ड्यालस (अमेरिका)– यसवर्षको होली अर्थात फागुपूर्णिमालाई ड्यालसमा रहेका नेपालीहरुले भव्य रुपमा मनाउँदै बिदाई गरेका छन् ।
ड्यालसस्थित युलेस नेपाली नेपाली समाजले आइतबार भव्य बनभोज सहित होली मनाए । यो होलीलाई सन् २०१६ को अन्तिम होलीको रुपमा मनाउँदै बिदाई गरिएको थियो । यस अघि अरु नेपाली संस्थाहरुले गत सातानै होली मनाएका थिए ।
होली अर्थात फागुपूर्णिमा नेपाली समाजमा निकै लामो समयदेखि चल्दै आएको चाड हो । विशेषगरि एक आपसमा रंग दलेर, लोला हालेर मनाइने यो पर्व प्रवासमा रहेका नेपालीहरुले कामबाट छुट्टी मिलाएर सप्ताहन्तमा मनाउने चलन रहेको छ ।
युलेसको ओकरिज पार्कमा आयोजित होली कार्यक्रममा ड्यालस, फोर्टवर्थ मेट्रोप्लेक्स क्षेत्रका बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुका अतिरिक्त झण्डै पाँचसय नेपालीहरु सहभागी थिए । कार्यक्रममा बालबालिकाहरुलाई आकर्षित गराउन अमेरिकी पर्ब इस्टरको सन्दर्भमा अण्डाको खेल समेत खेलाइएको थियो । उक्त अवसरमा बालबालिकाहरुलाई पुरस्कारको समेत व्यबस्था गरिएको थियो ।
होलीमा विशेषगरि बालबालिकाहरु निकै खुशी थिए । कतिपय बालबालिकाहरु नेपालमै जन्मेर यता आएका भएपनि केहीभने यतै जन्मे, हुर्केका कारण होलीको संस्कृतिसँग उनीहरु नौला थिए । रंगको पर्वलाई उनीहरुले अतिनै रमाइलो मानेर खेलेका थिए । उनीहरुले होलीलाई दशैं तिहारभन्दा पनि ज्यादा रमाइलो मानेर खेलेका थिए ।
नेपाली समाज युलेसले आयोजना गरेको होली सफल बनाउन सहयोग गरेकोमा कार्यक्रमका संयोजक टीका पौडेलले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभएको छ । ‘नेपालीको उपस्थितीले हामी सबैलाई उत्साह जगाएको छ, भविष्यमा यस्ता कार्यक्रमहरु गर्दैजाने थप उत्साह पनि मिलेको छ,’ पौडेलले भन्नुभयो ।
प्रतिक्रिया