राष्ट्रीय भलिबल खेलाडी ज्ञानेन्द्र बिष्टको निधन भएको छ । कोरोना भाइरसको संक्रमणका कारण केही दिनयताबाट अस्वस्थ रहेका बिष्टको नेपाली समय अनुसार शनिबार अपरान्ह नेपाल एपीएफ अस्पताल बलम्बु काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो ।
बिष्ट नेपालको राष्ट्रीय भलिबल टिमका लागि निकै भरपर्दा खेलाडी थिए । उनको उत्कृष्ट योगदानका कारण देशले भलिबल खेलमा कयौं उपलब्धि हासिल गरेको कुरा नेपाल भलिबल संघले जनाएको छ ।
विभागीय टोली नेपाल एपीएफ क्लबका खेलाडी तथा प्रशिक्षक समेत रहेका ४१ वर्षीय बिष्ट पछिल्लो समय कैलालीको टिकापुरस्थित भलिबल ट्रेनिंग सेन्टरका प्रमुख प्रशिक्षकको रूपमा रहेर भलिबल खेममा नयॉ प्रतिभा उत्पादन गर्ने कार्यमा जोडदिदै आएका थिए ।
नेपालको भलिबल खेललाई देश विदेशमा चिनाउने र एउटा उचाइ दिने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक अब्बल ,सक्षम एवम् क्षमतावान भलिबल खेलाडीको रूपमा बिष्टलाई चिनिने र राष्ट्रले भलिबल खेलका एक उज्ज्वल नक्षेत्र गुमाएको कुरा सम्बन्धित क्षेत्रका महानुभावहरूले उल्लेख गरेका छन् ।
बिष्टको आइतबार स-सम्मान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । छोरा, छोरी र श्रीमतीसहित परिवारका साथ काठमाण्डौंमा बसोबास रहेको बिष्टको असामयिक निधनले दुखी र मर्माहित बनाएको छ ।
प्रतिक्रिया