२७ मे, २०२१
प्रेस विज्ञप्ती
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि नया कार्यसमिति चयन गर्न हुन लागेको मतदानको कार्यक्रमसहीतको निर्वाचन कार्यक्रम रोक्न माग सहीत सम्मानित अदालतमा परेको मुद्दामाथि अदालतले संघको पक्षमा फैसला गरेको छ । मतदानको कार्यक्रम रोक्नुपर्ने कुनै कारण नभएको भन्दै अदालतले माग दावीलाई खारेज गरिदिएको छ।
टेनिसी राज्यको डेभियसन काउन्टी स्थित सम्मानित अदालतमा साल लम्साल(सूर्य) ले चुनाव रोक्न माग गर्दै मुद्दा हाल्नुभएको थियो।पटक पटक संघलाई अदालतमा उभ्याएर संघको छवीलाई धमिल्याउने अर्थहिन कार्य हुदै आएको छ।विभिन्न वहाना र आरोप लगाएर संघको विरुद्ध अदालत धाइरहनुभएका लम्सालले जारी निर्वाचन प्रक्रियालाई समेत प्रभावित पार्न विभिन्न जाल अपनाउदै आउनुभएको छ।त्यसैको अर्को रुपको रुपमा उहावाट संघका विरुद्ध अदालतमा निर्वाचन प्रक्रिया रोक्न माग दावी सहीतको मुद्दा दिइएको हो भन्ने विषयमा संघ जानकार छ।
तर विडम्वना संघको छवीमा आच आउने खालका यस्ता गलत प्रवृत्तिका गतिविधिमा एनआरएनए अभियानका अभियन्ता भन्नेहरु र विभिन्न पदमा बस्नुभएकाहरुको पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग रहेको सामाजिक संजाल तथा संचारमाध्यमहरुवाट सार्वजनिक हुनु,त्यस सन्दर्भमा स्रोतहरुसग बुझ्दा पुष्टि समेत हुनु र संघको हित विपरित विभिन्न दस्तावेज हरु मुद्दा दिने पक्षलाई दिने जस्ता कार्य भएको घटनाले निकै गम्भिर प्रश्न चिन्ह खडा गरेको छ।संघलाई कमजोर पार्ने यस्तो गतिविधिलाई बढावा दिएर हामीले कस्तो संघ बनाउन खोजिरहेका छौं त्यो अहिलेको अहं विषय बनेर आएको छ।संघलाई अदालतको कठघरामा उभ्याउने र बाहिर बसी रमिता हेर्ने कार्यले आम अमेरिकाबासी गैर आवासीय नेपालीहरुको संस्थालाई कमजोर बनाउन मात्रै भूमिका खेल्छ यसतर्फ सचेत बन्न हामी सम्बन्धित सबैमा आग्रह गर्दछौं।संघलाई केवल नराम्रो बनाउनमा नै ध्यान केन्द्रीत गरेर विभिन्न वहानामा संघलाई विवादित बनाउने कोशिसले कसैको पनि भलो नहुने तर्फ गम्भिर भई बुझिदिनुहुनका लागि फेरि पनि सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं।
आरोप लगाउन त सजिलो हुन्छ तर त्यसले पार्ने दुरगामी प्रभावबारे ध्यान नदिने प्रवृत्तिलाई कोही कसैले पनि बढावा दिनुहुदैंन । त्यसैले फेरि पनि मुद्दा मामिलामा संघलाई नलैजानका लागि र लग्नुभएकाहरुलाई समेत त्यसवाट बाहिर निस्कन हामी अनुरोध गर्दछौं ।
र अन्त्यमा, आदरणीय अमेरिकाबासी गैर आवासीय नेपाली संघका सदस्य ज्यूहरु, विभिन्न पदमा उम्मेद्वारी दिनुभएका उम्मेद्वार ज्यूहरु, निर्वाचन आयोग, संचारकर्मी मित्रहरु एवं समस्त अमेरिकाका गैर आवासीय नेपालीहरुमा निर्वाचन कार्यक्रमको कुनै फेरवदल नहुने यही मे २९ र ३०, २०२१ का दिन वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि कार्यसमिति निर्वाचित गर्न, आइसिसी सदस्यहरु चुन्न र च्याप्टरहरुमा नया कार्यसमिति निर्वाचित गर्न मतदान हुने पनि सम्पूर्णमा जानकारी गराउन चाहन्छौं । निरन्तर सहयोगका लागि सहयोगी सबै प्रति संघ आभार व्यक्त गर्दछ ।
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका
प्रतिक्रिया