आईसीसी टी– ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालकाे सानदार जित

इनेप्लिज २०७८ फागुन ६ गते ११:२४ मा प्रकाशित

काठमाडौं।आईसीसी टी– ट्वान्टी विश्वकप ग्लोबल छनोट ए को पहिलो खेलमा घरेलु टोली ओमानलाई हराउँदै नेपालले शानदार शुरुवात गरेको छ।

दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान गएको नेपालले पहिलो खेलमै ओमानविरुद्ध ३९ रनको रोमाञ्चक जित निकालेको हो।१ सय १८ रनको झिनो लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रन बनाएर अलआउट भयो।

खराब ब्याटिङ गरेको ओमानका लागि विकेट किपर ब्याटर नसिम शुखीले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको तेस्रो बलमै ओपनर कश्याप प्रजापतिलाई शून्यमा आउट गर्दै ओमान माथि दबाब बनाएका थिए।

लगातार विकेट गुमाएको ओमानले ३५ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो।ओमानलाई सस्तैमा रोक्न कमलसिंह ऐरीले ३ विकेट लिए।

त्यस्तै,कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए।अभिनाश बोहरा र जितेन्द्र मुखियाको नाममा १–१ विकेट रह्यो।

यसअघि,अल अमरेत क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङ थालेको नेपालले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १७ रन बनायो।

खराब शुरुवात गरेको नेपालले पहिलो ओभरमै ओपनर आसिफ शेखलाई ४ रन र तेस्रो ओभरमा कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो।दुवै ओपनर आउट हुँदा नेपालको खातामा मात्र १२ रन थियो।त्यसपछि आएका ज्ञानेन्द्र मल्लले पाली सम्हाल्ने कोशिस गरेपनि उनी १५ रन बनाएर पेभेलियन फर्किए।ज्ञानेन्द्र आउट भएसँगै ३ विकेट गुमाएर ३३ रनको अवस्थामा पुगेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ र कप्तान सन्दीप लामिछानेले नटआउट १६ रन बनाए।

ओमानका स्पिनर खवर अलीले ३ र बिलाल खानले २ विकेट लिए।जितसँगै समूह बी मा नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।

प्रतिक्रिया