सर्बज्ञसँग साहित्यिक कुरा : क्यानाडाका साहित्यकार मदन राज थापासँगको अन्तरवार्ता : शृंखला -५

इनेप्लिज २०७९ चैत ११ गते ११:४६ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले साहित्यकार मदन राज थापासँग गरेको साहित्यिक चर्चा :

१ ) आजकल तपाइँ अध्ययन र लेखनमा कत्तिको ब्यस्त हुनुहुन्छ ?

ब्यस्त ! हो , म ब्यस्त नै छु , नभए त अस्तब्यस्त हुन्छु कि भन्ने डर लाग्छ । “नानी देखि लागेको बानी” भनेझै पढ्न बानी छुटेन । सानैदेखि साहित्यक परिवेशमा हुर्किइयो । शुरु शुरुमा बिधार्थी छदा कथा र उपन्यास पढन रहर लाग्थ्यो । पहिलो पटक रंदगे रिमि ( मृगेन्द्र शमशेर ?) को “एक पापको कथा “, उपन्यास पढेर मेरो साहित्य पढने यात्रा शुरु भएको थियो । हिजोआज , जसै उमेर ढल्किदै गयो , साहित्य पढ्नमा अलि “सेलेक्टिव” होइदो रहेछ । पहिला रचनाकारको नाम पडयो, बिषय हेर्यो अनि पुस्तक पल्टाउन थाल्यो ।

मैले दिनभरमा आफुलाई प्राप्त समयमद्धे केहि समय अध्ययन र लेखनको लागि छुट्याएको हुन्छु । अध्ययनमा ब्यस्त हुदा म यो कोलाहल बाट टाढा हृदयको एकान्तमा चूपचाप आफुले आफैलाई हेर्ने गर्छु । केहि अपूर्व भावहरु स्वयंमेब अगाडि आउछन् जसको स्वरलहरीमा सारा अन्तर भावतरंग बहन थाल्छ । अनी यो तन , मन , प्राणले एक बोझबाट मुक्ति पाएर हल्का भएको महसुस गर्छु । जति जति पुस्तक पढ्यो , त्यति नै नया स्फूर्ति, नवीन ज्योति र नौलो उमङ्गको अनुभूति गर्छु ।

हुनत मानिस स्वभावैले नचाहेर पनि सोचमग्न भएर ब्यस्त रहनछन् । गत्यामक चिन्तनमा आबध्य यी सबै अनुभूति हुन् । यी अनुभूतिमद्धे केहि मात्र कलात्मक ढंगबाट भाबात्मक रुपमा अभिव्यक्त हुन्छन । त्यस्ता अभिव्यक्तिले सहृदयीको भावमा पनि सम्बेदना जगाउन सक्छन, अनि सक्छन आनन्दानुभूतिमा तरंगित गराउन/ खासमा यी र येस्तै अनुभूतिले चाही साहित्यको रुपमा स्थान सुरक्षित राख्दो रहेछ । व्यस्तताको सन्दर्भ छ ।

यस पटक पनि, अघिल्लो वर्षमा झैँ, जनकवि केशरी धर्मराज थापाका प्रकासित, अप्रकासित २०/२२ गध्य लेख रचनाहरुको सम्पादनमा ब्यस्त छु , यो वर्ष प्रकासित हुन्छन । केहि आफना लेखनमा पनि समय दिएकै छु ।

२ . तपाइँले साहित्य , जीवन र दर्शन लाई कसरि हेर्नु हुन्छ ?

साहित्य शब्द सुन्नासाथ यसले “सिग्नीफाईड” गर्ने बिषयबस्तु जस्तै- विचार , भाव र कल्पनाको स्वरूप स्मरण मा आउछ । बास्तबमा , मनमा उत्पन्न बिचार हाम्रो भावमा मिसिएर कल्पनामा पल्लवित हुदै अनुकूल स्थिति पाउनासाथ तीब्र अनुभूतिको रुपमा स्वाभाविक ढंगबाट अभिब्यक्त्य हुने रागात्मक रचना हो साहित्य । मनुष्यको राग -विराग , आसक्ति – अनासक्ति, स्वीकार -अस्विकार , ग्रहण -त्याग आदि क्रिया -प्रतिक्रिया प्रति उत्पन्न मन:स्थितिको यथार्थ र विश्वसनीय सहि अंकन ब्यन्जित गर्छ साहित्यले । साहित्यका लागि चाहिने ” कच्चा पदार्थ ” अर्थात् बिषय बस्तु त् जो कसैले पनि उ बाचेको समाज र परिवेशबाट लिने हो, जहाँ जीवन दर्शन लुकेको हुन्छ । अनि त्यसलाई रचनाकारले आफ्नो “भट्टी” बाट परिपाकपूर्ण कला बिशेस वनाई अभिव्यक्त गर्छन । त्यो मानबीय जीवनको सशक्त अभिव्यक्ति बन्छ ।

