बुलुङ गाउँ पहिरोको जोखिममा

इनेप्लिज २०७५ साउन २३ गते ११:४३ मा प्रकाशित

दोलखा, २३ साउन । जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु बसेको घर पुरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारार्थ सिङ्गटी ल्याइएको छ ।
बुलुङको सबै गाउँ पहिरोको जोखिममा परेको छ । पहिरोले सिङ्गो वडामा क्षति पु¥याएकाले अनुगमन भइरहेको र क्षतिको विवरण संकलन हुन अझै केही समय लाग्ने विगु गाउँपालिका–३ का अध्यक्ष श्रीराम खड्काले बताउनुभयो । वडाभरिका करीब ६०÷७० घर पहिरोको जोखिममा परेको जानकारी आएको खड्काले बताउनुभयो ।

पहिरोले साविक बुलुङ गाविस– ७ पाइनगाउँमा पनि ३३ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीय केशर लामाले दिएको जानकारीअनुसार माथिबाट पहिरो र तलबाट खोलाले तानेपछि सो क्षेत्रका ३३ घरपरिवार जोखिममा परेका हुन् । स्थानीय असली तामाङ र डम्बरे तामाङको घर उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । बुलुङकै भिरमुनीमा पनि सात आठ घर पहिरोको जोखिममा परेको स्थानीयवासी भुवन बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया