शिक्षा शास्त्रमा स्नातक तहमा अध्ययन गर्दा ऐच्छिक नेपालीको कविता काव्य विषयमा भूमि शेरचनको हामी कविता पढ्नुपथ्र्यो । यस कवितामा थुप्रै पौराणिक मिथक प्रयोग भएका छन् । यस्ता मिथक वैदिक सनातनका वाङ्मयबाट लिइएका छन् भने कतिपय बौद्ध दर्शन तथा धर्मबाट, कतिपय पश्चिमी दर्शन तथा कथाबाट लिइएको छन् ।
भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहको ‘हामी’ कवितामा भूपि शेरचन लेख्छन् “कथामा वर्णित ‘गुलिभर’ झै” ।
मलाई यो ‘गुलिभर’ शब्दका सम्बन्धमा जानकारी थिएन । मैले कक्षामा पढाउने गुरुलाई सोधेँ, “यो गुलिभर भनेको को हो?”
गुरुले भन्नुभयो, “गुलिभरका सम्बन्धमा पश्चिमातिर निकै प्रचलित कथा छ । गुलिभर एक यात्री हो । यसका लागि ‘गुलिभरको यात्रा’ (गुलिभर्स ट्राभल) भन्ने पुस्तक वा पाठ कतै खोजेर पढ्नुहोला । यस कवितामा भूमिले गुलिभरलाई प्रतीकका रूपमा लिएका छन् ।”
गुरुको आशय बुझ्दा यसका लागि गुलिभरको यात्राको कथा जान्नु पर्ने रहेछ । अनि मात्र गुलिभर के को प्रतीक हो, उसलाई कविले के को प्रतीकका रूपमा उपयोग गरेका छन् भन्ने कुरा थाहा पाइने रहेछ ।
मैले त्यसबेला निजी लगानी स्कुलमा कक्षा ८ पढ्ने विद्यार्थीको पुस्तकमा ‘गुलिभर ट्राभल’ भन्ने पाठ भेट्टाए । अनि बल्ल थाहा भयो कि ‘गुलिभर’ भन्ने व्यक्ति यात्री रहेछन् । उनले यात्रा गरेको स्थान ‘लिलिपुटका बित्ते मानव’ले आफ्नो उचाइसँग अग्लो ‘गुलिभर’को उचाइको तुलना गर्दै ‘गुलिभर’ लाई महामानव ठान्छन् । यसरी गुलिभरलाई भिन्न र फरक मानव सम्झी आफूलाई सधैँ सानो ठान्ने ‘लिलिपुट’ का मानिसको लघुताभासयुक्त सोचाइलाई ‘हामी’ कवितामा कवि भूमिले सटिक र चोटिलो प्रतीक प्रयोग गरेका छन् । यी प्रतीकहरू स्वःपहिचान हराउँदै गएका नेपाली समुदायका लागि चोटिलो व्यङ्ग्य पनि भएका छन् ।
‘हामी’ कवितामा भूमि शेरचनले अधिक प्रतीक प्रयोग गरेका छन् । वास्तवमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रह नेपाली कविता जगतको प्रतीक प्रयोगको अतिउत्तम नमुना पनि हो । यस कविता सङ्ग्रह पढ्ने जो कोहीले पनि कविताभित्र प्रयोग भएका विभिन्न प्रतीकहरू प्रयोगको जानकारी पाउँछ ।
