बाल कथासंग्रह “Daughter of Everest” बारे छोटो टिप्पणी

इनेप्लिज २०७५ साउन २५ गते ३:४० मा प्रकाशित

पशु-पन्छी वा निर्जीव वस्तुहरुलाई नायक र खल पात्र बनाएर कलिलो बालमस्तिष्कमा नैतिक, प्रोत्साहनमूलक, उपदेशमूलक र मूलभूत असल सामाजिक संस्कारहरु मधुर र रोमाञ्चक शैलीमा पस्कने परिपाटी भने नौलो होइन। कथाकार श्री सुरेन उप्रेती ज्यूको यो बालकथा “Daughter of Everest” प्रस्तुति तिनै महान कार्यहरुको शृंखलाको निरन्तरता हो। हाम्रा औंलो समाएर टुकुटुकु हिड्ने आजका बाल-बालिका भोलिका समाज, राष्ट्र र विश्वनिर्माणका धरोहर मात्र होइनन्, तिनकै नैतिक-मानवीय तजबिजमा हाम्रा अशक्त, जीर्ण बूढ्यौली शरीरको बोझ पर्ने पक्कै छ। त्यस्तो नैतिकवान र मानवीय हृदय भएका दस्ताहरुको समाजको निर्माणको दायित्व आज हाम्रो काँधमा छ। तसर्थ यस पुनित कार्यका संयोजक कथाकार सुरेन ज्यू यस अर्थमा पनि हामी सबै अभिभावकहरुको धन्यवादको पात्र हुनुहुन्छ।

कथाकार सुरेन ज्यूको सिर्जनाको कलम साहित्यिक फाँटमा बाल्यकालदेखि क्रियाशील भएर घाम-आँधी-असिना-हिउँ  नभनी अहिलेसम्म अनवरत चलिरहेको देखेर हामीजस्ता पाठकलाई खुसी नै लाग्छ । वहाँको यस सिर्जना  “Daughter of Everest” को मालामा १६ वटा उत्कृष्ट र मनमोहक सचित्र बालकथाका फूलका थुङ्गाहरुले सजिएको छ। बैज्ञानिक दसी-प्रमाणलाई एकछिन पर थन्क्याउने हो भने यस्ता बालकथाहरु जीवनपर्यन्त यादगारमै अल्झिरहने कुरो हाम्रा बाल्यकालीन यस्तै बालकथाहरु अझै पनि जीवन्त  रहेका दृष्टान्तले पुष्टि गर्छ।

 

कथा  “The three flies” मा “मानव समाजद्वारा अति तिरष्कृत झिङ्गाहरुले विश्व नै भोकमरीरहित “युटोपियन” समाजको सिर्जनाको प्रतिबद्धता जाहेर गर्दा, हामी सर्वश्रेष्ठ मानव भनाउँदाहरुले भोकमरी र धनी-गरिबको दपेटमा पर्नु  सुहाउने कुरो हो र ?” जस्तो भाव दिने सन्देश छ।  कथा  “Kantak and the birds”  मा दुष्ट सर्प कण्टकको आततायी व्यवहारको पन्छीहरुले एक भएर डटेर दिएर पाठ मननयोग्य छ। कथा  “Aroha and the beast” मा पशु-पन्छीहरु मानवद्वरा प्रताडित नै रहेर पनि मानव जातिको विकाशमा अहम भूमिका खेलेको यथार्थ विद्यार्थी आरोहले दिन्छ।  “Beware of goblin” मा हामी ठूला भनाउँदाहरुले आफ्नो क्षणिक स्वार्थको लागि कलिला बालमस्तिष्कमा भूत-प्रेतजस्ता उडन्ते अन्धबिश्वास घुसार्नु कत्तिको जायज होला त भन्ने देखाइएको छ। “Eat your veggies” मा सागसब्जी-फलफुललाई आफ्नो भोजनमा समायोजन गर्नुपर्ने सन्देस छ।  “Daughter of Everest” मा एउटी नेपाली जुझारु पर्वतारोही नारी पासाङ् लेमु शेर्पाको दृढसंकल्पको ब्याख्या गरेर नारी जगतको भूमिकाको महत्व दर्शाइएको छ।  “Light of peace”  मा शताब्दियौंदेखि शासकवर्गको हेलचेक्याइबाट प्रोत्साहित भारतीय मिडियाको बुद्धको जन्मथलोको नाजायज हकदावीलाई विरोधको गोर्खेलौरी लगाइएको छ ।

सगरमाथाको पृष्ठभूमिमा बालिका (छोरी नानी) को तस्बिर अति मनमोहक कबरमा प्रस्तुत गरिएको छ। ७२ पाना भएको “Baico Publishing Inc.” (ओटावा, क्यानाडा) बाट प्रकाशित गरिएको यो बालकथा अवश्यमेव अति सरल तर प्रष्ट शब्दहरुको समायोजित गरेर सुन्दर शैलीमा नेपाली वा गैरनेपाली बालबालिकाहरुको लागि अति पठनीय छ। कथाका केही परिवेशहरु आफ्ना मातापिता वा पूर्खाको जन्मथलो नेपालसँग गाँसिएकोले डायस्पोराका नेपाली क्यानेडियाली बालबालिकाहरुले “नपढी नहुने पुस्तकको रुपमा देखिन्छ भने विश्वब्यापिकरणको जमानामा डायस्पोराका गैह्रनेपाली बालबालिकाहरुले आफ्ना नेपाली वंशज भिरेका क्यानेडियाली सहपाठीहरुको देश नेपालको बारेमा बुझ्नु यो पठनीय छ।

कथाकार सुरेन ज्यूको बालबालिकाको नैतिक भविष्य निर्माणमा गरिएको यो गहन प्रयास आदरणीय पाठकवर्गले सह्रानीय तथा अनुकरणीय ठान्ने छन् । यो कथा संग्रह पढ्ने वालवालिकाहरुले कुनै नेपालीहरुले नेपालको बारेमा भन्दा नेपाल कता छ भन्ने अन्योल हट्ने छ । उनीहरु ठूलो भए पछी नेपाल जान मोह पलाउनेछ भने । गौतम् बुद्धको जन्मस्थानका बारेमा भारतिय मिडियाको प्रभावमा परेर गलत प्रसारणलाई चिर्दै नेपालको परिचय गराउँने छ भन्ने मलाई लाग्दछ ।

 

केहरसिंह गुरुङ, अटवा, क्यानाडा

प्रतिक्रिया