पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ । पूर्व राष्ट्रपति ट्रम्पका अनुसार न्यूयोर्क शहरमा उनको घरमा मृत्यु भएको हो ।
इभाना ट्रम्प डोनाल्ड ट्रम्पकी पहिलो पत्नी थिइन् । दुवैका तीन सन्तानहरुमा क्रमस डोनाल्ड जूनियर, इभान्का र एरिक ट्रम्प हुन् ।
हाम्री आमा अविश्वसनीय महिला हुनुहुन्थ्यो । व्यवसायमा सशक्त ,एक चम्किलो सौन्दर्य, र ध्यान राख्ने आमा र एक साथी हुनुहुन्थ्यो भनि ट्रम्प परिवारले एक विज्ञप्तिमा जनाएका छन् ।
एरिक ट्रम्प बिहीबार दिउँसो आफ्नी आमाको आवासगृह भवनबाट बाहिर निस्कँदा उनले पत्रकारहरूलाई भने, “यो एकदमै दुखद दिन हो।”
न्यूयोर्कको म्यानह्याटनका स्वास्थ्यकर्मीहरूलाई हृदयघातको लागि बोलाईएको थियो । स्वास्थ्यकर्मीहरुले ७३ बर्षिय इभाना ट्रम्पलाई बिहिबार जुलाई १४ का दिन दिउँसो १२:३० बजे उनि बसेको स्थानमा फेला पारेका थिए । उनलाई घटनास्थलमा मृत घोषित गरिएको न्यूयोर्क प्रहरी विभागले बताएको छ ।
प्रहरी स्रोतका अनुसार इभाना ट्रम्प उनको आवासगृहको सिँढीको मुनि अचेत र अनुत्तरदायी अवस्थामा फेला परेकी थिइन् ।
यता उनको निधन पछि आफ्नो सामाजिक संजालमा मार्फत एक विज्ञप्तिमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इभानालाई “अद्भुत, सुन्दर र गजव महिला, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताईन ” भनेर स्मरण गरेका छन् ।
इभाना ट्रम्प पूर्व चेकोस्लोभाकियामा शासनमा हुर्किएकी थिइन्। उनले १९७० मा देश छोडिन र १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । उनले ट्रम्पको व्यापारमा वरिष्ठ कार्यकारीको रूपमा वर्षौंसम्म काम गरिन्।
इभाना र ट्रम्पको सन् १९९२ मा सम्बन्धविच्छेद भएको थियो । एबीसी न्यूजमा सन् २०१७ को अन्तर्वार्तामा इभाना ट्रम्पले आफ्नो पूर्व पतिलाई माफ गरेको बताएकी थिइन् । कहिलेकाही कुराकानी पनि गर्ने बताएकी थिइन ।
प्रतिक्रिया