‘पालिएका कुकुर’, ‘अगुल्टाको छुवाइयँ, ‘गुलिभर’, ‘लिलिपुट’, ‘क्यारमबोर्डका गोटी’, ‘द्रोणाचार्य’, ‘एकलब्य’, ‘पाइताला’ जस्ता प्रतीकको अर्थपूर्ण प्रयोग गरिएको छ । यी प्रतीकसँग परिचित नहुँदासम्म ‘हामी’ कविताको वास्तविक रसास्वादन हुँदैन । जब प्रतीकका सम्बन्धमा जानकारी हुन्छ, गुलिभरको प्रतीक र लिलिपुटका मानवका प्रतीक को हुन् भन्ने कुरा पाठकले तत्कालै महसुस गर्छ । विशेष गरी कवितामा प्रतीकको बढी प्रयोग भएको पाइन्छ । अन्य विधामा पनि प्रतीकको प्रयोग भएको पाइन्छ । प्रतीकको चोटिलो प्रयोग कवितामा बढी हुन्छ ।
प्रतीक प्रयोगले कुनै पनि भनाइका लागि व्याख्या आवश्यक पर्दैन । प्रतीकको प्रयोगले भन्न खोजेका कुरा बढी स्पष्ट र सान्दर्भिक पनि हुने गर्छ । साहित्यिक सन्दर्भमा होस् वा दैनिक जीवनका सन्दर्भमा होस्, मानिसले जानी नजानी प्रतीकको प्रयोग गरेको हुन्छ । कहिलेकाहीँ मानिसले थाहै नपाइकन प्रतीकको प्रयोग गरेको हुन्छ । प्रतीक प्रयोगका लागि प्रतीकको सैद्धान्तिक ज्ञान आवश्य ठानिदैन ।
पौराणिक प्रतीक, ऐतिहासिक प्रतीक, सांस्कृतिक प्रतीक, विश्वजनीन प्रतीक, स्थानीय प्रतीक, भौगोलिक प्रतीक, लोक प्रतीक, भाषिक प्रतीक, जातीय प्रतीक जस्ता विभिन्न प्रतीकहरूको साहित्यमा प्रयोग भएको पाइन्छ ।
उपस्थित शब्द, वस्तु, चित्र वा विशिष्ट चिह्नले अनुपस्थित वस्तु वा विषयलाई झल्काउनु नै प्रतीक हो । कुनै विषयको अर्थ वा भाव व्यक्त गर्ने शब्द, वस्तु, चित्र वा विशिष्ट चिह्नहरू प्रतीक हुन् । प्रतीकलाई वास्तविकताभन्दा बाहिरका विचारहरूको संसारमा प्रवेश गर्ने प्रयास भन्न सकिन्छ । प्रतीकले सर्जक भित्रका विचार तथा भावनासहित पाठकलाई वास्तविक संसारबाट अर्कै संसारमा पु¥याउँछ ।
प्रतीकलाई धर्म, संस्कृति, इतिहास, सामाजिक व्यवहार आदिले तिनका विशेष अर्थसहित स्थापित गरेको हुन्छ । हिउ चिसाको प्रतीक, आगो ताताको प्रतीक, समुद्र धैर्यको प्रतीक, आकाश विशालताको प्रतीक हुन् । यस्ता प्रतीकलाई प्राकृतिक प्रतीक मानिन्छ । कलम शिक्षाको प्रतीक, मसाल क्रान्तिको प्रतीक, परेवा शान्तिको प्रतीक हुन्, यस्ता प्रतीकलाई सामाजिक प्रतीक मानिन्छ । शङ्क हिन्दु धर्मको प्रतीक, खुर्पे चन्द्रमा मुस्लिम धर्मको प्रतीक, कमलको फुल बुद्ध धर्मको प्रतीक, क्रस क्रिश्चियन धर्मको प्रतीक हुन्, यस्ता प्रतीकलाई धार्मिक प्रतीक मानिन्छ । निधारमा रातो टिका हिन्दु धर्मालम्बीको प्रतीक, सिउँदाको सिन्दुर विवाहित हिन्दु महिलाको प्रतीक मानिन्छ । सेतो रङ्ग पवित्रताको प्रतीक मानिन्छ । यस्ता प्रतीक सांस्कृतिक प्रतीक हुन् । अक्षर भाषाको ध्वनिहरू अङ्कित प्रतीक हुन् । आखिर शब्द पनि कुनै भाव वा अर्थका प्रतीक नै हुन् ।
