राजकुमारसंग उसको स्कुल पढ्दाखेरीको पुरानो साथी प्रमोदसँग एकदिन बाटोमा भेट हुन पुग्यो । बाटोमा उनीहरु भेट हुँदा प्रमोदले राजकुमारलाई “एकदिन राजकुमार तिमीलाई म मेरो घरमा खाना खुवाउन बोलाउँछु नि” भन्यो । राजकुमारले तिमीले खाना खान बोलायौ भने म आइहाल्छु नि भन्यो ।
उनीहरु दुईजना भेट भएको डेढ वर्ष बितेपछि राजकुमार आफ्नो विशेष काममा घरबाट बाहिर निस्कदा प्रमोदको घरको बाटोबाट जानु परेकोले काम सकेर घर फर्कदा प्रमोदको घरभित्र पस्यो । राजकुमारलाई प्रमोदको छोराले “कसलाई खोज्नु भएको ?” भन्यो । “मैले मेरो स्कुलमा पढ्दाखेरीको साथी प्रमोदलाई खोजेको हुँ” राजकुमारले भन्यो । “मेरो ड्याडीलाई खोज्नु भएको रहेछ म ड्याडीलाई बोलाइदिन्छु नि” भनेर उसले आफ्नो ड्याडीलाई बोलायो ।
प्रमोद र राजकुमार करिब आधा घण्टाजति गफामा भुल्न पुगे । तर प्रमोदको घरमा उसलाई एक कप चिया खाने कि भनेर कसैले सोधेनन् । ऊ एक कप चिया सम्म नखाएर प्रमोदसंग छुट्टिएर आफ्नो घरतर्फ फर्कियो । आफ्नो घर फर्कदै गर्दा राजकुमारले प्रमोदले मलाई एकदिन खाना खुवाउन बोलाउछु भनेको कुरा मलाई अहिले सम्म सम्झना छ तर उसले म उसको घरमा आज भेट्न पुग्दा एक कप चिया सम्म खुवाउन सकेन यस्ताले खाना खान बोलाउछ भनेर कसरी पत्याउने भन्यो ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
लघुकथा
प्रतिक्रिया