वसन्ततिलका छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ६०” सम्पन्न !

इनेप्लिज २०८० वैशाख १४ गते २२:३३ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० वैशाख ९ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-६०” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत वसन्ततिलका छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई वसन्ततिलका छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: वसन्ततिलका छन्द :::::
गण : त भ ज ज गुरु गुरु
सङ्केत: २२१ २११ १२१ १२१ २२
आठ अक्षरमा विश्राम

~~~~

अभ्यासका क्रममा सङ्कलन भएका वसन्ततिलका छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
समृद्ध बन्छ कसरी अब देश हाम्रो
निर्यात हुन्छ बढिया श्रम शिल्प राम्रो।
२.
माझी अदक्ष छ भने तरिदैन खोला
पर्ने धराप डर हुन्छ मनुष्य चोला।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
कस्तो छ यो युग बुझी, गर काम सारा,
संसार हेर्छ सबको, किन बिघ्न पारा ।
✍️ आर्त अकुलीन
कैलाली
[३]
खाने, अहा! कति मिठाे, सब स्वाद छेउ,
लाग्दै छ राेग गहिराे, पछि लाग्छ भेउ ।
✍️ निरज काेइराला
इटहरी
[४]
हानेर तीर मुटुमै अझ चोट पार्यौ
सम्बन्ध निर्मल थियो कसरी बिगार्यौ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[५]
राखेर व्यर्थ मनमा, परित्रास हेर,
दामी छ जीवन यसै, किन फाल्नु खेर ?
✍️ वसन्त अनुभव
दाङ
[६]
१.
के के छ पुस्तक नयाँ, गुनगान धारा
उल्लेख गर्न सजिलो , अझ छैन सारा ।
२.
राखेर लालच सरी,किन धेर माग्छन्
इच्छा भएपछि सधैँ, अझ बात लाग्छन् ।
✍️ प्रेम थापा “मन “
बागलुङ
[७]
हो जिन्दगी मनुजको तर स्वार्थ कस्तो ?
हुङ्कार मार्दछ सधैँ गफ दिन्छ सस्तो ।
✍️ बिबस पारदर्शी
झापा,
[८]
यो जिन्दगी प्रिय छ हो नर लोकलाई,
फाल्नु हुँदैन नगरी शुभकर्म भाइ।
✍️ कमला देवकोटा
पाल्पा
[९]
आयौ भनेर कसरी भर पर्नु सानी
राखेर मान रिसले मन रोक नानी।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[१०]
१.
माया भयो अलि तितो, नत साथ छोड्यौ ,
गाढा भयौ रत उता, अनि बात मोड्यौ ।
२.
राख्यौ र साथ रहँदा, किन आज आयौ ,
छाडेर जानु त थियो, तर साथ धायौ ।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[११]
देखेर हुन्न धमिलो, बिपना छ राम्रो,
छाँगो बनोस् प्रणयको,दिलभित्र हाम्रो।
✍️ होम प्रसाद
धरान,सुनसरी ।
[१२]
चोरेर चित्त सहजै किन घात गर्छौ
सोझो र स्वच्छ दिलमा भ्रमजाल छर्छौ ।
✍️ बाबुराम गौतम
गुल्मी
[१३]
१.
रोकिन्न कर्म मनले सब थोक ठानी,
खोजिन्न धर्म जनको दिल भित्र जानी।
२.
खाइन्न कर्म नगरी भर पेट हानि,
बेकार हुन्छ उसको सब लोभ बानी।
✍️ भगवती दवाडी
झापा
[१४]
१.
नाता प्रमाणित गरेँ, मिति एक खोजी,
वाचा गरेर रहरे, तिथि शुद्ध रोजी।
२.
मेटेर राख धमिलो, सपना नआओस्,
आलो छ घाउ ननिको, लहना भगाओस्।
✍️ म्यामराज राई
भोजपुर।
[१५]
कस्तो अचम्म छ गनेर दबाब गर्ने,
उस्तै उदेक छ गमेर सराप छर्ने।
✍️ अच्युत घिमिरे
भुटानबाट🇧🇹
[१६]
१.
लेखेर राख कविता छवि खेर जान्न
साहित्य गर्छ समता कवि धेर तान्न।
२.
बेछन्द बन्छ सृजना जब ज्ञान हुन्न
सक्दैन किन्न सरिता न घमण्ड थुन्न ।
✍️ इन्दिरा प्रयास
सानाेठिमी, भक्तपुर
[१७]
कस्तो रहेछ दुनियाँ लत जान्न गाह्रो
पैसा विना डर छ हो घर धान्न साह्रो।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया