अमेरिकी संसदका लागि उम्मेदवारः एड्रिन पोखरेल !

नारायण अधिकारी रिचमण्ड, भर्जिनिया २०८१ वैशाख १८ गते १:१९ मा प्रकाशित

एड्रिन पोखरेल धरानमा जन्मिएर अमेरिकामा अध्ययन गर्न आइपुगे । यो उनको पहिलो परिचय हो ।

अमेरिका टेकेपछि सङ्घर्ष बल्ल सुरु भयो तर संङ्घर्षको मैदानमा उनले खेल्नुपर्ने खेल चाहिँ कुन हो ? उनले यकिन गर्न सकेका थिएनन् । सङ्घर्ष गर्ने व्यक्तिले पनि एउटा लक्ष्य राखेको हुन्छ, तर उसले गरेको संघर्षले उसलाई उसको लक्ष्ममा पुर्याउँछ, यो भने जरुरी छैन । अध्ययन कार्य सकेपछि उनी अमेरिकामा प्रहरी सेवा गर्न थाले तर प्रहरी सेवाको खेलबाट ऊनी सन्तुष्ट हुन सकेनन् र पुगे अर्को चुनौतीपूर्ण संघर्षको मैदानमा ।

उनी भन्छन्, “सोच्दै नसोचेको ठाउँमा म पुगिरहेको हुन्छु । मलाई थाहा छैन, म आफैं पुग्छु वा परिस्थितिले पुर्याउँछ ।”

“कहाँ पुग्नुभयो त फेरि ?”, मैले सोधें ।

“अमेरिकी प्रहरी सेवाबाट विदा भएर म अमेरिकी सेनामा भर्ना भएँ ।” उनी सम्झँदै भन्छन्, “म हिँडेको बाटो मैले रोजेका मात्र थिएनन् । केही गर्छु भन्दाभन्दै म सेनामा पुगेको हुँ । सेना भन्नेबित्तिकै नेपालको सनातनी बुझाइ चैं हतियार बोकेको सैनिकको सम्झना भइहाल्छ । तर यहाँ त्यो जरुरी हुँदैन । सामान्य हतियार चलाउनुबाहेक हतियार नबोकेर पनि मानिस सैन्य सेवाभित्र पनि अन्य काम गरिरहेको हुन्छ । तर म चैं हतियार बोकेर “फ्रन्टलाइन वारियर”को रूपमा सैन्य सेवामा प्रवेश गरें ।”

सैन्य सेवा उनको दोस्रो परिचय हो ।

“अनि युद्ध पनि पो लड्नुभयो त तपाईंले ?” मैले प्रश्न थपें ।

“हो मैले अफगानिस्तानको युद्धमा प्रत्यक्ष भाग लिएँ । कम्ब्याट ड्रेस भिरेर अमेरिकी सैनिकले बोक्ने हतियार बोकेर शुत्रपक्षसँग म प्रत्यक्ष युद्धमा भिडेको व्यक्ति हुँ म ।” उनले भने ।

मैले सोधें, “आम जनताको ठाउँबाट हेर्दा त एउटा सैनिकले हतियार बोक्छ, परेमा युद्ध लड्छ । मार्न पनि सक्छ, मर्न पनि सक्छ । यो त्यति ठूलो कुरा हो जस्तो लाग्दैन तर कस्तो हुँदोरहेछ प्रत्यक्ष युद्धमा लड्दा ? मरिन्छ भन्ने डर थियो ?”

उनले जवाफ दिए, “हो, सामान्य पब्लिक भएर हेर्दा यो सामान्य कुरा हो । जनताले टिभीमा युद्ध देखेका छन्, खबरमा सुनेका छन्, पढेका छन् । उनीहरूलाई यो सामान्य लाग्छ । युद्धमा मारिएका सैनिकहरू देखिरहेको हुनाले त्यति ठूलो कुरा लाग्दैन तर आफ्नै गाउँको, चिनेको मान्छे भयो भने अलि सम्वेदनशील हुन्छ । आफ्नो परिवारभित्रको भयो भने हृदय विदारक हुन्छ । म युद्धमा लडिरहँदा चाहिँ मेन्टल ट्रमाको अवस्थामा पुगेको थिएँ ।”

“अनि युद्ध पनि पो लड्नुभयो त तपाईंले ?” मैले प्रश्न थपें ।

अफगान युद्धमा उनी घाइते भए । घाइते सैनिकलाई युद्धबाट बाहिर राखियो र उनलाई आफ्नो कमाण्डले घाइते सैनिकका रूपमा अमेरिका फिर्ता पठायो । अहिले उनी अमेरिकी कँग्रेस अर्थात् प्रतिनिधिसभा सदस्यको लागि भर्जिनियाको डिस्ट्रिक नम्बर १० बाट उम्मेदवारी दिन हाल डेमोक्रेट्रिक पार्टीको आन्तरिक प्रतिश्पर्धा अथवा प्राइमरी निर्वाचनमा छन् । प्राइमरी निर्वाचन भनेको त्यस क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनी डेमोक्रेटिक पार्टीले आफ्नो उम्मेदवार छान्ने प्रक्रिया हो । पार्टीको आन्तरिक चुनावमा एड्रिनले जिते भने मात्र उनले त्यस डिस्ट्रिकमा अमेरिकी हाउस अफ् रेप्रेजेन्टेटिभका लागि अन्य दलहरूसँग प्रतिश्पर्धा गर्न जानेछन् ।

