काठमाडौं, एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले पराजित गरेको छ ।
कोलोम्बोमा बुधबार १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालको जीतमा कुशल भूर्तेलले अलराउन्ड प्रदर्शन गरे । उनले ६ विकेट लिनुका साथै ७१ रनको विष्फोटक ब्याटिङ पनि गरे । कुशलले ४३ बलमा ९ चौका र चार छक्का प्रहार गरेका थिए ।
एक समय सहज जितउन्मुख नेपाली टोलीलाई यूएईले अन्तिममा केही समस्यामा पारेको थियो । ३ विकेट क्षतिमै १ सय रन पार गरेको नेपाल मध्यमक्रमका ब्याट्स्म्यान लगालग गुमाएपछि केही दबाबमा परेको थियो ।
देव खनाल र सन्दीप जोराले २४–२४ रनको योगदान गरे । यस्तै गुल्सन झा ११ र कप्तान रोहित पौडेल ९ रनमा आउट भएका थिए ।
प्रतिश जीसी ८ रनमा अविजित रहे। यूएईका मोहम्मद फराजुदिनले ५ विकेट लिए।
पहिले ब्याटिङ गरेको यूएई ‘ए’ ४४ ओभरमा १५७ रनमा अलआउट भएको थियो । यूएईका लागि लभप्रित सिंहले ५२ रन बनाए ।
कुशल भूर्तेलले अहिलेसम्मकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिए । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन शर्राफले १–१ विकेट लिएका थिए ।
प्रतियोगितामा नेपालको खेल सकिएको छ । यसअघि भारत र पाकिस्तानको दोस्रो रोजाईको टिमसँग नेपाल पराजित भएको थियो ।
प्रतिक्रिया