काठमाडौ, मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ ।
बुधबार भएको खेलमा थाइल्याण्डलाई २ सय २५ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । योसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।
थाइल्याण्ड भने लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । दोस्रो खेलमा नेपालले दिएको २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो ।
उसका लागि ईशान बनर्जीले १६ र दानुफोन फुआंग्योटपिनिटले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपालका लागि स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ३।२ ओभरमा एक मेडनसहित ८ रन दिएर ५ विकेट हात पारे । त्यस्तै, अशोक धामीले ३ र कप्तान अभिषेक तिवारीले २ विकेट लिए ।
त्यसअघि बांगीस्थित ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन बनायो ।
नेपालका लागि निरजकुमार यादव र नरेन भट्टले अर्धशतकीय पारी खेले । ४३ बलको सामना गरेका निरजले ७ चौका र ६ छक्कासहित ७४ रन बनाए । उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।
निरजले ४० रन बनाएका सूर्यांशु कोइरालासँग पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । यस्तै, नरेनले ४२ बलमा ५ चौकासहित अविजित ५४ रनको इनिङ खेले ।
सन्तोष यादवले ४२, कप्तान अभिषेक तिवारीले १४ र विकेटकिपर आशिष लुहारले १३ रनको योगदान दिए ।
थाइल्याण्डका लागि नतपाखान मनून, ईशान बनर्जी र फनुवत देसुङनोएनले २र२ विकेट लिए । प्रतियोगितामा नेपालले दोस्रो खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ ।
सातवटा राष्ट्र सम्मिलित यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा नेपालसहित मलेसिया र थाइल्याण्ड रहेका छन् । यस्तै, समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।
प्रतिक्रिया