अमेरिकाको क्यान्सस राज्यमा आएको घुम्रपात(टोर्नाडो) को कारण १ जनाको मृत्यु , २ दर्जन घर ध्वस्त

इनेप्लिज २०८१ वैशाख १९ गते ११:२६ मा प्रकाशित

अमेरिकाको क्यान्सस राज्यमा आएको घुम्रपात(टोर्नाडो)को कारण १ जनाको मृत्यु भएको छ भने २ दर्जन घरहरु ध्वस्त भएका छन् ।

उत्तरपूर्वी क्यान्ससको वेस्टमोरल्याण्डको सानो शहरमा आएको घुम्रपात(टोर्नाडो)ले मङ्गलबार एक जनाको मृत्यु भएको छ र झण्डै दुई दर्जन घरहरू ध्वस्त भएको अधिकारीहरूले बताए ।

पोट्टावाटोमी काउन्टीका अधिकारीहरूले सामाजिक संजालमा मङ्गलबार साँझ शहरमा घुम्रपात(टोर्नाडो) आएको र धेरै संरचनामा क्षति पुगेको बताए।

पहिलो प्रतिक्रियाकर्ताहरूले क्षतिको सर्वेक्षण गर्न र घाइते भएका व्यक्तिहरूको खोजी गर्न वेस्टमोरल्याण्डमा खोजहरू सञ्चालन गरिरहेको सिबिएसन्यूजले जनाएको छ । पोट्टावाटोमी काउन्टीका प्रवक्ताले एक समाचार विज्ञप्तिमा १ जनाको मृत्यु भएको पुष्टि गरे। मृतकको नाम सार्वजनिक गरिएको छैन । अन्य तीन जना घाइते भएका तर कसैको पनि अवस्था गम्भीर नभएको काउन्टी प्रवक्ताले भने ।

उत्तर वेस्टमोरल्याण्डमा २२ वटा घर र पाँचवटा भवनहरू घुम्रपात(टोर्नाडो)ले ध्वस्त पारेको काउन्टीका प्रवक्ताले भने । वेस्टमोरल्याण्डको सम्पूर्ण शहर मंगलबार ढिलो सम्म बिजुलीविहीन रहेको थियो ।

ओक्लाहोमामा गत आइतवार आएको घुम्रपातले चार जनाको ज्यान लिएको थियो भने कम्तिमा १०० जनालाई घाइते बनाएको थियो । गत शुक्रबार, नेब्रास्का र आयोवामा आएको घुम्रपातले घर र व्यवसाय ध्वस्त पारेको थियो भने एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया