विराटनगर, ११ पुस ।यसवर्षको दधिराज सुवेदी पुरस्कार कवि गीतकार एसपी कोइराइला(शङ्कर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गर्ने निर्णय भएको छ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’ चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि गीतकार एस पी कोइराला र रू २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७’ पाँच दशक भन्दा बढी समयदेखि पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएकाले वरिष्ठ पत्रकार विरहीलाई प्रदान गर्ने निर्णय गरिएको छ।
यस अघि उक्त पुरस्कार साहित्यकारहरू,प्राडा गोविन्दराज भट्टराई,प्राडा अभि सुवेदी,प्राडा माधवप्रसाद पोखरेल ,डा विष्णुविभु घिमिरे र पत्रकारहरू हरिबहादुर थापा,शिववहादुर कार्की किशोर नेपाल र मोहन भण्डारीलाई प्रदान गरिएको थियो।
समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू.१५ लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने गरेको समालोचकका छोरा एवं पत्रकार शरदराज सुवेदीले जानकारी दिनुभयो।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आज सो निर्णय गरेको हो।
गत वर्ष पुरस्कृत साहित्यकार घिमिरे र पत्रकार भण्डारीलाई समेत कोभिड– १९ का कारणले सो वर्ष पुरस्कार समर्पण गर्न नसकिएकोमा यस वर्ष आगामी माघ महिनामा चार स्रष्टालाई समर्पण गरिने पत्रकार सुवेदीले बताउनुभयो।
प्रतिक्रिया