अड्रिन पोखरेल कविता पनि लेख्छन् । कविता लेखेपछि उनी कवि पनि भए । यो उनको चौथो परिचय हो । एउटा प्रसंगमा मैले उहाँलाई सोधें, “सर, मिल्छ भने “मेन्टल ट्रमा”को बारेमा केही बताउनुहोस् न ।”

“निश्चय नै !” भन्दै उनले मेन्टल ट्रमाका विषयमा भने, “अफगानिस्तानको “वार–जोन”मा हाम्रो डफ्फा हातहतियारसहित गस्तीमा थियो । हामी त्यस गस्ती टोलीमा एक अर्काका अभिन्न मित्र पनि थियौं । युद्धक्षेत्र हो, हतियार र कम्ब्याट ड्रेसमा एउटा शक्ति र उर्जा त हुन्छ तर डर पनि हुन्छ नै । हाम्रो डफ्फामाथि अचानक कतैबाट बम आक्रमण भयो । अप्रत्यासित रूपमा भएको हमलापश्चात् त्यहाँ केही बचेजस्तो लागेन । केही समयपछि हेर्दा हाम्रो समूहका केही साथीहरू भुईँमा यत्रतत्र पछारिएका थिए । कुन को हो ? चिन्न सक्ने अवस्था थिएन । मलाई पनि गोली लागेको थियो तर मेरेको थिइँन । अवस्था यस्तो थियो कि साथीहरूलाई रेस्क्यु टिमले आएर उठाउन खोज्दा कुन अंग कसको हो ? ठम्याउन गाह्रो थियो । पहिचान गर्न नसकिने भए पनि लुगा कपडा र लगाएको व्याज वा जे जे भेटिन्छ अनि विस्फोट क्षेत्रमा यत्रतत्र छरिएका कसैका हात, खुट्टा, टाउका, हड्डी, डढेका मासुका डल्लाहरू भेला गरेर तिनीहरूका आधारमा “यो यस्को होला” भनेर मान्छेका अंगहरू गाँसेर लासको निर्माण गर्नुपरेको थियो ।”

तपाईं कल्पना गर्न सक्नुहुन्छ । म शून्य अवस्थामा पुगेको थिएँ । केही सोच्न सकिरहेको थिइँन । म युद्धक्षेत्रबाट बाहिर पठाइएँ । म अमेरिकी धरतीमा झरेपछि अर्को भयानक आपद आइलाग्यो । म अब सैन्य सेवामा रहिँन । म युद्धक्षेत्रबाट मात्र होइन, सैन्य सेवाबाट नै हटाइएँ । म एकैचोटी त्यसबेला आकाशबाट धरतीको सडकमा फ्याँकिएको थिएँ । मेरो घर थिएन, भएको जागिर रहेन । मभित्र घोर अन्धकार छायो । म निराशा र मानसिक चिन्ताग्रस्त अवस्थामा पुगें । श्रीमती र बच्चाहरू भएको म, अब कसरी परिवारमा पाल्ने चिन्ताले छोयो । म मानसिक चिन्ताको शिकार भएँ । म डिप्रेसनमा पुगेको थिएँ । यसको अन्तिम उपाय भनेको आत्महत्या नै हो भन्ने निश्कर्षमा म पुगें ।

आत्महत्या गर्ने मिति स्थान र समय निर्णय गरिसकेपछि मभित्र एउटा चेतनाको झिल्को झिलिक्क उदायो । त्यो थियो, मैले नै यसरी आत्महत्या गर्ने हो भने म जस्तो मानसिक ट्रमाको अवस्थामा पुगेका सैनिकहरू, म जस्तै घाइतेहरूको आवाज कसले उठाउँछ ? म अब तिनीहरूको आवाज बन्नुपर्छ भन्ने लाग्यो । मेरो चेतनाको यही झिल्को मेरो प्रेरणाको स्रोत बन्यो । अब केही गर्नुपर्छ भन्ने लाग्यो तर के गर्ने ? मेरो आवाज अब युद्धमा घाइते भएकाहरूको, मानसिक ट्रमा बेहोरिरहेका सैनिकहरूको हुनुपर्छ भन्ने लाग्यो ।

