सिकाइ र सहयोग : सिकाइका शैलीहरूको सङ्ग्रह

इनेप्लिज २०७७ मंसिर १० गते २३:०६ मा प्रकाशित

–शङ्कर अधिकारी,

नेपालको पुस्तक बजारमा खगराज बरालको सिकाइ र सहयोग पुस्तक आइपुगेको छ।शीर्षक सुन्दा र हेर्दा शिक्षण पेसाका लागि भए जस्तो लागे पनि पुस्तक भित्र चाहार्दा यो निश्चित वर्ग वा पेसाका लागि लेखिएको छैन।लेखकले विभिन्न परिवेशमा सिकेका र भोगेका विषयलाई सरल किसिमले पस्कदै सबैलाई सरल ढङ्गले बुझाउन सहयोग गरेका छन्।हुनतःलेखक शिक्षा पृष्ठभूमिबाट नै आएका छन्।शिक्षा सेवाको पृष्ठभूमिबाट नेपाल सरकारको सचिवका रूपमा कार्यरत खगराज बरालको पुस्तक सिकाइ र सहयोग साङ्ग्रिला बुक्सले २०७६ सालको चैतमा प्रकाशन गरेको छ।वि.सं.२०७५ मा नेपाल साप्ताहिकले उत्कृष्ठ पाँच ननफिक्सनमा समेटेको बरालको पुस्तक सिकाउने शैलीकै सिक्वेलको रूपमा यो पुस्तक सिकाइ र सहयोगलाई लिन सकिन्छ।लेखक आफैँले पनि यो कुरा भूमिकामा उल्लेख गरेका छन्।

पच्चीसओटा विषय शीर्षकहरूमा समावेश भएको पुस्तक आर्थिक,सामाजिक तथा साँस्कृतिक परिवेशहरू झल्किने भएता पनि पुस्तक मूलतःशैक्षिक प्रक्रिया सम्बद्ध लेखोटहरूको संग्रह नै हो।बाल अधिकार र हाम्रा व्यवहारमा उल्लिखित घटनाक्रमले म सानो हुँदा बा सँग सहर जान बस चढ्दाको सम्झना गरायो।म अलिक ठूलो भएपछि बा सँग सहर जाँदा बा सँगैको सिटमा बसेको थिएँ। कन्डक्टर भाडा उठाउन आएपछि बाले मलाई बाको अगाडि सिटको खाँदमा बस्न भन्नुभयो।कन्डक्टरले बच्चा ठूलो भएकाले पूरै भाडा लाग्ने बताए पनि बाले मेरो भाडा तिर्नुभएन।लामै समय विवाद भैरहँदा बाले मेरो पनि भाडा तिरिदिए हुने जस्तो लागिरह्यो।कन्डक्टरले बालाई गाली गरेको म अझै पनि सम्झन्छु।पुस्तकमा रहेको यो र अन्य यस्तै प्रसङ्गहरू,जुन हरेक मानिसले भोगेका हुन्छन्,ले पाठकलाई आफ्नो बाल्यकाल सम्झाउँछन्।सिकाउने आफ्नै काइदामा उल्लिखित जापानी स्वयंसेवकले शाकाहारी र मांशाहारी जनावरको फरक छुट्याउनका लागि दिएका उदाहरणहरू हाम्रा विद्यार्थीहरू लाई शिक्षण गर्ने क्रममा लागू गर्न सकेमा प्रभावकारी सिकाइ हुने लेखकको दाबी छ।बुझाइमा अर्थ र अनर्थ शीर्षकको लेखमा कुनै वस्तुको नामले कति प्रभाव पार्दछ भन्ने सन्दर्भमा रमाइलो प्रसङ्गहरू छन्।ब्राजिलमा पिन्टोको अर्थ अश्लील हुने भएकाले फोर्ड कम्पनीले नाम नै परिवर्तन गरी कोर्सेल राखेपछि ब्राजिलमा उक्त कार बिक्री भएको सन्दर्भले कुनै पनि कुराको नामले पनि ठूलो अर्थ राख्छ भन्ने बुझिन्छ।यसमा लेखकले भाषाको शुद्ध प्रयोगमा पनि जोड दिएका छन्।नाता र सम्बोधन:अनुभव र अनुभूति शीर्षकको लखमा नेपाली समाजमा विशेषगरी नयाँ पुस्ताले प्रचलनमा ल्याएका सम्बोधनका शब्दहरूमा लेखकले विमति जनाएका छन्।महिलाले श्रीमानलाई बाबा,ड्याडी भन्ने अनि पुरुषले श्रीमतिलाई ममी भन्ने,हजुरबालाई बा र हजुरआमालाई आमा भन्ने प्रचलनले सम्बोधनमा समस्या ल्याएको र कतै कतै लेखकलाई बुझ्न नै अप्ठेरो परेको प्रसङ्ग उल्लेख गरेका छन्।लेखकले यस्ता शब्दका शब्द कोशिय अर्थसहित उदाहरण दिएका छन्।यस्ता शब्दहरू प्रचलनमै आइसकेकाले प्रयोग गर्न छोड्ने भन्दा पनि शब्दकोशमै बहुअर्थी शब्दका रूपमा राख्न सकिन्छ।अङ्ग्रेजीमा पनि फादर इन ल ले महिला र पुरुष दुबैको ससुरालाई जनाउँदछ।नेपालीमा पनि बाबा,ड्याडी,ममी जस्ता शब्दहरूलाई बहुअर्थी शब्दका रूपमा प्रयोग गर्न सकिने कुरा चाहिँ लेखकले उल्लेख गरेका छैनन्।नेपालको विद्यमान अवस्थाको ठीक चित्रण प्रगतिको बाधक:नकारात्मक सोच शीर्षकको लेखले गर्दछ।नकारात्मक सोचले द्रुत प्रगतिमा प्रभाव पारेको कुरा सायद सबैलाई स्वीकार्य हुन सक्छ।अरूलाई कुनै व्यवहारका सन्दर्भमा प्रशंसा गर्ने तर त्यही व्यवहार चाहिँ आफूमा लागू नगरेकामा बानी त कस्तो राम्रो।लेखमा लेखकले गुनासो गरेका छन्।

लेखकले परामर्शदाताको सोच,निम्ता र निम्तालु,आनुवंशिकताको प्रभाव, गृहस्थीमा फकिएका गुरू जस्ता विभिन्न शीर्षकमा

 

 

 

 

शङ्कर अधिकारी

फरक फरक प्रसङ्गहरू उल्लेख गरेका छन्।साङ्ग्रिला बुक्सले २०७६ सालको चैतमा बजारमा ल्याएको यस पुस्तकमा जम्मा २४१ पृष्ठमा लेखिएको र लामा छोटा गरी २५ शीर्षकमा लेखहरू माला जस्तै उनिएको छ।यी सबै लेखहरू पठनीय र मननीय छन्। झिना मसिना प्रसङ्गहरू मन नपराउने कतिपयलाई पुस्तक पट्यार लाग्दो हुनसक्छ तर समग्रमा पुस्तक पढेर यसको मूल्य असूल गर्न सकिन्छ।

 

प्रतिक्रिया