन संवैधानिक वा कानुनी दृष्टीकोणबाट आफ्नो कुरा राखेको छ र हाम्रो तर्फबाट कुन दृष्टीकोणबाट कुरा राखिएको छ भन्ने कुरामा मलाई जानकारी छैन । पार्टीभित्र पनि छलफल भएको छैन ।

यस विषयमा तपाईको धारण के हो ?
सबैभन्दा पहिले त कांग्रेसले कुन संवैधानिक वा कानुनी दृष्टीकोणबाट आफ्नो कुरा राखेको छ, त्यसमा हाम्रो तर्कहरु के छन् भन्ने कुरा जानकारी हुनुपर्छ । तर संविधानमा चाँही एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न पाउँदैन भनेर प्रष्टसँग लेखेको छ । यसमा त विवाद नै छैन । तर सभामुख र उपसभामुखको निर्वाचनमा फरक फरक दलबाट उम्मेदवारी दिएको र पछि ति दल एक भएको अवस्थामा के हुने भन्ने कुरा त संविधानमा लेखेको छैन नि । त्यसकारण यो विषय राजनीतिक छलफल र व्याख्याका आधारमा टुङ्ग्याउनुपर्छ ।


प्रतिक्रिया