प्रज्ञा प्रतिष्ठानमा लिभिङ टुगेदर

इनेप्लिज २०७५ साउन २१ गते १०:२९ मा प्रकाशित

२० साउन, काठमाडौं

नेपाली राजनीतिक क्षेत्रकी शान्ता चौधरी, नेपाली कला क्षेत्रकी दीपाश्री निरौला र नेपाली साहित्य क्षेत्रकी मोमिलाले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नेपाली साहित्यको विविध विधामा सशक्त कृतिहरु दिंदै आएका साहित्यकार गोविन्द गिरी प्रेरणाको नविनतम कृति “लिभिङ टुगेदर” को संयुक्त रुपमा विमोचन गरे ।

विमोचनपश्चात सम्वोधन गर्दै नेतृ तथा “कमलरीदेखि सभासदसम्म” कृतिका लेखिका शान्ता चौधरीले गरे के हुँदैन भन्दै आफूले सभासद हुँदा आफ्नो नाम हस्ताक्षर गर्न पाँच मिनेट लाग्ने गरेको स्मरण गर्दै गत साल ८ कक्षा पास गरेको र आगामि साल एसएलसी पास गर्ने वताईन् । उनले भनिन्, “लिभिङ टुगेदर ” मा समाजको कथा हुनुपर्छ । लेखकले अमेरिका वसेर पनि नेपाली साहित्य लेखेर नेपालमै विमोचन गर्नुको विशेष महत्व छ । उनले उपन्यासको सफलताको कामना गरिन् ।

नेपाली सिने जगतकी लोकप्रिय कलाकार दीपाश्री निरौलाले आफूले अमेरिका जाँदा लेखकसँग भेटेको सम्झना गर्दै यो उपन्यास कतै छक्का पञ्जा चलचित्रको नयाँ श्रृङ्खला पनि बन्ने पो हो कि समेत भनिन् ।

नेपाली साहित्य डटकमकी अध्यक्ष तथा कवयित्री मोमिलाले कवितात्मक शैलीमा वोल्दै नपढेको उपन्यासको चर्चा गर्न नसकिए पनि उपन्यासको पछाडि उद्दरण गरिएको अँशले लेखनको छनक दिएको वताउँदै त्यो अँश पढेर सुनाइन् र उपन्यासले सकारात्मक चर्चा पाओस् भन्ने कामना गरिन् ।

“लिभिङ टुगेदर” कृतिका लेखक गोविन्द गिरी प्रेरणाले आफू नेपाल वा नेपाल वाहिर जहाँ वसे पनि लेखनमा निरन्तर लागिरहेको र निरन्तर लागिरहने वताउँदै यो उपन्यास सन् २०१६ मा १०५ दिनमा लेखेको वताए ।

विना कुनै सभापती र विना कुनै प्रमुख अतिथि सम्पन्न सो विमोचन समारोहमा विशेष वक्ता पनि कोही थिएनन् । विमोचनकर्ता अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुलाई विमोचनपूर्व पुस्तक उपलव्ध गराइएको थिएन । विमोचन समारोहमै उनीहरुले पुस्तक देखेका थिए । कार्यक्रम ३५ मिनेटमै सम्पन्न भएको थियो ।

कार्यक्रम कवि तथा टिलिभिजन कार्यक्रम प्रस्तोता ठाकुर वेल्वासेले निकै चाखलाग्दो ढँगले सञ्चालन गर्दै साहित्यकार गोविन्द गिरी प्रेरणाको विस्तृत परिचय समेत प्रस्तुत गरेका थिए ।

पुस्तक वीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो । यस अघि यो कृति जापानको टोक्योमा गत साउन १३ गते विमोचन भएको थियो ।

प्रतिक्रिया