सामान्यत : जीवन शब्दको प्रयोग जीवधारिहरुको क्रियाकलाप , उसको मान्यता , बिश्वास र अनुभवको लागि प्रयोग भएको देखिन्छ । मूलत: जीव र जगतका बीच क्रिया र प्रतिक्रिया को अर्को नाम नै जीवन हो ।

जीवन बाहिर देखिएको हाम्रो रुप , बाह्य साक्ष्य आदि जीवन होइन । अन्त:साक्ष्य – हो जीवन । जन्मका साथ प्राप्त भएको जीवन धुस्रियको फ़ुस्रियेको चट्टान हो । घन र छिना लिएर अब मूर्तिकार झैँ त्यस चट्टान बाट सुन्दर मूर्ति निर्माण गर्ने या कुरुप नै छाडिदिने , परिस्कृत गर्दै आफुलाई सार्थक बनाउने या त्यसै छोड्ने, येस्तै निर्माण र यथास्थितिमा राखिदिने प्रवृतिको एउटा प्रक्रिया हो जीवन । मानिसको मनमा अनबरत संघर्ष चेतनाको उपस्थितिले उसलाई थकाई मार्न दिदैन। , निरंतर चलिरहनु जीवन हो । हरेक क्षणमा सशक्त भइ जिउनु जीवन हो ।

जिउने यस क्रममा, जीवनका विभिन्न प्रस्नका सम्यक उत्तर दिन्छ दर्शनले । दर्शन जीवन सापेक्ष्य हुन्छ । जीवनको सापेक्ष्यतामा दर्शनको सत्ता महत्ता देख्न पाइन्छ । दर्शनले मानिसको संकट र बेदनाको बेला बाणी प्रदान गर्दै त्यसको तथ्यात्मक अभिव्यक्ति गर्छ । जीवन र जगतका समग्र सत्यको खोज, जीवन र सत्ताका गहन रहश्य लाई, तत्व ज्ञानलाई उजाकर गर्न अनबरत लागि रहने प्रयासको नाम हो दर्शन । अनुभूति, भाव, विचार अनि कल्पनाको सान्निध्य पाएर व्यक्तिमा एक प्रकारको समस्टिगत धारणा बन्दछ जसलाई हामी जीवन दर्शन भन्दछौ ।

३ . नेपाली साहित्यको भबिष्य कस्तो देख्नु हुन्छ ?

भविष्यको कुरा गर्दा बिगत र बर्तमान जोडिएर आउछन् । बिगतको आलोकमा बर्तमानलाई प्रकाशित गर्ने हो अनि यसैको आधारशिलामा भबिष्य निर्भर गर्छ । अहिलेको समाजमा बिध्यमान विभिन्न मूल्यलाई जीवन्त राखेर त्यसलाई आफ्नो बैचारिक परिबेशमा गम्भीरतासग लेख्न साहित्यकारहरुमा अझ बढी जिम्मेवारी थपिएको छ । त्यसप्रति चनाखो बन्नु पर्ने देखिन्छ । यसैमा नेपाली साहित्यको भबिष्य निर्भर गर्छ । समय बिशेसमा लेखिने वास्तविक (जेनुइन ) लेखन भन्दा कहिलेकाही साधित ( डेरीभेटिव ) लेखनले साहित्यक मूल्यबत्तालाई बहन गर्ने भएकाले यस तर्फ सचेत भएर अगाडी बढेमा साहित्यको फाट उज्ज्वल देख्छु । हुनत अहिले सहित्यकेंद्रित विभिन्न संघ संस्था हरु खुलेका छन् जस्तै – अनेशास, यस्ता संघ संस्था बाट गरिने विभिन्न कार्यक्रमले गर्दा भबिष्य उज्जल देख्छु ।

४ . अनेशास जस्तो साहितिक संस्था लाई कसरि हेर्नु हुन्छ :

