मदन बस्नेत, क्यानाडा। अनेकौं अन्योलता र लामो समयसम्मको प्रतीक्षा पश्चात् अन्ततः नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानाडा आईपुगेको छ। स्थानिय नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसिसिसि) का अध्यक्ष किरोज श्रेष्ठ लगायतको टोलीले नेपाली टिमलाई एयरपोर्ट पुगेरै भब्य स्वागत गरेको थियो।
क्यानाडा भ्रमणका दौरान नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल जुलाई ४ र दोस्रो एकदिवसीय खेल जुलाई ५ मा हुँदैछ भने त्यस अघि भोलि जुलाई १ मा ओन्टारियोसँग एउटा अभ्यास खेल पनि खेल्ने छ।
अनेकौं बाधा अड्चन र अबरोधहरुलाई छिचोलेर लामो प्रतीक्षा पछी क्यानाडा भ्रमणमा आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा जुलाई ३ आईतवारका दिन मिसिसागा स्थित प्रीत प्यालेस ब्याङ्क्वेट हलमा एउटा “कम्युनिटी मिट एण्ड ग्रीट” कार्यक्रमको आयोजना पनि गरिएको छ।
उक्त सम्मान कार्यक्रममा क्यानाडामा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु र खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहने छ। नेपाली क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले उक्त एतिहासिक क्षणलाई सफलताका साथ सम्पन्न गर्न सबै क्यानाडाबासी खेलप्रेमी नेपाली माझ साथ, समर्थन र सहयोगकोलागी अपिल गर्नुभएको छ।
क्यानाडा भ्रमण लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न जाने छ। नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।
क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ, बिनोद भण्डारी रहेका छन्।
– मदन बस्नेत, क्यानाडा।
प्रतिक्रिया