दण्डपाणि – नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई प्रदान गर्ने निर्णय

इनेप्लिज २०७९ चैत ११ गते १३:३० मा प्रकाशित

गोरखामा जन्मिनु भएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा काठमाडौँमा स्थापित दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले २०६३ सालदेखि प्रदान गर्दै आएको दण्डपाणि – नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार यस वर्ष प्राज्ञ विष्णु प्रभातलाई अर्पण गर्ने निर्णय गरेको छ।

मिति २०७९ चैत्र १० गते काठमाडौमा सम्पन्न स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। इतिहास ,साहित्य ,संस्कृति , ज्योतिष, समाज सेवा लगायतका विविध विषयमा राष्ट्रिय स्तरमा योगदान दिएका विद्वान् विदुषीलाई पुरस्कार समर्पण गर्दै आएको केन्द्रले यसवर्ष नेपाली संस्कृति ,दर्शन र साहित्यमा योगदान पुऱ्याउनु भएका विद्वान् विष्णु प्रभातलाई सम्मानस्वरूप पुरस्कार समर्पण गर्न लागेको हो।

रू २५,०००/- राशीको उक्त पुरस्कार यही चैत्र मसान्तभित्र केन्द्रकै बार्षिक प्रकाशन ज्ञानबिन्दु अङ्क १४ समेतको लोकार्पणको भव्य समारोहको बीचमा विष्णु प्रभातलाई अर्पण गरिने छ।

स्मरण रहोस् केन्द्रले वितेका वर्षहरुमा ज्ञानमणि नेपाल ,मदनमणि दीक्षित ,प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त ,सत्यमोहन जोशी , प्रा डा शुरेशराज शर्मा, प्रा डा. सुरेन्द्र के.सी र पुण्यरश्मि खतिवडा लगायतका दर्जनभन्दा बढी विद्वान् विदुषीहरुलाई पुरस्कृत गरिसकेको छ।

स्व. दण्डपाणि अर्ज्याल ईतिहास, ज्योतिष, धर्म शास्त्र र समाजशास्त्र आदि बिषयहरूका ज्ञाता हुनुहुन्थ्यो भने स्व. नन्द कुमारी उहाँकी धर्म पत्नी हुनुहुन्थ्यो।

प्रतिक्रिया