यो एउटा आन्दोलन हो – बिश्वब्यापी / आफ्नो संस्कृति , साहित्य , भाषा ,धर्म र कलाको क्षेत्रमा बिशिस्टता स्थापनार्थ र युगयुग सम्म निरन्तरता दिनको लागि विभिन्न कोणबाट आवाज दिन जन्मेको एउटा संस्था । जसरि पानीका कणहरु आपसमा मिलेर त्यहाँ एउटा “बहाब ” बा प्रबाह पैदा गर्ने गतिशिलता उत्पन्न हुन्छ अनि पानि बहन थाल्दछ त्यसरी नै साहित्यका विभिन्न विधाका बीच र विभिन्न स्थानमा रहेका साहित्यकारहरु बीच आपसी समन्वय सद्भाव राखेर अविरल गतिमा उत्कर्ष तर्फ गतिमान रहेको संस्थाको रुपमा म यसलाई हेर्छु । प्रत्येक साहित्यकारहरुको विचारधारा , वैयक्तिक बिशिस्टताको कारण देखिएको परस्पर गहन अन्तर लाई आत्मसात गर्दै श्रस्टाहरुको “सब्जेक्तिभिटि” को पृष्टभूमिमा सहयोग पुर्याईरहेको संस्था मान्दछु म अनेशासलाई ।

५ . शुरुका दिनमा साहित्यमा लाग्न कसरि प्रेरणा आयो ?

प्रेरणाको मूल आधार हाम्रो आदिम भाव हो । साहित्यको सम्बन्ध यहि मूलभावसग हुन्छ जसको अभिव्यक्ति सोझै हुन्छ । मभित्र सुषुप्त अबस्थामा रहेको भाव एउटा निश्चित परिबेशमा अभिव्यक्ति हुन गयो । यसले भित्र अन्तरमा घच्घचायो/ बिद्यार्थी छदा , रेडियो नेपालबाट संचालन हुने “बाल बाटिका ” कार्यक्रममा नियमित जसो भाग लिने गर्दथे । एकपटक कथा प्रतियोगितामा “दोस्रो” भएर पुरस्कार प्राप्त गर्ने मौका मिल्यो र त्यहि कार्यक्रम बाट कथा पनि प्रसारित भएको सुन्दा मन प्रफुल्ल भएको अनुभव गरे / अन्तत : मन त्यतैतिर तानियो ।

हामीले देखका छौ , साहित्यले जहिले पनि अमानबीयका बिबिध रुपको बिरोधमा सशक्त आवाज उठाउने गर्छ। , समाज बिरोधि र अराजकतत्वबाट मुक्ति दिलाउने प्रयास गर्छ । यो पनि देखेका छौ कि साहित्यका अनेक विधाले जनबिरोधी परम्परा र समाजको मानसिकतालाई परिस्कार गर्दै त्यसलाई सामाजिकीकरण गरेका छन् । साहित्य समाजसापेक्ष्य हुदा मानबीय संस्कृतिको दृस्टीबाट अत्यधिक मूल्यवान हुन्छन । साहित्यमा प्रतिबिम्बित बिश्व समाज र जीवनजगत पढदा पढ्दै आफुलाई पनि आफ्ना भावनाहरु अभिव्यक्त गर्न उपयुक्त बाताबरण प्राप्त हुन गयो अनि त्यसैबाट प्रेरणा जागेर आयो ।

. तपाइलाई साहित्यमा राम्रो गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?

सर्बप्रथम त गुणस्तरयुक्त साहित्य नै सृजित हुनुपर्छ । खासमा साहित्यका पाठकमा पनि त्यसै अनुरुपको पाठकीय गुण हुन आबश्यक छ । दुबैको समान हृदय नभइ साहित्यको मर्मबोध हुन सक्दैन । सहृदय भनी सर्जक र पाठक दुबैलाई उसै भनिएको होइन । त्यसपछि अध्ययनको जरुरि छ । ब्युत्पतिका लागि । अनि साहित्यका बिबिध विधाका माध्यमबाट ज्ञानको श्रीवृद्धिमा अथक योगदान पुर्याउनु पर्ने हुन्छ । विभिन्न समयमा भएका बैचारिक आन्दोलनहरुबाट साहित्य र समाजमा पर्न गएका प्रभाव बारे अनुसन्धान गरी जानकारी अध्यावधिक राख्नु पर्छ । विभिन्न भाषा भाषीहरुका साहित्यको बृद्दि गर्नुका साथै सम्बध भाषाका साहित्यकारहरुलाई यथोचित प्रोत्साहन पनि गरिनुपर्छ ।

७ . अहिले तपाइले सोचे जस्तो लेख्न र अध्ययन गर्न सक्नु भएको छ ?

