अमेरिका अध्ययन गर्न आउने छोराछोरीलाई पौडी खेल्न सिकेर मात्र खेल्न सुझाव दिनु पर्ने अपरिहार्यता

इनेप्लिज २०७५ साउन १६ गते १:५३ मा प्रकाशित

विजय थापा ,केहि महिना भित्र अमेरिकामा अध्ययन गर्न आएका बिद्यार्थीहरु एक पछि अर्को गर्दै पौडीको कारण ज्यान गुमाएको खबरले सबैलाई स्तब्ध बनाएको छ । साह्रै दुखद घटना घटी रहदा नेपाली समुदायको मन रुएको छ ।

यस्तो अपत्यारिलो घटना सुनाउदा पनि विश्वास नै लाग्दैन र आश्चर्य लाग्दछ । पौडी बाट मृत्यु भएको खबरले घर परिवारमा कस्तो मनोबैज्ञानिक असर पर्दछ भन्ने हामी सबैले अनुमान गर्न सक्दछौ । हामी मध्ये केहि परिवारहरु यसका शिकार पनि भएका छन ।

यस्तो हृदय छिया छिया हुने खबर कसैले सुन्नु नपरोस । र ,कुनै पनि नेपाली परिवारमा पौडीको कारण निधन भएको कहिले पनि समाचार नआईदियोस ।

र अमेरिकामा कसरी यस्तो हुन्छ भनि अमेरिका बाहिर रहनेले जिज्ञाशा राख्दछन । न राख्नु पनि कसरी ? अमेरिकामा केही महिना भित्र नै लगातार ३ जनाको पौडीको कारण ज्यान गुमाए । मैले सबैको नाम र ब्याख्या गर्न चाहिन । फेरी घाउ बल्झिने हुनाले यस कुरामा छुनै मन लागेन । सपनाको देश अमेरिका आई पुगेका बिद्यार्थीले अकालमा ज्यान पौडी बाट गुमाउदा त्यो भन्दा दुखद क्षण केही हुन् सक्दैन । यस्ता खबर झुटा भै दिए हुन्छ भन्ने पनि कल्पना गरिन्छ ।

सपरिवारले खुशी साथ अमेरिका बिदा गरेको छोरा पौडी बाट तपाईको छोरा ,तपाईको भाई ,तपाईको साला ,तपाईको दाई डुबेर मृत्यु भयो भनेर खबर पुर्याउनु नै अति गाह्रो अवस्था हुन्छ । बिगतमा थुप्रै अमेरिकाका नेपालीले यसरी दुखद घटना घटेको सुनाउदा पनि कहाली लाग्दछ । अमेरिका गएर सारा परिवारलाई सुख दिन्छ होला भनी कल्पनामा डुबुल्की मार्ने अभिभावकहरु केहि समय भित्र दुखद निधन को खबरले स्तब्ध हुन् बाध्य हुन्छन ।

पौडी बाट डुबेर मरे पछि सामाजिक संजालमा पौडी खेल्न नआउने ले किन खेलेको होला भनि सामाजिक संजालमा प्रतिक्रिया दिन्छन ।स्वाभाविक पनि हो ,पौडी सिकेर मात्र खेल्ने चिज हो । पानी संग कहिले पनि मजाक गर्नु हुदैन भनि हाम्रा अग्रज र पुर्खाहरुले भन्ने गर्थे ।

पौडी खेल्न आउदै नभने पौडी एकल आफै सिक्छु भन्ने कदापी हुदैन । हाल नेपालमा जहीतही पौडी पोखरी बनेका छन् । र सिकाउने समेत उपलब्ध हुने हुनाले सिकेर मात्र खेल्नु उत्तम हुन्छ ।

पौडी पोखरीमा रक्षाका लागि रक्षक पनि हुन्छ । बिद्यार्थीहरुले अध्ययन गर्न सर्वाधिक मन पराउने देश अमेरिका हो । यदि हामी हाम्रा सन्तानलाई अमेरिका पढ्न पठाउने तरखरमा छौ भने अनिवार्य रुपमा कि पौडी खेल्न सिकाएर पठाउनु पर्यो वा पौडी खेल्न नआउने हो भने पौड़ी को लागि सतर्कता अपनाउनु पर्यो ।

अमेरिकामा मात्र नभई बिश्व का अन्य देशमा पनि नेपालीहरु डुबेर मरेको समाचार सुनिन्छ । अभिभावकहरुले गम्भीर पूर्वक यस बिषयमा सोच्नु पर्ने अवस्था आएको छ । किनभने बिगतमा आफ्ना सन्तान यसरी डुबेर मर्छ भन्ने कल्पनामा पनि सोचेको हुदैन । यो पढे पछि समुदाय सबैले यसको जानकारी लिन सकुन भन्ने हेतुले यो लेखलाई सामाजिक संजाल मार्फत हिस्सा समेत गर्न यो पंक्तिकार आग्रह गर्दछ ।

