विश्वकप छनोटमा नेपालद्वारा मलेसियालाई ८५ रनको लक्ष्य

इनेप्लिज २०८० भदौ १४ गते ३:५६ मा प्रकाशित

काठमाडौ, आइसिसी महिला टी–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ ।

क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो ।

नेपालका लागि सीता राना मगरले ५४ बलमा एक चौकासहित अविजित ३८ रन बनाइन् ।

यस्तै, अप्सरी बेगमले १७, कप्तान रुबिना क्षेत्रीले १२, पूजा महतो र कविता जोशीले ५र५ रन बनाए । काजल श्रेष्ठ, सम्झना खड्का र इन्दू वर्मा भने शून्यमै आउट भए ।

मलेसियाका लागि ऐना हामिजाह हाशिमले ४ ओभरमा एक मेडन राख्दै १४ रन दिएर सर्वाधिक २ विकेट लिइन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

त्यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।

नेपालको प्लेइङ–११ :  रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल ।

प्रतिक्रिया