योग शारीरिक अभ्यास मात्र नभई जीवनशैलीको निश्चित विधि र प्रक्रिया हो : प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८० असार ६ गते २:३७ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल योग भूमि र यो धरोहर भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए ।

नेपालका सांस्कृतिक इतिहासअनुसार यहाँका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान, विज्ञान र वास्तु इन्जिनियरिङको प्रयोग गरिएको उनले बताए ।

प्रधानमन्त्री दाहालले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए ।

तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ ।

हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया