महिला क्रिकेट प्रतियोगिता– मोरङ र झापा बिजयी

इनेप्लिज २०७८ फागुन २१ गते १५:५२ मा प्रकाशित


विराटनगर,२१ फागुन।महिला क्रिकेटको विकास र अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज देखि विराटनगरमा प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’प्रतियोगिता सञ्चालन भएको छ।

नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट सङ्घद्वारा संयुक्त रुपमा विराटनगरको वैजनाथपुर क्रिकेट खेल मैदानमा आज भएको उद्घाटन खेलमा मोरङ र झापा जिल्ला क्रिकेट टोली विजयी भएका छन्।

पहिलो खेलमा मोरङले मदेश प्रदेशको सप्तरीलाई १ सय ५१ रनको अन्तरले पराजित गरेको छ।

मोरङले निर्धारित २० ओभरको खेलमा एक विकेट गुमाई १९४ रनको बनाएको थियो भने सप्तरीले १४ दशमलव एक बलमा ४३ रनमा अलआउट भएको छ।

यसैगरी दोस्रो खेलमा नेपाली अन्तर्राष्ट्रिय खेलाडि सम्मिलित झापाले सुनसरीलाई ९१ रनको अन्तरले पराजित गरेको छ।

झापाले निर्धारित २० ओभरमा तीन विकेट गुमाई १४० रन बनाएको थियो भने सुनसरीले १८ दशमलव दुई बलमा सवै विकेट गुमाई ४९ रन मात्र बनाउन सकेको थियो।

आइतबारको पहिलो खेल सप्तरी र सुनसरी तथा दोस्रो खेल झापा र मोरङ वीच हुने फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिनु भयो। प्रतियोगिता यही फागुन २४ गतेसम्म हुने संचालन हुने छ।

प्रदेश नं १ को झापा,मोरङ,सुनसरी र मधेश प्रदेशबाट सप्तरी जिल्ला गरी चार समूहले प्रतियोगितामा भाग लिएका छन्।

प्रतिक्रिया