सञ्जय मित्र, रौतहट
तराई मधेसमा सर्वाधिक लोकप्रिय छठ पर्वको विषयमा पहिलो चोटि कृति प्रकाशित भएको छ । रौतहटका साहित्यकार सञ्जय साह मित्रले लेखेको छठ पबनी : उद्भव र विस्तार नामक कृतिको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्न्द्र प्रसाद यादव र बज्जिका साहित्य संगम रौतहटका संयोजक साहित्यकार किशुनदयाल यादव श्रीकृष्णले मंगलवार संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन्।
रौतहटको गढीमाई नगरपालिकाको मलाही बजारमा दुर्गापूजाको पण्डालमा सामाजिक दूरी अपनाएर गरिएको कृतिको लोकार्पणको समयमा स्थानीय बुद्धिजीवी,संस्कृतिकर्मी, साहित्यकार, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
रौतहटमा प्रादुर्भाव भएर विश्वभरि फैलिएको लोकपर्व छठ नेपालको मौलिक पर्व भएको कृतिमा उल्लेख गरिएको छ।छठ पर्वको विषयमा २५ वर्षदेखि लेख्दै आएका साहित्यकार मित्रले छठ पर्वको विषयमा खासै कुनै कृति प्रकाशन नभएको अवस्थामा यस कृति बाट छठ पर्वको विषयमा जान्न चाहनेलाई निकै सहयोग गर्ने बताएका छन्।छठ पर्वको विषयमा अनुसन्धान गर्न चाहनेलाई पनि यस कृतिले निकै सहयोग गर्ने कृतिकार मित्रको भनाइ छ।
कृतिका लोकार्पणकर्ताहरुले देशको संस्कृतिको विषयमा यस कृतिले नवीन किसिमले सोच्न लगाउने बताएका छन्।कृति भित्र पत्रकार चन्द्र किशोरले पनि छठको स्थानीयकरण निकै मौलिक विषय भएको उल्लेख गरेका छन्।गढीमाईका नगर प्रमुख यादवले नव प्रकाशित कृतिले तराई मधेसको संस्कृति लाई उच्च बौद्धिक पाठकमा पुर्याउन विशेष भूमिका खेल्ने बताएका छन्।बज्जिका संस्कृतिको लागि प्रस्तुत कृति विशेष सम्मानको कृति भएको बताउँदै साहित्य संगमका संयोजक श्रीकृष्णले गर्वका साथ छठ पर्वको बारेमा दुई शब्द जानकारी राख्ने अवसर कृतिले दिएको स्पष्ट पारेका छन्।
कृतिको प्रकाशन गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवल आफ्नो निजी लगानीमा गरेका छन्।
बज्जिका, नेपाली र हिन्दी भाषामा साहित्यका विभिन्न विधाका साथै अनुसन्धानमा साढे दुई दशकदेखि क्रियाशील मित्रको यो एघारौँ कृति भएको बताइएको छ।
प्रतिक्रिया