पोखरामा महिला भलिबल खेलाडीलाई मन्त्री मनाङ्गेले गरे यस्तो सम्मान-भिडियो सहित

इनेप्लिज २०७८ पुष १९ गते १५:१३ मा प्रकाशित

एसिएन सिनियर सेन्ट्रल जोन महिला भलिबल विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ।गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा टिम क्याप्टेन अरुणा शाही, उषा भण्डारी, शान्तिकुमारी थारु र सोफिया पुनलाई प्रतिव्यक्ति रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो। चारैजना खेलाडीले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए।

उनिहरुलाई यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले सम्मान गरे।

कार्यक्रममा बोल्दै यूवा तथा खेलकुदमन्त्री राजीव गुरुङले खेलाडीहरुले उपाधि जितेर देशको शिर उचो राख्ने काम गरेको बताउदै मन्त्रालयले सदैव खेलाडीहरुको हकहितमा काम गर्ने बताए । आगामी बजेटमा खेलकुुदलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ।

परिषद्का सदस्य सचिव गुरुङले भलिबल नेपालको निकै लोकप्रिय खेल भएको उल्लेख गर्दै खेल संस्कृतिको अभिवृद्धिमा आफूहरुको जोड रहेको बताए।उनले उज्वेकिस्तान जस्तो बलियो टिमलाई हराएर उपाधि जित्न सफल भएको भन्दै खेलाडीहरुको प्रशंसा गरे।

उनले नवौं राष्ट्रिय खेलकुदमा पनि उपाधि जित्ने उद्देश्यका साथ अभ्यास गर्न खेलाडीहरुलाई आग्रह गरे ।त्यस्तै टिम क्याप्टेन शाहीले सम्मानले आफूहरुलाई हौसला मिलेको तर यतिले मात्र पर्याप्त नहुने भएकाले सरकारले खेलाडीहरुको वृत्ति विकाशका लागि अझै लगानी गर्नुपर्नेमा जोड दिइन् । गत मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया