नेपालमा बैंक नहुँदादेखि नै सिक्का पैसा बेच्दै आएका सिक्का बाजे भन्छन,’हाम्रा पुराना पैसा अरु देशको भन्दा पनि उत्कृष्ट

इनेप्लिज २०७५ साउन २९ गते २१:११ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : कुपण्डोल बस्दै आएका गम्भीर ध्वज जोशी बसन्तपुरमा सिक्का बेच्ने गर्दछन। उनी सिक्का बाजेको नामबाट प्रख्यात छन। उनको पसलमा देश देखि विदेशसम्मका मुद्राहरु राखिएको छ। जोशीको यो पुख्यौली व्यवसाय हो। उनले सानै देखि पैसा मै खेलेको, पैसा मै हुर्केको र व्यवसाय पनि पैसा कै गरेको बताए।

६५ वर्षिय जोशीले यो व्यवसाय ५५ वर्ष देखि गर्दै आएका हुन्। उनले आफ्ना शोक र बाजे देखि गर्दै आएको पेशा भएका कारण उनले पनि यसलाई नै निरन्तरता दिएको बताए। उनीसँग परापुर्वकाल देखिका अहिलेसम्मका विभिन्न आकारका पुराना सिक्का र नोटहरु छन्। उनले २०० भन्दा बढी देशहरुको मुद्राको सङ्कलन गरेर राखेका छन्। नेपालमा बैंक हुनु अगाडी देखि नै उनको पसलमा सिक्काको कारोबार हुने उनले बताए। नेपालका पुराना पैसा हस्तकलाबाट बनाइएका निकै आकर्षक र अरु देशभन्दा पनि राम्रो भएको उनको भनाई छ।

उनी भन्छन,’पृथ्वी नारायण शाहको पालामा विदेशी पैसा नेपालमा छापिन्थ्यो तर अहिले भने नेपालको पैसा स्वदेशमा छाप्न नसकेर सबै विदेशमा छापिएर आउने गर्छ। अहिले सबै परिवर्तन भईसकेको छ। मानिसहरु पैसाको पछि लागे देश प्रेमको भावना हराउँदै गयो।’ उनको पसलमा स्वदेशी देखि विदेशी पर्यटक पनि किन्न आउने गर्छन। प्राय कुनै पुजा, जात्राको लागि त्यस्तै एतिहासिक अध्धयन गर्ने अनुसन्धानकर्ताहरु आउने गरेको उनले बताए।

प्रतिक्रिया