फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का अग्रपंक्तिका प्रख्यात भकुण्डो खेलाडी लियोनल मेसीलाई कोरोना संक्रमण देखिएको छ । उनी बाहेक उक्त भकुण्डो टोलीका थप तीन खेलाडी पनि भाइरसको चपेटामा परेका छन् । पीएसजीले आइतबार यो जानकारी दिएको हो ।
अर्जेन्टिनाका बिश्व प्रसिद्ध भकुण्डो फुटबल खेलाडी मेसीले गत वर्ष अगस्तमा आफ्नो बाल्यकालको क्लब बार्सिलोना छोडेर फ्रान्सेली क्लब पीएसजी गएका थिए । ३४ वर्षीय यी खेलाडीले उक्त खेल टोली (क्लब)का लागि १६ खेलमा ६ गोल गरेका छन् ।
फ्रेन्च कप भकुण्डो (फुटबल)मा पीएसजीले सोमबार राती तेस्रो तहको टोली भेनिससँग भिड्ने भएको छ । यसअघि पनि मेसी सहित टोलीका ४ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।
पीएसजी टोलीले शनिबार राति एक विज्ञप्ति जारी गर्दै कर्मचारी (स्टाफ)का एक सदस्यमा पनि कोभिड–१९ संक्रमित देखिएको बताएको छ । त्यतिबेला कसैको नाम खुलाइएको थिएन । तर पछि आइतबार टोलीको चिकित्सा समाचारमा क्लबले संक्रमित खेलाडीको सूचीमा मेसी ,युआन बर्नाट, सर्जियो रिको र १९ वर्षीय नाथन बिटुमाजालाको नाम जानकारी गराएको छ ।
प्रतिक्रिया