यो कुरा बिशेष गरि अमेरिका पढ्न चाहने र प्रवेश आज्ञा पाई सकेका किशोर किशोरीहरुलाई अपरिहार्य रुपमा अवगत गराउन जरुरी हुन्छ । यस बिषयमा ज्ञान दिनु पर्ने भएको छ । यो उमेरमा अलिक चंचल स्वभाव पनि हुने हुनाले यस्ता उमेरका आफ्ना सन्तानलाई मस्तिष्कमा यो कुरा यसरी राख्नु पर्छ । अमेरिकामा झुक्किएर पनि पौडी खेल्न साथीभाई संग गएको अवस्थामा आफ्ना बुवाआमाले भनेको झल्झली याद आओस । र दुर्घटना बाट बच्न सकियोस ।

अमेरिकामा मात्र हैन बिश्व स्वास्थ्य संघले बार्षिक रुपमा यसरी डुबेर मर्नेको संख्या समेत तथाङ्क राख्दछ । बिश्वमा ३ लाख ७२ हजार डुबेर मर्ने संख्या हुन्छ भनि प्रतिबेदनमा उल्लख गरेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल को प्रतिबेदन अनुसार औसतमा ३ हजार ५ सय ३६ जना बार्षिक डुबेर मर्ने समेत प्रतिबेदन निकालेको छ ।

सन् २००५ देखि २०१४ को प्रतिबेदन अनुसार लगभग दैनिक १० जना डुबेर मृत्यु हुने देखाएको छ । सन् २०११ देखि सन् २०१३ मा अमेरिकामा मात्र युएस कन्जुमर प्रोडक्ट सेफ्टी कमिसनका अनुसार ४ हजार ९ सय ले मात्र आकस्मिक चोटपटक लागेको खबर प्राप्त गरेको जनाएको छ । यस्ता घटना पौडी पोखरी र खनिज जलीय स्थल (स्पा ) बाट आउने जनाएको छ ।

यसै गरि १ देखि ४ बर्षका बालबालिका ज्यादा डुबेर मर्ने जनाएको छ भने हरेक बर्ष ३ सय ९० जना को सरदारमा मृत्यु हुने जनाएको छ । यसको साथै अमेरिकामा ५ बर्ष भन्दा मुनिका बालबालिका ७६ प्रतिसत र ३ बर्ष मुनिका ६७ प्रतिसतले डुबेर मृत्यु हुने गरेको देखाएको छ ।

यसको साथै १५ बर्ष भन्दा मुनिकाहरु घरको पौडी पोखरी ,निजि आवासीय क्षेत्रको पौडी पोखरी वा छिमेकि को पौडी पोखरीमा डुबेर मृत्यु हुने जनाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल का अनुसार पौडी पोखरीमा ५ बालबालिकालाई चोट पटक भए पछि आकस्मिक कोठामा पुर्याई उपचार गर्नु पर्ने बताएको छ । यसै गरि प्रोडक्ट सेफ्टी कमिसनका अनुसार आवासीय पौडी पोखरीमा ४७ प्रतिसत बालबालिकाहरु चोट पटक बाट घाइते हुने तथा सार्बजनिक पौडी पोखरी या स्पामा २७ प्रतिसत घायल हुने जनाएको छ ।

५० प्रतिसत डुबेर घाइते भएकालाई आकस्मिक कक्ष या अस्पताल भर्ना तथा अन्य सुबिधा जन्य अस्पतालमा राख्नु पर्ने भनेको छ । गैर घातक(नन फ्याटल ) डुबेर घायल भएकाहरुका मष्तिस्क खराव हुनुको साथै स्मरण शक्ति समेत कम्जोर हुने प्रतिबेदनले जनाएको उल्लेख गरेको छ ।

१४ बर्ष तथा मुनिकाहरु डुबेर उपचार गराउदा चिकित्सा खर्च $ ८ हजार डलर लाग्ने र लामो समय सम्म अस्पताल बस्नु पर्ने भयो भने हरेक बर्ष $ २ लाख ५० हजार सम्म लाग्ने देखाएको छ ।

यदि डुबेर मष्तिस्कमा आघात भयो भने समग्रमा $ ५० लाख डलर सम्म खर्च हुने भनेको छ । हामीले आफ्ना सन्तानलाई पढ्न पठाएका हौ । यस्ता कुरामा हामीले बेलैमा सोच्नु पर्ने भएको छ । कहिँ कतै कसैको प्रभाव या लह लहैमा पौडीन न आउने भए पनि खेल्न खोज्ने तम्सिने खोज्ने लाई रोक्नु पर्ने हुन्छ ।

यस्ता घटना छिटपुट मात्र हुने गर्छन तर त्यहि छिटपुट मै हाम्रा सन्तान परे भने कसरी हामी सहने ? नजाने गाउँ को बाटो नै नसोध्नु भने झैँ कुनै पनि बिद्यार्थी ,किशोर किशोरीले माथि तथ्यांक सहित प्रस्तुत गरिएको आंकडा एक पटक हेर्ने पर्ने हुन्छ । पानी संग कहिले मजाक नगरौ । यस बाट टाडा बसौ । हाम्रा कानले कहिले पनि यस्ता नराम्रा समाचार नसुनोस ।

प्रतिक्रिया