वंशस्थ छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ५९” सम्पन्न

इनेप्लिज २०८० वैशाख ६ गते २१:४० मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० वैशाख २ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५९” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत वंशस्थ छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई वंशस्थ छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: वंशस्थ छन्द :::::
~ गण : ज त ज र
~ गण सङ्केत: १२१ २२१ १२१ २१२

अभ्यासका क्रममा सङ्कलन भएका वंशस्थ छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
पसी जुगा रक्त चुसेछ कस्तरी
समाज हाम्रो छ विपन्न यस्तरी।
२.
बनौँ पुजारी सब लोक बेसको
अवश्य जोगिन्छ नि साख देशको।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
१.
गरेर मिल्ने सब थाेक खानकाे,
लडेर के मिल्छ मरेर लानकाे ।
२.
लुटेर पैसा सब माेज गर्नकाे,
पिटेर हावा छ अगाडि पर्नकाे ।
✍️ निरज काेइराला
[३]
फुलेर आफू त झरेछ भीरमा,
सुगन्ध खोजेर परेछ पीरमा ।
✍️ आर्त अकुलीन
कैलाली
[४]
१.
बिहान जागेर,जुटेर कर्ममा
किसान गर्दैछ,सदैव मर्ममा ।
२.
यहीँ छ कर्तव्य नसम्झ धारिलो
अनन्त माया छ सदैव पारिलो ।
✍️ प्रेम थापा मन
[५]
खुलेछ आकाश परेर आसमा
अभाव छोडी जिउने छु पासमा।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[६]
१.
प्रहार त्यो गर्छ कठोर मर्ममा,
छ बाध्यता केवल धर्म कर्ममा ।
२.
लिदैछ अज्ञान बिदा जतातता,
पढेर विज्ञान हुँदैछ विज्ञता ।
✍️ बिबस पारदर्शी
झापा
[७]
१.
नजानु तर्केर,फसिन्छ वक्रमा,
नबस्नु गम्केर,परिन्छ चक्रमा।
२.
बहन्छ पानी र मिसिन्छ बागमा,
र जान आफू फुलिदिन्छ रागमा।
✍️ होम प्रसाद
धरान,सुनसरी ।
[८]
न हिँड्नु गन्तव्य भुलेर रातमा
विहीन कर्तव्य झुमेर मातमा।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[९]
१.
सकिन्छ ऐश्वर्य उडेर वातमा,
रहन्न केही चिज हेर हातमा ।
२.
गरेर के हुन्छ घमण्ड व्यर्थमा,
मरेर जाने सब शुद्ध अर्थमा ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[१०]
१.
प्रभा फिँजाएर नवीन वर्षको,
दिंदैछ आनन्द अपार हर्षको।
२.
उडेर आएछ ल हेर हर्षमा,
खुसीछ ऊ हेर नवीन वर्षमा।
✍️ बेदु न्यौपाने
काठमाडौ
[११]
छटा बनेको छ हरेर चाहना
नमाग सौन्दर्य गरेर कामना।
✍️ म्यामराज राई
भोजपुर।
[१२]
१.
सकाल तात्नेछ मिले त एकता,
जितेर सम्पूर्ण फराकिलो जता ।
२.
मिलेर जाग्राम लिएर साधना,
गरेर साकार अनेक चाहना ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१३]
उठेर हामी सब कर्म गर्नुछ,
गरेर केही मन सार भर्नुछ।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[१४]
वसन्त आएर सुगन्ध फैलियो
अतीत सम्झेर रुमाल मैलियो।
✍️ बाबुराम गौतम
गुल्मी

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया