प्रदेश नं १ सरकारद्धारा भलिवल खेलाडीको विदाई

इनेप्लिज २०७८ चैत ५ गते १४:०४ मा प्रकाशित

विराटनगर,५ चैत।धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ।

सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट विदाइ गर्नुभएको हो।

खेलाडीहरुलाई खेल पोशाक र राष्ट्रिय झण्डा हस्तान्तरण गर्र्दै सामाजिक विकास मन्त्री राईले उच्च मनोवलका साथ खेलमा सहभागी हुन आग्रह गर्नुभयो।मन्त्री राईले सो प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त भएमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत बताउनुभयो।

प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहनु भएको छ । टिममा प्रकाश लावती लिम्बु (झापा),सन्देश विष्ट (भोजपुर), दिलिप राई (ओखलढुंगा),मिलन श्रेष्ठ (तेह्रथुम),निश्चल थापा ( उदयपुर),अनिल श्रेष्ठ (ओखलढुंगा), यामबहादुर कटुवाल (ताप्लेजुङ),अभिशेक थापा (ओखलढुंगा), हिमाल प्रसाइँ (ताप्लेजुङ),संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) सहभागी हुनेछन्।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनोट प्रदेश नं १ भलिवल संघसँगको सहयोगमा सामाजिक विकास मन्त्रालयले गरेको थियो।खेलाडीलाई सामाजिक विकास मन्त्रालय र प्रदेश नं १ भलिवल संघको सहकार्यमा दमक र धरानमा १५ दिनको वन्द प्रशिक्षण सञ्चालन गरिएको थियो।

विदाई कार्यक्रममा मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री,प्रदेश १ भलिवल संघका अध्यक्ष हरीबहादुर निरौला, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा र पुर्व क्याप्टेन ऋषिराज आचार्य तथा प्रदेश भलिवल संघका पदाधिकारी,सामाजिक विकास मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

सात वटै प्रदेश,तीन विभागिय टोली नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाल आर्मी सहित १० टिम सहभागी हुने प्रतियोगिता चैत्र ७ देखि १२ सम्म हुनेछ।

प्रतिक्रिया