म सोचे जस्तो लेख्न प्रयासरत छु । आधारभूत सामग्री तयार पार्छु तर उचित मात्रामा तालमेल मिल्न नसकेकाले “पेडा ” बनाउन खोजेको “बर्फी ” बन्छ , अनि यसैमा चित्त बुझाउछु । समाजका तथ्यलाई मौलिक ढंगले प्रस्तुत गरिएन भने त्यसमा रोचकता हुदैन /जब रोचकता छैन भने पाठकहरु कसरि आकर्षित हुन्छन र ?

८ . नेपाली साहित्य र साहित्यकारको भबिष्य कस्तो देख्नु हुन्छ ?

साहित्यमा चराचर जगत , तिनका जीवनपद्दति र मानबीय समाज आदिको प्रतिबिम्बन कुनै न कुनै रुपमा भएको हुन्छ । परिबर्तन नै सुन्दरताको कारक हो । भन्छन नि, Changing is the beauty of Nature भनेर । प्रकृति

परिबर्तनशिल भएपछि त्यसबाट पृथक नरहने साहित्य अपरिबर्तनशिल हुन सक्दैन । सामयिकता र परिबर्तित समाजको आबश्यकतालाई सम्बोधन नगर्दा त्यसप्रति पाठकको रुचि बिकर्षित हुन जान्छ । अत: कालक्रममा नेपाली साहित्य परिबर्तन हुदै जान्छ । परिबर्तनको दिशा निर्धारण गर्ने पनि समयले नै हो । आशा गरौ , मात्रात्मक भन्दा गुणात्मक श्री वृद्धि हुदै जावोस नेपाली साहित्यको , अहिले यति मात्र भन्न सकिएला ।

साहित्यकार स्वभावैले संबेदनशील , सिर्जनशील हुन्छन । भाव प्रबण प्राणीको प्रकृति नै नवीन सृजना प्रति नित्य निरन्तर अभिमुख भैरहन्छ । उ केहि न केहि रचना नगरी रहनै सक्दैन, भलै विधा र त्यसको स्तरीयताको तारतम्य सर्जकको योग्यताले नियमन गरेको होवोस । वरिपरीका घटना बिशेस परिस्थितिबाट प्रभावित हुदै आफ्नो हृदयले पक्रेका भावलाई रस धारामा प्रवाहित गर्दै त्यसैमा निमग्न बनेर आत्मा -बिभोर बन्छन ।

मानब र प्रकृतिको समन्ज्यस्य स्थापित गर्ने विभिन्न कोण बाट भिन्न भिन्न दृस्टी ले त्यसलाई नवीन आयाम दिन यत्न गरि रहन्छन । रचनाकारको धर्म पालना गर्छन र कुनै नया सृष्टि उनीहरुबाट हुने गर्छ । पाठक को आशा यहि रहन्छ ।

यस्ता साहित्यकारहरुलाई राष्ट्रले कुनै भेदभाव नराखी उनीहरुको सम्पूर्ण व्यक्तित्व बिकाशको लागि अनुकूल परिस्थिति निर्माण गर्नु पर्छ, तर त्यो अनुभव गन्चन रिएको छैन । भबिष्य अब कस्तो हुने हो यसै बाट थाहा हुन्छ । साहित्यकारहरुमा ठेस नलागोस ।

. तपाइले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ ? अहिले के लेख्दै हुनुहुन्छ ?

