समय घेरामा मनको लहड

बुद्धमणि ढकाल २०८० असार १७ गते ३:२३ मा प्रकाशित

बुद्धमणि ढकाल

टाढा गाउँमा एउटा घर छ। घर मेरो पनि थियो , तर अब होइन। म घरबाट टाढा भएको तीस वर्ष भयो। त्यो घरमा मेरा बा आमा बस्नुहुन्छ।

घर बसाल्ने ठाउँ खोज्दै हिडेको म, लातारिदै भौंतारिदै कहिले वल्लो किनार त कहिले पल्लो किनारमा हुत्तिरहेको छु। टुङ्गो लागेको छैन।

हिमालयको काख छोडेको पनि बाह्र वर्ष पुगिसकेछ। फर्कनु पर्ने हो, सकिएको छैन। वा भनौं फर्कने ठाउँको ठेगान लागेको छैन।

बा आमाको सन्चो विसन्चो खबर सुनिरहेको छु। सुन्नु मात्र हो, आफूले गर्न केहि सकेको छैन। एक महिना अघि गाईको बाछो बाँध्न खोज्दा आमाको औला चेपिएर फुटेको खबर सुनें। मन त अमिलो भयो नै तर गाउँ र देशमै बाँच्ने परिस्थिती तेस्तै छ भनेर चित्त बुझाउनुपर्यो। भनेजस्तो लाउन खान पाको छैन। तर चित्त बुझाउने अर्को ठाऊँ पनि छ ( वहाँहरु आफ्नै पुर्खेउली घर जग्गामा आफ्नै अन्न उत्पादन गर्नुहुन्छ। परनिर्भर छैन अहिलेको विषादयुक्त विश्व बजारमा।

किन हो किन हिमालको माया लागिरहन्छ। पहाडको जीवन रसिलो लागिरहन्छ।

जीवन यात्राको देउरालीबाट म ओराह्लो लागिसकेको छु। यो पृथ्वीमा ठाऊँ ओगटेर बस्ने मेरो धेरै समय छैन। मेरो चेत यहि समयको पावन्दीमा केन्द्रित भएको छ। जति समय बचेको छ जिन्दगी बाँच्नको लागि, म त्यसको भरपूर उपयोग गर्ने चेष्टा गर्दैछु। कति समय छ, मलाई अन्दाज छैन। जीवनदीपमा कुन बेला तेल सकिन्छ, थाहा हुँदैन। तेसैले समय खेर जान नदिन म जोड गरिरहेको छु।

अबको बाटो एउटा निश्चित दिशामा हुनुपर्छ ( म बारम्बार आफूलाई सम्झाइरहेको छु। जथाभावी लर्खराउने समय छैन।

ज्ञान, भक्ति, ध्यान र कर्म योगको बाटो असल छ। जीवनलाई सकेसम्म बुझ्ने र सार्थक बनाउने मार्गतर्फ लाग्ने विचार छ। फेरि योग ध्यानले मात्रै मेरो जिन्दगीको धेयर लक्ष्य पूरा नहुने देखिरहेको छु। केहि गर्नु छ । निस्काम कर्म। फलको आश निजी प्रयोजनका लागि नभई , सार्वजनिक हितका लागि उपयोगी हुने गरी।

रोबर्ट फ्रोस्टको एउटा कवितालाई जिन्दगीको सार मान्दा सुत्नु अघि नै धेरै कोष हिडीसक्नु पर्ने छ। अथवा, चीर निद्रामा पर्नु अघि धेरै काम गरिसक्नु छ।

मलाई इश्वरको कृपा भएको होला कुनै गतिलो परोपकारी भूमिका सुम्पेर भन्ने वोध भैरहन्छ । भित्री आत्माको चेत यसैमा खुलेझैं भएको छ। अनि उही बा आमा बसेको घर गाउँको वासना आइरहन्छ, ती पछाडि परेका निर्धा गाउँलेजनको पक्षमा बोल्न, लेख्न र काम गर्न मन लागिरहन्छ।

