पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मानको घोषणा

इनेप्लिज २०७७ असोज ११ गते १२:०८ मा प्रकाशित

ईनेप्लिज विशेष प्रतिनिधि,

११, आश्विन, काठमाडौं ।

विसं २०७६ मा प्रकाशित साहित्यिक कृतिहरूमध्ये उत्तम कृतिलाई दिइने “ पद्मश्री साहित्य पुरस्कार” “हंश” उपन्यासका लागि संजिव उप्रेतीलाई दिइने भएको छ ।बुक हिल पब्लिकेशनले प्रकाशित उनको यो उपन्यासलाई पुरस्कृत गरिएको सम्वन्धमा खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ-“ हंस उपन्यासमा लेखकले मानिस द्वारा निर्मित देश,कानून तथा संस्कारले प्रेम र सम्वन्धमा आएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेको छ र वोझ बनाइ रहेछ भन्ने कुरा प्रकृति तथा हाॅंसको कथा सॅंग जोडेर स्वैर कल्पनात्मक माध्यम द्वारा प्रस्तुत गरेका छन् ।”

विसं २०६३ सालदेखि वर्षेनी प्रदान गरिंदै आएको पद्मश्री साहित्य पुरस्कारको रकम स्थापनाकालमा रू ५०,०००।-(पचास हजार रूपैयाॅं) रहेको थियो र पहिलो पल्ट गणेश रसिकले “जव सिस्नुहरू कुल्चॅंदै हिडें” संस्मरणात्मक कृतिका लागि प्राप्त गरेका थिए।हाल यसकोराशी ३ लाख रूपैयाॅं रहेको छ।

त्यस्तै “ विगत ६ दशक देखि नेपाली काव्य, निबन्ध,नाटक आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यम द्वारा समाज रूपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका ….उनी पूर्विय दर्शन तथा मार्क्सवादी विचार लाई वैज्ञानिक र वस्तुवादी ढॅंगले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक” भन्दै साहित्यकार मोदनाथ प्रश्रितलाई “ पद्मश्री साधना सम्मान “ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानको प्रेस विज्ञप्तिमा जनाईएको छ।“पद्मश्री साधना सम्मान “ २०६७ सालदेखि प्रदान गर्न थालिएको हो र पहिलो पल्ट कवि माधव घिमिरे लाई प्रदान गरिएको थियो।स्थापना कालमा यसको राशी १ लाख रूपैयाॅं रहेकोमा हाल यसको राशी ३ लाख रूपैयाॅं रहेको छ।

उपन्यासकार संजिव उप्रेतीको “ घनचक्कर” उपन्यास निकै चर्चित भएको थियो र त्यसको नाट्य रूपान्तर गरी मंचन समेत गरिएको थियो।पछिल्लो समय उनी चराचुरूॅंगीमा विशेष रूचि राख्दै आएका छन् र यो उपन्यास त्यसैको उपज हो ।

मोदनाथ प्रश्रित साहित्यकार तथा राजनीति कर्मी हुन्।उनी मन्त्री समेत भएका थिए । “मानव” महाकाव्यका लागि विसं २०२३ सालको मदन पुरस्कारप्राप्त उनी पछिल्लो समय राजनीतिमा सकृय छैनन् ।

शुरूमा मोफसलको लागि स्थापित पद्मश्री पुरस्कारले पछि राष्ट्रिय रूप लियो र साधना सम्मान पनि जोडियो।यो पुरस्कार विशुध्द साहित्यिक कृति र साहित्य साधक लाई दिइने पुरस्कार र सम्मान हो।यसका संस्थापक तथा संरक्षक प्रतिष्ठित व्यवसायी, एन आर एन का पूर्व केन्द्रिय अध्यक्ष तथा नियात्राकार जिवा लामिछाने हुन्।

प्रतिक्रिया