केहि सस्मरणात्मक लेख , कथा ,गीत , निबन्ध , मुक्तक आदि प्रकाशन हुन सक्ने अवस्थामा छन् । पुस्तकाकार रुपमा भने कृतिहरु बजारमा आइ सकेका छैनन । मेरा पिता जनकवि केशरी धर्मराज थापाका निबन्धात्मक रचनाहरुको सगालो “नौसिन्दाको जागिर ” नामक पुस्तक , “स्मृति बिम्बमा जनकवि केशरी” यी पुस्तकलाई सम्पादन गरि प्रकाशनमा ल्याउने काम गरेको छु । यसरि नै २०८० सालको बैशाकमा प्रकाशनमा ल्याउने गरी केहि लेखहरुको सम्पादन कार्यमा लागेको छु । यतिबेला जनकविकेशरीको जन्म -शताब्दी नजिकिदै गरेको समय छ । आगामी वर्षको श्रावण संक्रान्ति बाट त्यसको शुभारम्भ हुन्छ । त्यसपछि वर्ष भरिनै केहि न केहि बिशेस कार्यक्रम हरु आयोजना गर्ने गरीतयारी भैरहेको सन्दर्भमा हिजो आज तिनै कर्यबिशेसमा तल्लिन बन्दै समय बितिरहेको छ । थप यो एउटा महायज्ञ नै हुनेछ । यसको पूर्णतापछि निजीलेखन र प्रकाशनका कार्यहरु गतिमान बन्नेछन् ।

१० . कस्ता साहितिक पुस्तक पढ़न मन पराउनु हुन्छ ?

विशेषत: जीवन मूल्यको सम्यक बोध , सद्गगुणको पारख , उत्तम बैचारिक धरातल र आत्मिक पवित्रताबाट नै
मानिसमा दैबी गुण्हरुको आबिर्भाव हुने हो । यिनै बिषयलाई केन्द्रबिन्दु बनाएर लेखिएका जीवनका भित्रि आयामसग जोडिएका अन्तेर्बैयाक्तिक मूल्यपरक जीवनशैलीसग सम्बन्धित पुस्तकहरु पढ़न मन पराउछु ।

जिन्दकीमा आफुले चाहेको जस्तो नभएको अवस्थाबाट सिर्जना हुने अस्तित्व सम्बन्धि संकट ( Existential Crisis ) र भावनात्मक दमनले ग्रस्त समाजको चित्रण भएका सिर्जनाहरु मेरो रुचिमा बढी पर्ने गर्छन ।

एउटै नियतिमा भिन्न भिन्न मन: स्थितिमा बाचिरहेका जीवनको कथा मलाई मन पर्छ । अनि मन पर्छ-आयामेली साहित्य । व्यवहारिक् आध्यात्मिकताले साहितिक रचनाले मन खिचेका हुन्छन । यस्तै ‘चेतनप्रबाह शैली’ मा रचना गरिएका कृतिहरु खोजि खोजि पढ़छु ।

शुरु शुरुमा हिन्दी “जासुसी” उपन्यास , र हिन्दी उपन्यास हरु खुबै पढिन्थ्यो एकै सिटिंगमा । ओशोका पुस्तक क्रमश मिलाएर राखिएको आफ्नो निजि पुस्तकालयमा हेरेको त ३४ वटा रहेछन । पछि नेपाली जासुसी प्रवृतिका पुस्तक पनि आउन थाले , पढियो । हास्य व्यंग्यका पुस्तक पढने पनि चाख लाग्न थाल्यो । अनि उपन्यास , कथा , कविता , जीवनी , धर्म ,दर्शन प्राय : सबैजसो विधाका पुस्तक पढ्छु , तर हिजो आज selective भइएको छ । छान्न मन लाग्छ ।

११ . तपाइको मन पर्ने साहित्यकार को को हुनु हुन्छ ? र किन ?

“मन पर्ने साहित्यकारहरु” ! जीवन मूल्यको प्रतिबिम्बनले साहित्यमा पाठकलाई आकर्षित गर्ने कुरो मैले अघिनै संकेत गरेको छु । यो मेरो पनि पाठकीय चेतले खोज्ने पक्ष हो । मन पर्ने साहित्यकारहरु को नाम लिने सन्दर्भमा पनि त्यसको सिमांकन गरिदिन्छ ।