प्रा.डा. वाशुदेव त्रिपाठीका अनुसार प्रतीक दुई किसिमका हुन्छन्ः परम्परागत र वैयक्तिक । परम्परागत प्रतीक धार्मिक तथा ऐतिहासिक किसिमका हुन्छन् । विभिन्न धर्मका आध्यात्मिक दर्शन र काव्यका आध्यात्मिक क्षममा परम्परागत प्रतीक देखा पर्छन् । हिन्दु, मुस्लिम, बौद्ध, किस्चियन, बोन, जैन धर्मका धार्मिक ग्रन्थ र ती धर्ममा आधारित बाङ्मयमा विभिन्न प्रतीक प्रयोग भएका छन् । एउटै शब्द वा वस्तु वा चित्र फरकफरक धर्म, सम्प्रदाय, दर्शन वा समुदायमा फरकफरक प्रतीकका रूपमा प्रयोग हुन सक्छ ।
सनातन हिन्दु दर्शनका वेद, उपवेद, उपाङ्ग, दर्शन, पुराण, उपपुराण, उपनिषद्, ब्राह्मण ग्रन्थ, आरण्यक, प्रातिशाख्य, गृह्यसूत्र, स्मृतिग्रन्थ, धर्मसूत्र तथा उपजीव्य काब्यहरूमा अनेकौ प्रतीकहरू प्रयोग भएका छन् । वैयक्तिक प्रतीकभन्दा परम्परागत प्रतीक बढी सशक्त हुन्छन् र यस्ता प्रतीकको महङ्खव पनि बढी नै हुन्छ । परम्परागत प्रतीक बोधगम्य हुनुका साथै यस्ता प्रतीकमा क्लिस्ट र दुरुह हुँदैन ।
वर्तमान साहित्यमा वैयक्तिक प्रतीकको आधिक्यता रहेको पाइन्छ । वैयक्तिक प्रतीक कम बोधगम्य हुन्छन्, बढी क्लिष्ट र दुरुह हुन्छन् । वैयक्तिक प्रतीकको अति प्रयोगबाट पाठक र लेखकबिचको सम्बन्ध टुट्दै जान्छ । यसको मुख्य कारण वैयक्तिक प्रतीक व्यक्तिगत अनुभूतिका परिणाम हुन्, यस्ता प्रतीक निजी हुन्छन्, सार्वजनीन हुन सक्दैनन् । यस्तो नियति वर्तमान कविता विधाले भोगिरहेको छ । कवितामा वैयक्तिक प्रतीकको बढी प्रयोगले गर्दा कवितादेखि पाठक तर्सिन्छन्, भाग्छन् ।
कलात्मक तथा काव्यात्मक आन्दोलनमा विचार, भावना, मनको अवस्था आदिको व्यक्त गर्ने अप्रत्यक्ष तरिका प्रतीकात्मक शैलीका रूपमा प्रवेश गरेपछि प्रतीकवादको जन्म भएको हो । उन्नाईसौं शताब्दीको उत्तराद्र्धमा फ्रान्समा उत्पत्ति भएको प्रतीकवादमा बादलेयर, मेलार्मे, भेर्लिन, रिँबड, जीन मोरिस, टिस्तन कर्बेर, जुलस लाफार्जे जस्ता व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको छ ।
मेरो हातमा विराटनगर निवासी हरिप्रसाद बरालको ‘प्रतीकवाद’ नामको पुस्तक छ । मैले यो पुस्तक अद्योपान्त पढेँ । पुस्तक २०७९ माघमा प्रकाशित भएको हो । यस पुस्तकका सम्बन्धमा केही चर्चा यहाँ गरिएको छ ।
हरिप्रसाद बराल कुशल लेखक मात्र होइन, एक कुशल कवि हुन् । धनकुटा तेनुपामा वि.सं. २०२२ मा जन्मेका बरालको कलम विशेष गरी कविता र समालोचनामा बढी चलेका देखिन्छ । उद्घोषभित्रका फूलहरू (२०६८), पुस्तकहरूको माझैमाझ (२०७८), काव्यिक बिम्बको फूलबारी (२०७८), प्रतीकवाद(२०७९) जस्तै पुस्तक लेखेका बरालका विगत दुई दशक यता थुप्रै फुटकर लेखहरू विभिन्न पत्रपत्रिकामा लेख प्रकाशित छन् ।
