गाउँ गाउँमा भ्यूटावर बनाऊ
टुप्पोमा चढेर
जनताका वस्तीहरू हेर्यो भने
गरिबी, अशिक्षा, भोकमरी देखिन्छ कि कतै
सकेसम्म टोल टोलमै भ्यूटावर बनाऊ
वेरोजगार, गरिबी हट्छ कि कतै
पहाडको टुप्पोमा भ्यूटावर बनाऊ
ग्रेटवालको रेकर्ड तोडीहाल्छौ कि कतै
यति राम्रो विकासे योजना लागू गर्या छौ
यस्तो नमूना देखेर विश्वले नि सिक्छ कि कतै
उत्कृष्ट नमूनाको सिको अरु देशले गरे भने
नेपाल विज्ञ निर्यात गर्ने मुलुक बन्छ कि कतै।
अब विकास गर्न के नै पो बाँकी छ र
थरी थरीका भ्यूटावर बनाऊ
कोल्टे फर्केका बनाऊ
लिफ्टवाला बनाऊ
नागवेली परेका बनाऊ
सिडीवाला बनाऊ
धरहरा भन्दा नि अग्ला बनाऊ
थप भ्यूटावर बनाउदै जाऊ
त्यसैमा बजेट खन्याउदै जाऊ
बजेटको चिन्ता नगर
बरु अलि कर बढाएर भए पनि
ठाउँ ठाउँमा भ्यूटावर बनाउदै जाऊ
खाली ठाउँ देख्यो कि भ्यूटावर बनाउदै जाऊ
के बेर भोलि भ्यूटावरको देश भनेर
गिनिज बुकमा नाम अायो भने
विश्वबाटै पर्यटकको अोइरो लाग्छ कि कतै ।
शिक्षा, स्वास्थ्य, कृषिमा लगानी लाउनै हुन्न
अशिक्षा र गरिबी देशको समस्यै होइन
कृषिप्रधान देश हो नामै काफी छ
वेरोजगारीको लागि खाडी मुलुक छदैछन्
उद्योगधन्दा अरु देशले खोलेकैछन्
झन विरामी त यहाँ कोही हुँदै हुदैन
तिम्रो लागि त विदेशी अस्पताल छदैछन् नि
भ्यूटावरबाट बचाएर होस या राज्यकोषबाट
खर्च लिएर उतै उपचार पाइहाल्छौ नि
विगत पाँच वर्षमा उल्कै विकास गर्यौ
अाउनेहरूलाई पनि भ्यूटावर बनाउने ठाउँ राख है
नत्र भने भ्यूटावर बनाउने ठाउँ नपाएर
सगरमाथाको टुप्पोमा गएर भ्यूटावर बनाइ देलान कतै।
मोहनसिंह साँउद
सह प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस
धनगढी ,नेपाल
प्रतिक्रिया