काठमाडौं, काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि भएको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको जानकारी दिए ।
विद्यालयमा पढ्ने १५ वर्षमुनिका ५४ जना विद्यार्थीलाई दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँच जनाको नमूना परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो ।
अधिकांशलेले खोप नलगाएको पाइएकाले सोही नगरपालिका वरिपरिका पाँच सय भन्दा बढी १५ वर्ष मुनिका बालबालिकालाई निगरानीमा राखिएको छ।
पुसमा नेपालगञ्जमा पनि १५ वर्ष मुनिका बालबालिकामा दादुरा रुबेला महामारीको रुपमा देखिएको थियो ।
सोही समयमा १७ जिल्लाबाट ११ सय भन्दा बढी बालबालिका सङ्क्रमित भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।
सोही सयमा पनि सङ्क्रमित मध्ये अधिकांशले दादुरा रुवेला विरुद्धको खोप नलगाएको पाइएको अध्ययनमा पुष्टि भएको थियो । सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष लिएको छ ।
तर, बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला समुदायमा महामारीको रुपमा देखा पर्दै आएकाले लक्ष हासिल गर्न चुनौती थपिँदै गएको भण्डारी बताउँछन ।
देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने भन्दै सरकारले बेलाबेलामा खोप अभियान संचालन गर्दै आएको छ ।
तर, जनचेतनाको अभाव, बसाइँ सराई र अन्य विभिन्न कारणले गर्दा बालबालिका खोपबाट बञ्चित हुँदै आएका छन् ।
नौ जिल्लामा खोप अभियान सुरु हुँदै
सरकारले दादुरा रुवेलाको महामारी फैलन नदिन बिहीबारबाट असारको पहिलो हप्तासम्म नौ जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा गरी नौ जिल्लाबाट दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु गर्न लागेको हो ।
नौ जिल्लाका ६ महिनादेखि १५ वर्ष उमेर मुनिका १५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको भण्डारीले जानकारी दिए।
समुदायमा रोग विरुद्ध रोगप्रतिरोधात्मक क्षमता बढाई भविष्यमा हुन सक्ने दादुरा रुबेलाको महामारी रोक्न खोप अभियान सुरु गर्न लागिएको हो ।
नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिई आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयको अनुरोध छ ।
यो विरुद्धको खोप सुरक्षित भएकोले ढुक्का भएर लगाउन भण्डारीको सुझाव छ ।
प्रतिक्रिया