लेखक बरालले प्रतीकवाद नामको पुस्तक वि.सं. २०७९ माघमा प्रकाशित गरेका छन् । यो पुस्तकको भूमिका लेखक स्वयम्ले नै लेखेका छन् “हामी सबै प्रतीकभित्र नै बाँचेका रहेछौँ” शीर्षकमा । लेखकले भूमिकामा प्रतीकवादप्रति आफूँमा रुचि बढ्नुको कारण उल्लेख गर्दै “प्रतीकवादका विषयमा लेखिएका सामग्रीहरू भेटेसम्म पढ्दै गएँ । पढ्दै जम्मा गरेर राख्दै, त्यसबाट टिपोट बनाउँदै जाँदा आज यो एउटा सानो पुस्तकको आकार बनेको छ (क) ।” लेखक स्वयम्ले यो पुस्तक पढ्दै जाँदाको टिपोट हुँदै पुस्तकको आकार ग्रहण गरेको स्वीकारेका छन् । लेखकले यो पुस्तक लेख्दा धेरै विद्वान लेखकहरूको पुस्तक पढेको उल्लेख गरेका छन् ।
भूमिकामा नै लेखकले हरिप्रसाद तिमसिना, नरेन्द्र चापागाईँ, डा. कुमारबहादुर जोशी, मातृकाप्रसाद कोइराला, माधवप्रसाद घिमिरे, गोपालप्रसाद रिमाल, लेखनाथ पौडेल, फर्डिन्यान्ड डी सस्युर, न्युटन, राल्फ वाल्डो इमसैन, अल्बर्ट ओरिएट, एडलर एलेन पो, दाङ खालिङ, प्रा. डा. टुनराज भट्टराई, चाल्र्स वादलिएर, स्टिफेन मलार्मे, भूपि शेरचन, ज्याक डेरिडा, हार्ट क्रेन, टी.एस. इलियर, विलियम कालोनि, अर्किवाल्ड माक्लिस, वैरागी काइँला जस्ता विद्वान तथा सर्जकको नाम प्रतीकवादसँग जोड्दै आफ्ना भनाइ राख्दा यो पुस्तक निकै सैद्धान्तिक भएको र बिस्तारै हरफ हरफ पढ्नुपर्ने किसिमको भएको पाठकले अनुभूति गर्छन् ।
पुस्तक एउटा निश्चित ढाँचामा लेखिएको छ । पुस्तकको ढाँचा हेर्दा यो पुस्तक कुनै विषयको पाठ्यक्रम तथा पाठ्यांशमा आधारित भई तयार भएको हो कि भन्ने प्रतीत हुन्छ । विषयक्रममा पहिलो पाठ प्रतीकवादको अर्थ, परिभाषा तथा विश्लेषण रहेको छ । दोस्रो पाठ प्रतीकवादको विकास, तेस्रो पाठ प्रतीकवादको पृष्ठभूमि र यसका अभियन्ताहरू, चौथो पाठ केही कविताको प्रतीकवादी विश्लेषण र अन्त्यमा निष्कर्ष निकालिएको छ ।
लेखकले पुस्तकको पहिलो पाठमा प्रतीकवादको संस्कृत र अङ्ग्रेजीको शाब्दिक अर्थलाई केलाउँदै विभिन्न उदाहरण तथा प्रतीकको प्रयोग गर्दै बुझाउने प्रयास गरेका छन् । त्यस्तै, प्रतीकको परिभाषा उल्लेख गर्दै विश्लेषण गरेका छन् । लेखकले कलरिजले प्रतीकका सम्बन्धमा दिएको परिभाषालाई यसरी उल्लेख गरेका छन्ः वस्तु वा विषय र अन्तरात्माका बिचको सम्बन्धसूत्र नै