स्वागता छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ५४” सम्पन्न !

इनेप्लिज २०७९ चैत १ गते ११:१२ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ फागुन २७ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५४” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय रामशरण न्याैपाने र अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १६ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत स्वागता छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय न्याैपाने र खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई स्वागता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: स्वागता छन्द :::::
गण: र न भ गुरु गुरु
गण सङ्केत: २१२ १११ २११ २२
( सात अक्षरमा विश्राम)
~~~~

अभ्यासका क्रममा सङ्कलन भएका स्वागता छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू

[१]
१.
कीर्ति शेष रहला गर केही
भष्म हुन्छ बुझ यो नरदेही।
२.
न्याय मौन रहने कति होला
आँसुले छ धमिलो अति खोला।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
जाग्नु पर्छ सबले नडराई
न्याय खाेज्न अति भाे कठिनाई।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
देश शेष हसुरेर बिगारे
श्रोत तन्तन पिएर निखारे ।
२.
राष्ट्रभित्र अति देख्छु भसारे
दाम माग्न परदेश पधारे ।
✍️ चूडा निर्भीक
सिम्पानी गोरखा ।
[४]
१.
मर्नुपर्छ सबले, सच जान,
व्यर्थ छोड रिस यो, अभिमान ।
२.
बन्छ एकदिन यो, तन खाक,
आउनेछ मिति भै, परिपाक ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[५]
१.
खेलको मधुर भाषण गर्छौ ,
जालझेल अब भो, सब पर्छौ।
२.
खेलमा सब परे अब खोर ,
खेल मै तब रहे सब चोर ।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[६]
१.
आज नै अजरको, नव खानी
लौ समीप सर है, अब रानी ।
२.
प्रेमले घुलित त्यो,भर झोला
साथमा सहज लौ, अब होला !
✍️ प्रेम थापा “मन”
बाग्लुङ
[७]
१.
देवता हुनु तिमी अब हाम्रो ,
भावना बुझिदिने बन राम्रो !
२.
आँतमा भर दया मृदु बोली,
पूर्णता गर सबै दिल खोली।
✍️ बिबस पारदर्शी
झापा
[८]
लाल त्यो कमलमा, पनि कालो,
फाल मैल जनले, सब जालो !
✍️ आर्त अकुलीन
कैलाली
[९]
धारिला वचनले मन रेटी
बस्नुहुन्छ किन याद समेटी ।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[१०]
ठान्नुपर्छ सहजै अभिभारा,
मान्नुपर्छ तब जीत छ सारा।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[११]
१.
अास छैन मनको,जल धारा,
खोज्नुपर्छ रसिलो,पल सारा।
२.
रोज्नु खोज्नु कहिले,सब चोला,
बज्र पर्छ जहिले ,मन रोला।
✍️ होम प्रसाद
धरान,सुनसरी ।
[१२]
१.
भोट माग्न सब ती, लय कस्छन्,
नोट दैन्य विजयी, सम बस्छन् ।
२.
स्वर्ग जान पथमा, दुख भागोस्,
अर्चना गरिरहूँ, सुख आओस् ।
✍️ म्यामराज राई
भोजपुर
[१३]
१.
त्याग्नु पर्छ सबले अब अल्छी
पार्नु पर्छ सुखका दिन बल्छी।
२.
मार्नु पर्छ मनको रिस राग
बन्नु पर्छ इलमी सब जाग ।
✍️ बाबुराम गौतम
गुल्मी
[१४]
१.
छन्ददार कविता,कसिला झन्
भावना हृदयका, रसिला छन् ।
२.
प्रेमको पवनले छुन लाग्यो
रूपसी सँगसँगै मन भाग्याे ।
✍️ इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर
[१५]
१.
सोच झैँ असल जीवन हुन्नन्,
आज त्यो धन नभै कन छुन्नन् ।
२.
कामको असल सित्तल तापी,
नामको नगर गौरव थापी ।
✍️ रामप्रसाद पुरी
बादेल खोटाङ
[१६]

दुःख गर्दछु म पौरख राजी,
छन् यहीँ सबल दुर्जन काजी ।

भ्रष्ट दुष्ट सबका ठग माने,
देशमाथि दलका बल ठाने।
✍️ भगवती दवाडी
झापा

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया