नयाँ वर्ष

विष्णु पगेनी सिग्देल, एटलान्टा अमेरिका २०८० वैशाख १ गते १:०५ मा प्रकाशित

कुहू कुहू कोइलीले वनमा गायो गीत
पर तिर मलेवाको कस्तो मीठो प्रित
चराहरूको चिरबिर मनै हर्ने धुन
रङ्गीचंगी फूलहरूले ढाक्यो रनवन !!
नयाँ नयाँ पालुवा लिई वृक्ष फेर्छ रुप
खुसी ल्यायो सारा जगमा आन्नदको धूप
वनैभरि लहलह लालीगुराँस बुकी,
मनमोहक फूलहरूले टुना लाउने हो कि?
रमाई रमाई मौरी हिंड्छ फूलमा डुली डुली
भमराले रस चुस्छ त्यहीं फूलमा भुली
वासन्ती पवनले हल्ल्का तन छुँदा
आहा! बेग्लै उमङ्ग छ खुसी मन हुँदा !!
स्वागत गर्दा नथाकिने वसन्त यो कस्तो
त्यसै त्यसै नाचूँ नाचूँ गाऊँ गाऊँ जस्तो
नघाउने आँखाहरू लाग्ने हेरूँ हेरूँ
लाग्छ यसको सुन्दरतालाई अँगालोमा बेरू

पहाड तराई हिमाल अनि खेतका गरा गरा
चोला फेर्दै हरियाली झुम्छ जगत सारा
प्रकृतिको आकृतिमा नयाँ रङ्ग आयो
युवा वृद्ध केटाकेटी सबमा हर्ष ल्यायो!!

विष्णु पगेनी सिग्देल, एटलान्टा अमेरिका।

प्रतिक्रिया