मेरी आमाका सबै दाँत सतचालिस वर्षमै झरेर सकिए। गाली गर्न ओख्ले शब्दको प्रयोग गरे मान्छेले, बाबाको रिसको शब्द पनि त्यही भयो।

दाँत लाउन जाने उपाय भएन । घर नजिकै त्यो सुविधा छैन , अर्को ठाउँ गएर धेरै दिन बिताउन घरको कामले छोड्दैन।

बाबाको मानसिक रोग करिब २५ वर्ष चरम उत्कर्षमा पुग्यो। औषधी गर्न अस्पताल नगएको होइन । डाक्टरहरु रोग निको पार्ने भन्दा अरू कुरा देखाएर अर्को चोटी आउनु भन्दै फर्काइदिन्छन्। दुई वर्ष अघि मात्र उनीहरुले रोगको खतरा बुझे। बल्ल केहि विसेक भयो।

मेरो लागि अब बेला भएको हो तिनै मेरा बा आमा जस्ता निम्छरो जीवन बिताउने गाउँलेहरूको सेवामा केही काम गर्ने। त्यो अध्यात्मसँग जोडिएको परोपकारी बाटो हिड्ने।

ज्ञान, प्रेम, भक्ती र सन्यासको बाटो यो परोपकार कार्यमा पनि भेटिन्छ भन्ने विचार हो मेरो। ज्ञान र सीप सिकाएर जीवन सुधार्न सकिन्छ । प्रेम भावमा सहचर्य हुन्छ र प्रेम भावमा मात्र सबैले सामुदायिक लाभ पाउन सम्भव छ। इश्वर भक्ति ज्ञान र प्रेमबाट जन्मिन्छ र परोपकारमा इश्वरको स्वरूप हुन्छ। घर नछोडी पनि सन्यास हुन सक्छ यदि मान्छेले लोभ र मोह छोड्ने हो भने, वा कुनै कामको फलप्रति आशक्ति नराख्ने हो भने।

मैले वेद वेदान्त वा उपनिषद् पढेको छैन तर जीवनको मर्म बुझ्ने प्रयास हमेसा गरिरहेको छु। यो जिन्दगीमा पाएको अवसरलाई प्रयोग गरेर शुद्ध कर्म जोड्ने काममा चनाखो भएको छु।

हिजो आज मान्छेले सम्बन्ध जोड्ने भन्दा पनि तोड्नेतिर बढी अग्रसर भएको अनुभव छ मेरो। भौतिक सम्पत्ति कमाएको भरमा मान्छे मात्तिएको छ । म म को अहंकारमा मोहित छ र संसारमा मेरो मात्रै अधिपति चलोस् भन्ने दम्भ देखाइरहेको छ। यो वास्तवमा भ्रम हो, मोह हो, मायाजालको अज्ञानता हो।

हाम्रो पहाडमा धेरै मान्छेहरू गरिब छन्। तर गरिब भैकन पनि मनका असल छन्। धन कमाउने होडबाजीमा लागेका मानिसहरू भने, मुखमा राम राम बगलीमा छुराु चलाउछन्। किर्ते काम गरेर अरूलाई ठग्न अग्रसर हुन्छन्। काम नगरी कुरा कथुरेर दिन काट्न सिपालु भएका छन्।

हाम्रा पवित्र मन भएका गाऊँ ठाऊँ पनि यस्ता विषयुक्त विचारले शनैशनै प्रदुषित, कलुषित हुँदै गएका छन् ( यो चिन्ताको विषय हो असल समाजको रहर गर्नेको लागि। यसो भनौं म जस्तो शहर पसेको मान्छेलाई असली गाऊँको अनुभव गर्न लालसा हुन्छ। तर त्यो दुर्लभ हुने भयो।

फेरि बा आमा बसेको गाऊँ सम्झिन्छु ( पवित्र छ, निश्चल छ, सहयोगी भावना छ, आत्मीक आनन्द बाँकी छ । ती गाऊँको गाउँले जीवनचर्या प्रति मेरो मोह छ।

मेरी आमालाई खास कुनै रहर छैन । नयाँ ठाऊँ देख्ने, घुम्ने, राम्रा लुगा लाउने। सत्तरीको उमेरमा के को रहर, अगि लाऊँलाऊँ खाऊँखाऊँ भएको उमेरमा घरायसी कामले बेरीरह्यो, थाप्लोभरि नाम्लोले किचिरह्यो। पानी, घाँस, दाउरा, मेलापात र घरको कुटन पिधन। कहिले फुर्सद भयो र?

