चितवनको शहीद स्मृति क्याम्पसमा बी.एफ.ए. को पढाई शुरु

इनेप्लिज २०७५ साउन २३ गते २१:२४ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, २३ श्रावण ।

पूर्वी चितवनको रत्ननगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्रबाट ब्याचलर इन फाइनान्सियल एडमिनिस्टे«सन (बी.एफ.ए.) को पढाई शुरु हुने भएको छ । नेपालकै पुरानो यस क्याम्पसमा आज आयोजित पत्रकार सम्मेलनमा प्राज्ञिक स्वायत्त कार्यक्रमको रुपमा बी.एफ.ए. विषयको पढाई शुरु गर्न लागेको बताइएको थियो । बित्तीय व्यवस्थापन र योजना यस विषयको मुख्य विषयवस्तु रहेको छ ।

प्राज्ञिक स्वायत्तताले आर्थिक र प्रशासनिक स्वायत्तताको साथै सोको पाठ्यक्रमसँग सम्बन्धित स्वायत्तता, शिक्षण सिकाइ विधि र प्रक्रियाको स्वायत्तता समेत प्रदान गर्दछ । आन्तरीक र वाह्य परीक्षा संचालनको स्वायत्तता, विद्यार्थी मूल्यांकन विधिको स्वायत्तता समेत यसै अन्तर्गत पर्दछ । नेपालको परिमार्जित राजनीति अवस्था, बढ्दो वित्तीय संघ संस्था र अर्थतन्त्रलाई समेत मध्यनजर गर्दै यसको पाठ्यक्रमको विकास गरिएको क्याम्पसका कार्यवाहक कार्यप्रमुख माधव श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

शहीद स्मृति बहुमुखी क्याम्पस, संचालक समितिबाट गठित प्राज्ञिक परिषद्, बी.एफ.ए. संचालन समिति, परीक्षा समितिको मातहतमा रही यो कार्यक्रम संचालन हुने समेत श्रेष्ठले जानकारी दिए । ४ वर्षे कोर्षको ८ सेमेष्टरमा बी.एफ.ए.को पढाई हुने र यसको लागि करिव ४ लाख ३० हजार खर्च लाग्ने समेत उनले बताए । वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान, स्थानीय तह लगायतका विभिन्न स्थानमा यस विषयको अत्यधिक माग रहेको छ ।

वि.सं. २०३७ सालमा स्थापना भएको यस क्याम्पसमा यस अगाडि नै व्यवस्थापन संकाय तर्फ बी.बी.एस., एम.बी.एस., बी.बी.एम.को पढाई हुँदै आएको छ । त्यस्तै गरी शिक्षा शास्त्र संकायतर्फ बी.एड., एम.एड., मानविकी तथा सामाजिक शास्त्र संकाय तर्फ बी.ए., बी.एस.डब्लु र एम.ए. को पढाई हुँदै आएको छ । त्यस्तै विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बी.एस.सी.को समेत पठनपाठन हुँदै आइरहेको कार्यवाहक क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए । यसै शैक्षिक सत्रबाट शुरु हुने सो बी.एफ.ए. यस अगाडि पोखरा, बुटवल र कैलालीमा मात्र शुरु भएको छ । सो कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष भरत प्रसाद खनाल, उपाध्यक्ष इश्वरी प्रसाद अर्याल, सह–प्राध्यापक सुरेन्द्र नाथ रेग्मी, उपप्राध्यापक धर्मदत्त तिवारी, उपप्राध्यापक खिमानन्द अर्याल लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।

प्रतिक्रिया