प्रतीक हो (पृ. ५) । प्रतीकवादलाई सरल ढङ्गले बुझाउने क्रममा लेखकले सिंग्नर बोर्निडिट्टो क्रोचे, कलरिज, इमर्सन, बादलियर, स्टिफेन मलार्मे, भर्लिन, विसेट बुक्स, वाशुदेव त्रिपाठी जस्ता विद्वानहरूको भनाइलाई साथमा लिएका छन् । लेखकले पहिलो पाठमा नै प्रतीक र बिम्बको अन्तर देखाउने प्रयास गरेका छन् । प्रतीक र बिम्बको अन्तर देखाउँदै लेखकले यसरी लेखेका छन्ः ‘आगो’ भन्ने बित्तिकै क्रान्तिको प्रतीक हुन्छ भने आगो शब्द उच्चारण गर्दा आउने मानसिक तस्बिर बिम्ब हो (पृ.१०) । लेखकले सरल किसिमले प्रतीक र बिम्बको अन्तर देखाइदिएका छन् । पहिलो पाठमा नै प्रतीक र मिथकको अन्तर उल्लेख गरे पनि लेखकले प्रतीक र रूपकबिच अन्तर देखाए पनि उपशीर्षकमा उल्लेख भएको मिथकको भने अन्तर देखाएका छैनन् । यस उपशीर्षकमा मिथक लेखिए पनि मुख्य व्याख्या खण्डमा मिथक शब्द नै भेटिदैँन ।
पुस्तकको दोस्रो पाठ प्रतीकवादको विकाससँग सम्बन्धित छ । यसका लेखकले फ्रान्समा प्रतीकवाद कसरी जन्मियो र यसको विकास कसरी भयो भन्ने विषयमा विस्तृतमा चर्चा गरेका छन् । प्रतीकवादको विकासक्रमको चर्चा गर्दा लेखकले विभिन्न विद्वान्हरूको प्रसङ्ग उठाएका छन् । लेखकले रिम्बोको प्रतीकवादी मान्यताबाट हेर्न लेखनाथ पौडेलको ‘पिञ्जडाको सुँगा’ र ‘तरुण तपसी’, युद्धप्रसाद मिश्रको ‘जाबीको चरा’ को प्रसङ्ग उठाएका छन् ।
पुस्तकको तेस्रो पाठ ‘प्रतीकवादको पृष्ठभूमि र यसका अभियन्ताहरू’ हो । यसमा प्रतीकवादको पृष्ठभूमि केलाइएको छ । यसका अभियान्तहरूमा विशेष गरी पन्ध्र जनाको नाम उल्लेख गर्दै उनीहरूका योगदानको चर्चा गरिएको छ । यी पन्ध्र जनामा कान्त लोत्रेआमा, रिम्बो, व्हरलेन, स्टिफेन मलार्मे, कोरबियर, चाल्र्स क्रो, व्हिलिउर द लील एडम, जै मोरेआ, स्टुअर्ट मेरिल तथा व्हिले ग्रीफैँ, जु लाफार्ग, मेरिस मेटरलिंक, व्हेरहेराँ, गस्ताव्ह कान, एल्बर्ट सामै र पाल व्हालरी रहेका छन् । लेखकले अङ्कमा पन्ध्र जनाको उल्लेख गरे पनि स्टुअर्ट मेरिल तथा व्हिले ग्रीफैँ दुई जना भएकाले सोह्र अभियन्ताको नाम र उनीहरूको योगदानको चर्चा गरिएको छ ।
लेखकले चौथो पाठमा ‘केही कविताको प्रतीकवादी विश्लेषण’ शीर्षकमा कलम चलाएका छन् । लेखकको प्रतीकवादी विश्लेषणमा पर्न सक्ने भाग्यमानी कविहरूमा मोहन कोइराला, पारिजात, वैरागी काइँला र प्रमोद प्रधान हुन् । लेखक बरालले कवि मोहन कोइरालाको ‘फर्सीको जरा’, पारिजातको ‘आत्मबोध’, वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण’ र प्रमोद प्रधानको ‘विषाक्तताभित्रको एउटा आस्था’ कविताको व्याख्या र विश्लेषण मात्र गरेका छैनन्, कविको परिचय र काव्य प्रवृत्तिको पनि चर्चा गरेका छन् ।