मेरी आमाजस्तै आत्मसन्तुष्ट भएर आफ्नै गाऊँठाऊँमा साधारण जीवन यापन गरिरहेका महिलाहरूप्रति मेरो ज्यादै ठूलो सम्मान छ।

मनमा हुटहुटी छ ( गाऊँ फर्कने र गाऊँको उन्नतिमा केहि इँटा थप्ने। मेरी आमा जस्तै कृषि कर्मको बोझले किचिएका महिलाहरूलाई स्वावलम्बन हुने काइदा सिकाउने । आयश्रोतको बाटो खोल्ने उपाय सिकाउने। तर भन्न वा सपना देख्न जति सजिलो छ, भुइँमा खुट्टा टेकेर त्यो काम गर्न सजिलो छैन। वाधा अड्चन थुप्रै छन्।

मनको लहड छ एक तमासको । झोला बोकेर गाऊँ गाऊँ हिड्ने। गाऊँ बस्तीका कथा टिप्ने, छहरा खोलाका गीत लेख्ने, गल्छी र भन्ज्याङका अप्रदुषित कन्चन हावाको वासना सुङ्ग्ने।

मैले यो शहरमा खास उपलब्धी गर्नु केहि छैन। एउटा नश्वर शरीर पाल्नु बाहेक के नै पो लछारपाटो लागेको छ र। यति कर्म त सबै पशु(प्राणीले गरेका छन् । कमिला, भुसुना देखि हात्ती सम्मले। तर मान्छेलाई चाहिं पेट पाल्न र घर बस्न अनेक श्रोत साधन चाहिने र लोभ माथि लोभ थपिदै जाने। सबैभन्दा असन्तोसी जीव मान्छे नै रहेछ। तेसैले ऊ संसारका सबै ठाऊँ कब्जा गर्न चाहन्छ वा बजारका सबै वस्तु आफ्नै घरमा हुल्न चाहन्छ। म भौतिक सम्पतिमाथिको अचाक्ली लोभ र मोह जालबाट मुक्त हुने बाटो खोजिरहेछु । कुनै ढोंगी गेरुवस्त्र बिना वा तथाकथित नक्कली साधुको भेषबिना।

समय घर्किदैछ। प्रत्येक दिनले आयु काटी रहेकोछ। शरीर वर्षेनी कच्चा हुँदैछ। संसारबाट विदा हुनुअगि दुनियाँले सम्झन लायक मान्छे हुने अभिलाषा हो। परोपकारको कामबाट नै यो अभिलाषा पूरा गर्ने ध्येयमा छु म। मेरो जीवन दर्शन पनि यही हो। मन सङ्लो पारेर, कर्म शुद्धि गर्दै यो साझा घर पृथ्वीको साना साना समस्या हटाउने कर्तव्य हाम्रो हो भन्ने विचारलाई प्रयोग गर्न म खास समय र ठाऊँ खोजिरहेछु।

प्रतिक्षा छ, एकदिन त्यो मौका जुर्ने छ उनै इश्वरको कृपाले। यो कर्म गरेर म अध्यात्मको बाटो हिड्न सिक्ने छु र मुक्ति वा निर्वाणको दिव्य ढोकातर्फ जाने गोरेटो भेट्ने छु । आश यति मात्रै हो। भौतिक सम्पत्ति र पट्यारलाग्दो सुख सयल छोड्न म क्रमसः तयार भैरहेको छु।

लुइभिल, केन्टकी

प्रतिक्रिया