आश्विन ११, २०७७ (सेप्टेम्बेर २७, २०२०) अन्तर्राष्ट्रिय नदी दिवसको अवसरमा बिशेष अतिथि बरिष्ठ साहित्यकार सरुभक्तले हिमाली संरक्षण समूह पोखराको स्मारिका “माटो, मानव र सिर्जना” एक कार्यक्रमको बिच लोकार्पण गर्नुभयो । “माटो, मानव र सिर्जना” हिमाली संरक्षण समूह र “सिर्जना र असार” को सहकार्यमा मिति २०७७ श्रावण २५ (अगस्ट ९ , २०२०)मा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित “सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम” मा प्रस्तुत रचनाहरुको संगालो हो ।
हिमाली संरक्षण समुहका अध्यक्ष महेश्वर पहारीको सभापतित्वमा भएको सो अनलाइन कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरुबाट प्रतिनिधिहरु सहभागी भएका थिए | गत आदिवासी दिवसको कार्यक्रममा कविता वाचन गर्ने मध्य अरुण श्रेष्ठ, मुक्ती गौतम, सुरेन उप्रेति, गोपिकृष्ण काफ्ले, इश्वरी भट्ट लगायत श्रस्टाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा डा. ज्योती भन्डारी, डा. बेन्कटेश शर्मा, उमा शर्मा, राजु महर्जन लगायत साहित्यकार र सम्रक्षणविदहरुको उपस्थिती रहेको थियो ।
रेडियो हिमालयबाट प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रमको संचालन डा. हिम लाल श्रेष्ठ तथा डा. ऋषि बस्ताकोटीले संयुक्त रुपमा गर्नुभएको थियो | “सिर्जना र असार” अभियानका धन प्रसाद तामाङले स्वागत गर्नुभएको कार्यक्रममा हिमाली संरक्षण समुहका संस्थापक अध्यक्ष डा. भरत मान श्रेष्ठले स्मारिका प्रकाशन बारे बोल्दै मानव र माटोको अन्योन्याशृत सम्बन्धबारे प्रकाश पार्नुभएको थियो |
प्राध्यापक एवं गीतकार डा. अच्युत शर्माले स्मारिकामा समाबेश रचनाहरुको विस्तृत समिक्षा गर्नुभएको थियो | नदी र मानव सभ्यताको प्रगाढ सम्बन्धबारे प्रकाश पार्दै उहांले नेपाल मात्र नभएर विश्वकै पानीको श्रोतहरुको सँरक्षण गर्नुपर्ने र सबैले मिलेर जन-चेतना जगाउनु पर्ने दायित्व भएकोले यस्ता कार्यक्रम र प्रकाशनको ठुलो महत्व भएको कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रमको दोश्रो चरणमा डा. ऋषि बस्ताकोटीले स्मारिका प्रकाशनको विषयवस्तुमा केन्दृत रहेर एक अन्तर्कृया कार्यक्रम सन्चालान गर्नुभएको थियो । सो अन्तर्कृयामा आफ्ना विचार राख्दै सँरक्षण कविता आन्दोलनका परिकल्पनाकर तथा बरिष्ठ सहित्यकार सरुभक्तले साहित्यले प्राकृतिक सँरक्षणमा अत्यन्तै सकारात्मक रुपमा जनचेतना फैलाउने भएकोले हरेक साहित्यकारले कलम चलाउनुपर्ने बताउनुभयो । लेखनको शुरुमा आफु अल्ली बढी प्रयोगवादी धारको भए पनि पचासको दशकदेखी ग्रामीण जनताले पनि बुझ्ने भाषामा प्रकृती, सन्स्कृती र मानव जीवनका विविध पाटाहरु समेटेर साहित्य सिर्जना गर्न थालेको र यो क्रममा सम्रक्षण कविता आन्दोलन एउटा नवीन चेत सहित नया साहित्यिक आन्दोलनको रुप्मा बिस्तारित भएको कुरा उल्लेख गर्नुभयो । साहित्यकार सरुभक्तले यस्ता कार्यक्रमहरु विश्वव्यापी आन्दोलनको रुपमा अन्य देशका साहित्यकारहरुसंग पनि सहकार्यमा गर्ने पहल भईरहेको उल्लेख गर्नुभयो ।
हिमाली संरक्षण समुहका संस्थापक अध्यक्ष डा. भरत मान श्रेष्ठले वातावरण सँरक्षण गर्न अनुसन्धान र जनजागरण साथसाथै अघि बढ्नुपर्ने हुनाले यस्ता कार्यक्रम र प्रकाशनहरुले महत्वपुर्ण योगदान दिन सक्ने बताउनुभयो । भविश्यमा यस्ता प्रकाशनहरू अङ्रेजीमा समेत उल्था गरी अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनुपर्ने धारणा राख्नुभयो । सिर्जना र असार का पुर्ब संयोजक एवं कवि धन प्रसाद तामाङले साहित्यले माटो र मुटुको अन्तर-सम्बन्ध झन कसिलो बनाउने हुनाले भविश्यमा पनि यस्ता कार्यक्रमहरुमा सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । हिमाली संरक्षण समूहका अध्यक्ष महेश्वर पहारीले फेवातालको प्रदूषण अवस्थाको उदाहरण दिँदै वातावरण संरक्षण स्थानीय मात्र नभएर विश्वव्यापी सरोकार भएकोले अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सहकार्य गर्नुपर्ने बताउनुभयो । कवि इश्वरी भट्टले साहित्यकारहरुले हरेक बिधामा रचना मार्फत चेतनाको बिगुल फुकी रहनुपर्ने आबस्यकता रहेको र सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । स्मारिकाको आवरण कला तयार पार्ने रवी श्रेष्ठले कला पनि अभिव्यक्तिको सशक्त माध्यम रहेको र आफुले यो आवरण चित्रमा माटो मानिस र सिर्जनाको संयोजन गर्ने प्रयास गरेको बताउनुभयो ।
हिमाली संरक्षण समूह सन् १९९६ (बि.स्.२०५३) देखि पोखरा तथा वरपरको वातावरण, बन बिज्ञान तथा साहित्यको क्षेत्रमा अनबरत काम गर्दै आएको नाफारहित गैर सरकारी संस्था हो | “सिर्जना र असार” मानव र माटोको अन्योन्याश्रित सम्बन्धलाई सम्बर्धन गर्न लागिपरेको श्रष्टाहरूको साहित्यिक आन्दोलन हो। यस आन्दोलनले हिमाली संरक्षण समूहको सहकार्यमा वि.सं. २०५० को दशकमा साहित्यिक कार्यक्रम पोखरामा शुरू गरेको थियो। तत्पश्चात, हालसम्म दुई दशकको अवधिमा नेपालको विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भइसकेको छ।
हाल डिजिटल कपी प्रकाशित गरिएको यस स्मारिकामा नेपाल, अमेरिका, क्यानडा, पोर्चुगल निवासी २७ साहित्यकारका कविता मुक्तकहरू समेटिएका छन् । अनुकुल समयमा यसलाई मुद्रण गरी वितरण गरिने कुरा प्रकाशक हिमाली संरक्षण समूहले जनाएको छ । स्मारिकाको डिजिटल कपी हिमाली संरक्षण समुहको वेब-पेज http://(https://hicogpokhara.wordpress.com/)मा उपलब्ध छ ।
प्रतिक्रिया