त्यसो त साहित्यकारहरु प्राय : सबै नै मन पर्छन, तर नामै लिनु पर्दा भने मह बनाउने मौरीले रस ले भरिएका फूल रोजे जस्तै गरी रसमय रचनाका पारखी लाई खोजेर रोज्ने रहर जागृत भै हाल्छ । त्यस्तै पारखी र पौरखी साहित्यकारहरुको साहित्य प्रतिको निश्चल त्याग , तपस्या , निष्ठा र बिराटतावाट अभिभूत बन्दै उहाहरुवाट सिर्जित रचना र रचनाधर्मिता प्रति नतमस्तक हुन्छु। आफ्ना भावना र बिचार लाई आफ्नो बिशिस्ट शिल्पद्वारा कलात्मक रुप दिदै जीवन र जगतको सौन्दर्यमय, आकर्षक एबम आनन्दप्रद नबीन सृस्ति गर्ने उहाहरुको बिलक्षण प्रतिभाको सम्मान गर्छु । सबै सिर्जना अनमोल हुन्छन । शृंखलाबद्ध लालित्यपूर्ण शब्द प्रचुर उद्ध्याँनको रमणीयतामा मन्त्र मुग्ध बन्दै रमाउछु , तर भिन्न भिन्न रुचि भएकाले सिर्जना भने म छानेरै पढने गर्छु v

मन पर्ने साहित्यकारहरुको खोजि गर्ने भन्नासाथ बाल्यकालिन मानस स्मृतिको त्यो बिम्बरेखाचित्र पहिले आइ हालछ, अझै मेटिएको छैन । ,त्यो रेखाको रंग झन् झन् चहकिलो बन्दै जान्छ । डिल्लीबजार बस्दा मैले देखेका लक्ष्मी प्रसाद देवकोटा अगाडी आइहाल्छन । पुतलीसडक स्थित पद्मोदय हाइ स्कूलमा पढेर बेलुका डेरामा फर्कदा पसल कबलमा थपक्क बसेर चुरोट हातमा सल्किरहेको , धुवा उडिरहेको मस्त भएका देवकोटाको त्यो बिम्ब मैले कसरि बिर्सन सकुला र ? त्यस्तै दुइ जना एकै साथ चढन मिल्ने , एक जना अघिल्तिर एकजना पछिल्तिर , दुइ काठी भएको साइकल चढेर अर्दली सहित घन्टाघर प्रेस अनि सरस्वति सदन जाने बालकृष्ण सम को त्यो सौम्म्य भब्य व्यक्तित्व लाई कसरि बिर्सने ? , कमल पोखरी कृष्ण पाउरोटी भण्डारमा चिया खान जादा भेट हुने भवानी भिक्षु, सोर्हखुटे सल्लाघारीमा लेखनाथ पौडेलको घरमा जादा राडी ओछ्याएको बैठक कोठामा उहाले देखाउनु हुने त्यो आत्मियता कसरि मेटिन सक्छ ? ठमेल स्थित नौलो होटेलमा भेट हुने भूपी शेरचन , क्षेत्रपाटि डेरामा सगै बस्ने माधव प्रसाद घिमिरे , बारम्बार डिल्लीबजार स्थित ” लोक गीत संग्रहालयमा” आउदा भेट हुने बाल कृष्ण पोख्रेल , तारानाथ शर्मा, भीमनिधि तिवारी, कन्चन पुडासैनी , देवी प्रसाद बनबासी र यस्तै अन्य थुप्रै थुप्रि साहित्यकारहरु सग भेट हुदा बनेको उहाहरुका ब्यतिक्त्वको एउटा अबिस्मरणिय छाप छ, मेरो मानसपटलमा ।

पछि हामी २०२८ सालमा स्वयम्भूमा बस्न जादा बारम्बार घरमै भेट भैरहने सत्यमोहन जोशी , केदारमान व्यथित , कृष्ण चन्द्रसिंह प्रधान, पोषण पाण्डे , स्वामी प्रपन्नाचार्य , योगी नरहरिनाथ , कृष्ण प्रसाद पराजुली , मनु ब्राजाकी , रत्नधोज जोशी , छिन्नलता , रमा शर्मा , यी महानुभावहरुसग साक्षात्कार भएकाले उहाहरुका कृतिको सहज सम्प्रेषणियताले तानिएकाले पनि होला रचनाहरु पढ़न अति सजिलो भएको छ , त्यसर्थ मन पर्छ । प्रवृतिगत सादृश्य मिल्दै गएछ भने भबिष्यमा पनि नया साहित्यकारहरु मन पर्ने बन्न सक्छन । यसको एउटा उदाहरण हो पछिल्लो समयमा पढेको कृति केशवराज ज्ञवाली द्वारा रचित “अर्को भोर” । त्यस कथा सग्रहमा ब्यक्त शिल्पकारिताको निकै चाख मानेर स्वाद लिए । मन पर्यो ।

प्रतिक्रिया