पुस्तकको पाँचौ पाठ निष्कर्ष हो । लेखकले पुस्तकको अन्त्यमा प्रतीकवादका सम्बन्धमा निष्कर्ष पनि निकालेका छन् । लेखक बरालको निष्कर्ष छः प्रतीकवादमा भाषिक सङ्केत नै यसको केन्द्रविन्दु हो (पृ. ५५) । समानधर्मी कुनै अन्य विषय वा व्यक्तिको प्रतिनिधि भएको बुझिन्छ प्रतीक । प्रतीकवाद भनेको कुनै अप्रस्तुत, अदृश्य विषयको बदलामा चिह्नको रूपमा आउने कुरा हो (पृ. ५६) । लेखक बरालका निष्कर्ष पनि प्रतीक झै लाग्छ पाठकलाई ।
पुस्तकको अन्त्यमा प्रमुख सन्दर्भ ग्रन्थहरूको सूची दिइएको छ ।
डिमाइज साइजमा रहेको यो पुस्तक जम्मा ५८ पृष्ठको छ । पृष्ठ सङ्ख्यालाई हेर्दा यो पुस्तक नभई पुस्तिका जस्तो देखिन्छ । पुस्तकमा केही छिटफुट प्रुफ रिडिङ छुटेकाबाहेक भाषिक अशुद्धि भेटिदैँन । लेखक आफैँ कवि र भाषिक ज्ञाता पनि भएकाले विषयवस्तु बुझ्न कठिन हुँदैन ।
वाद वा सिद्धान्त त्यति रुचिपूर्ण विषय होइनन् । आख्यान, जीवनी, नियात्रा जस्ता विषय मानिस खोजी खोजी पढ्ने गर्छन्, वाद वा सिद्धान्त पढ्न रुचि मात्र होइन, धैर्यता पनि चाहिन्छ । निरस लाग्ने विषयमा प्रस्तुतीकरण सरल भएन भने पाठकलाई तान्न सकिँदैन । प्रतीकवाद जस्तो सिद्धान्तलाई सरल र रसिलो पाराले प्रस्तुत गरेकामा लेखक बराल बधाईका पात्र बनेका छन् । लेखक आफैँ पुस्तकहरूको अध्येता र चिन्तनमय प्रवृत्तिका भएकाले पनि पश्चिमा साहित्यिक वादहरूको अध्ययनमा आकर्षित भएको हुनुपर्छ ।
लेखक बराल पनि एक प्रकारका प्रतीक नै हुन्ः पुस्तक सङ्कलन र अध्ययनका । अझ भन्नुपर्दा धनकुटा तथा विराटनगरका मात्र नभई कोशी प्रदेशमा दैनिक कविता लेख्ने कविका प्रतीक पनि हुन् । प्रतीकवाद सम्बन्धी सैद्धान्तिक कृति नेपाली बाङ्मयमा थपिदिएकामा लेखक बराललाई धन्यवाद दिन्छु ।
लेखक बरालको ‘प्रतीकवाद’ पुस्तक साहित्यिक वादप्रति रुचि हुने व्यक्तिहरूका लागि, भाषा साहित्यका विद्यार्थीहरू लागि र प्रतीकवाद बुझ्न चाहनेहरूका लागि अति नै उपयोगी छ । पुस्तक सङ्ग्रहणीय, पठनीय र मननीय छ ।
लेखक बरालका अझै सुरुचिपूर्ण सिर्जना थपिइरहून्, शुभकामना ।
पुस्तकः प्रतीकवाद
विधाः समालोचना
लेखकः हरिप्रसाद बराल
संस्करणः पहिलो (२०७९)
प्रकाशकः लेखक स्वयम्
पृष्ठः ५६
मूल्यः रु. २००÷–
प्रतिक्रिया