लाग्न त लाग्यो तर आवाज उठाउने कहाँ कसरी ? फेरि निरूपाय अवस्थामा पुगें । अन्तमा, म यो निचोडमा पुगें, अब मैले राजनीतिमा लागेर यस विषयको उठान गर्नुपर्छ । राजनीति तवरबाट यो आवाज मुखरित हुन सक्छ भन्ने लागेर मैले केही समालिएर राजनीतिमा प्रवेश गर्ने अठोट गरें । यो मेरो जीवनको टर्निङ पइन्ट थियो । म अहिले डेमोक्रेटिक पार्टीको निर्वाचनको प्राइमरी चरणमा छु । अनि म अमेरिकी संघीय सरकारको क्यापिटल भवन वाशिङ्टन डिसीमा पुगेर आवाज उठाउने छु भन्ने अठोटले अगाडि बढेको छु ।” उहाँले आफ्नो दर्दनाक कथा सक्नुभयो ।

के हो मेन्टल ट्रमा अर्थात् मानसिक आघात ? ट्रमा अंग्रेजी शब्द हो । यसको ठ्याक्कै नेपाली अर्थ के हुन्छ मलाई थाहा छैन तर मानसिक आघात भन्छु म । यो कुनै डरलाग्दो, अप्रत्यासित, तीब र अप्रिय घटनाले उत्पन्न गर्ने मानसिक प्रहारको अवस्था हो जसले मानिसको मानसिक अवस्थालाई विकृत गराउँछ । सामान्य मानसिक अवस्था भएको व्यक्तिलाई असामान्य वा पागलपनको अवस्थामा पनि पु¥याउन सक्छ ।

यहाँ एड्रिन पोखरेलको कुरा गर्दा युद्धमा आफूमाथि बम आक्रमण हुनु, आफू घाइते हुनु, आफ्ना साथीहरूको आफ्नै अगाडि भयानक मृत्यु हुनु, आफूले सेवाबाट अवकाश पाउनु, बाँच्न पर्याप्त स्रोत साधनको अभाव हुनुले उहाँमा जुन मापनको तनाव भयो, त्यसले उहाँलाई पनि मानसिक आघात अर्थात् मेन्टल ट्रमाको अवस्थामा पु¥याएको हो । तनावको अत्यधिक तीब्रताको कारणले मानिसले थाम्न सक्ने क्षमताभन्दा माथि पुगेको मानसिक विचलन, वेहोसी वा कोमाको अवस्था नै ट्रमा हो जसले मानिसलाई मृत्युसम्म पनि धकेल्न सक्दछ ।

एड्रिन पोखरेलको अहिलेको राजनीतिक अभियानको उद्देश्य मानसिक आघातको अवस्थामा पुगेका सैनिक वा गैह्र सैनिकहरूको आवाज उठाउने नारा बनेको छ । एड्रिन भन्छन्, अमेरिकामा हरेक दिनमा धेरै मानिसहरू कुनै न कुनै किसिमको मानसिक आघातको शिकार बनेका र मृत्युवरण गर्न बाध्य छन् । मेन्टल ट्रमाको उपचार गर्न सम्भव छ । त्योभन्दा बढी ट्रमाको अवस्थामा पुग्न नदिनु नै सबैभन्दा ठूलो र दीगो उपचार विधि पनि हो । कुनै पनि आर्थिक, सामाजिक, पेसागत वा अन्य कारणले मानसिक आघातमा पुग्न सक्ने व्यक्तिहरूको समस्या पहिचान गर्ने र तिनीहरूको निदान गर्ने हो भने कम्तिमा मानसिक आघातबाट मानिसको जीवन रक्षा गर्न सकिन्छ । यो विषयमा अमेरिकी राजनीतिक क्षेत्रमा त्यति धेरै काम भएको छैन । एड्रिन पोखरेल मानसिक आघातबाट मुक्त पुगेका व्यक्ति भएको र त्यसबाट मुक्त भएपछि त्यसैलाई नै उनले आफ्नो व्यक्तिगत जीवन र राजनीति जीवनको उद्देश्य बनाएको देखिएको छ ।

आत्महत्या गर्ने मिति स्थान र समय निर्णय गरिसकेपछि मभित्र एउटा चेतनाको झिल्को झिलिक्क उदायो । त्यो थियो, मैले नै यसरी आत्महत्या गर्ने हो भने म जस्तो मानसिक ट्रमाको अवस्थामा पुगेका सैनिकहरू, म जस्तै घाइतेहरूको आवाज कसले उठाउँछ ?

उनले पार्टीको प्राइमरी चुनावमा छनोटको लागि उम्मेदवारी दिएका छन् । उनलाई यस छनोट प्रक्रियामा विजयको शुभकामनाका साथै त्यसपछि हुने हाउस अफ् रेप्रेन्जेटेटिभको चुनावका लागि पनि अग्रिम शुभकामना दिन चाहन्छु । उनलाई तन, मन र धनले सहयोग गर्नु हाम्रो पनि कर्तव्य हो ।

यात्रा अझै लामो छ तर यो सुरुआत हो, उनको शानदार विजयको लागि म फेरि पनि शुभकामना दिन चाहन्छु । सके आर्थिक मद्दत गरौं, नसके भोट गरौं, त्यो पनि नसके प्रचार गरेर भए पनि मद्दत गरौं ।

प्रतिक्रिया