डा.उपाध्यायले ल्याए ‘जदौ काठमान्डू’

इनेप्लिज २०७७ असोज २५ गते ११:४७ मा प्रकाशित

११ अक्टोबर,लन्डन

बेलायत निवासी वरिष्ठ कवि तथा मानव अधिकारकर्मी डा.कृष्ण उपाध्यायले ‘जदौ काठमान्डू’कवितासङ्ग्रह ल्याएका छन्।

जदौ काठामान्डूमा सङ्गत–असङ्गत,भाव–अभाव,समस्या–समाधान,प्रेम–घृणा, निन्दा–प्रशंसा आदिआदि अनेक कुराहरूको कोलाज रूपी व्यूहरचना गरेर मान्छेलाई त्यसैमा रनभुल्ल पार्ने काठमाडौँको बारेमा कविता लेखिएका छन्।

उक्त कविता सङ्ग्रहमा युगीन कुरूप यथार्थ र मान्छे भित्रमा सुन्दर–असुन्दर दुवै पक्ष विषय बनेर आएका छन्।पूर्वीय मिथक र समसामयिक यथार्थ,पूर्वीय दर्शन र रागात्मकता,वैयक्तिक तथा सामाजिक जीवनका विविध भोगाइ र अनुभूतिको प्रकटीकरण तथा वर्तमानबोध,युगबोध,जीवनबोध,समयबोध र विश्वबोधी चेतनासमेत जदौ काठमान्डूमा पाइन्छ।

डेढ दशक भन्दा बढि समयदेखि बेलायतमा बसोबास गरिरहेका डा.उपाध्याय मानवअधिकारको क्षेत्रमा कार्यरत छन्।यस अघि उनको‘प्रथम पुरुष’(सन् २०१४) कवितासङ्ग्रह) प्रकाशित भएको छ।जदौ काठमान्डू कविता सङ्ग्रह समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशित गरेको हो।

प्रतिक्रिया